
३ जेठ, काठमाडौं । मालपोत कार्यालय रुपन्देहीले भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दीभन्दा बढी जग्गा राखेको ठहरसहित जफत गर्ने प्रक्रिया अघि बढाएको छ । उजुरी परेपछि अध्ययन गर्दै जाँदा हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिएकाले जग्गा रोक्का राखेको हो ।
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीले हदबन्दीभन्दा बढी जग्गा भेटिएको पुष्टि गरे ।‘उजुरी परेको रहेछ, छानविन गर्दा ११ विगाहा राख्न पाउनुपर्नेमा १३ विगाहा राखेको भेटिइसक्यो’ महानिर्देशक सोतीले भने, ‘अरु ठाँउमा पनि जग्गा छ कि भनेर सम्बन्धित निकायबाट खोजविन भइरहेको छ । भेटियो भने थप जग्गा सरकारले जफत गर्नेछ ।’
भूमिसम्बन्धी ऐनअनुसार हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिए बढेको हदसम्मको जग्गा सरकारले जफत गर्न पाउँछ । त्यसरी जफत गर्दा सम्बन्धित जग्गाधनीले आफूले राख्ने जग्गा रोज्न पाउने उनले बताए । उनले भने, ‘प्रारम्भिक रुपमा नै कैफियत भेटिएपछि जग्गा रोक्का राखेर थप छानविन भइरहेको छ ।’
प्रतिक्रिया 4