+
+

दुर्गममा उडान भर्ने पाइलटको उमेर सीमा ६० वर्षमा झार्न सिफारिस

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ ४ गते १७:५५
फाइल तस्वीर

४ जेठ, काठमाडौं । दुर्गम भेगमा जहाज उडाउने पाइलटको उमेर ६० वर्षमा झार्न सिफारिस भएको छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको नाइनएन–एइटी, डीएचसी–६/३०० जहाज दुर्घटनाबारे अध्ययन गर्न सरकारले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा छानविन आयोग बनाएको थियो । त्यसक्रममा दुर्घटना भएको विमानको पाइलट र को–पाइलटको उमेर र अनुभवलाई गम्भीरताका साथ हेरिएको छ ।

दुर्घटनाग्रस्त विमान ६२ वर्षका पाइलटले उठाएका थिए । अहिले नेपालमा सबै गन्तव्यमा जहाज उडाउने पाउने उमेर ६५ वर्ष तोकिएको छ । तर आयोगले बढ्दो उमेरसँगै पाइलटको कार्यक्षमतामा आउने ह्रासका कारण हुने जोखिम उच्च हुने निष्कर्ष निकालेको छ र छोटो धावनमार्ग रहेका विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर हद ६० वर्षमा झार्न सिफारिस गरेको छ ।

प्रतिवेदन अनुसार ५५ वर्ष हाराहारीसम्म राम्रो कार्य कुशलताका साथ काम गर्ने भएपनि त्यसपछि भने क्रमशः क्षमता घट्दै जाने देखिएको छ । यो तथ्य अन्तर्राष्ट्रिय नियामक निकायबाट समेत प्रमाणित भएको संयोजक सुमनले बताए ।

पाइलटको शारीरिक तथा मानसिक स्वास्थ्य, विगतमा भएका दुर्घटनाको रेकर्डको वैज्ञानिक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुझाव दिएको छ ।

पाइलटमा अधिक भार, को–पाइलट अनुभवहीन

पोखराबाट जोमसोम उडेको उक्त जहाज दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । दुर्घटनाको मूख्य कारण मौसममा अकस्मात आएको खराबी थियो । तर चालक दलले जहाजमा रहेका उपकरणहरुलाई उचित तरिकाबाट सञ्चालनमा ल्याउन नसकेको अध्ययनले देखाएको छ ।

प्रतिवेदन अनुसार जहाज जमिनको नजिकै जाँदा चेतावनी दिने प्रणाली ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ अफ गरिएको थियो । जसले गर्दा जहाज जमिनमा ठोक्किने अवस्था आउँदा समेत चालक दलले यसको संकेत पाएनन् ।

यो जहाजमा सबै भार चालकले उठाएका थिए । को–पाइलटको यो गन्तव्यमा मात्र दोस्रो उडान थियो । पाइलट बढी उमेर र ज्यादै अनुभवी भएपनि अनुभवविहीन को–पाइलट राख्नु वायुसेवा कम्पनीको कमजोरी मानिएको छ ।

मन्त्रालयबाट लिखित निर्देशन आएपछि थप निर्णय हुन्छ : प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुर्घटना छानविन आयोगको प्रतिवेदन विभागीय मन्त्रीलाई बुझाइसकेपछि मन्त्रालयबाट सम्बन्धित निकायलाई लिखित निर्देशन दिने प्रचलन छ । यस आयोगको प्रतिवेदनमा भएका सिफारिसबारे समेत यस्तो निर्देशन आएपछि मात्र प्राधिकरणले ती निर्देशन बारे निर्णय लिने उनले जानकारी दिए ।

‘अहिले पनि ६० वर्ष भन्दा माथिको उमेरका पाइलटले ६/६ महिनामा मेडिकल रिर्पोट प्राधिकरणलाई बुझाउनु पर्छ,’ उनले भने, ‘पछिल्लो सिफारिसबारे लिखित निर्देशनपछि मात्र निर्णय हुन्छ ।’

उनका अनुसार ४० वर्षको उमेरसम्मका पाइलटले ५/५ वर्ष र ५० वर्षसम्मका पाइलटले २/२ वर्षमा मेडिकल रिर्पोट बुझाए पुग्छ । ५० देखि ६० वर्षसम्मको उमेरका पाइलटले भने १/१ वर्षमा मेडिकल रिर्पोट बुझाउनु पर्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?