४ जेठ, काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो ।
पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ ।
रिजालले केही दिनअघि अनलाइनखबरसँगको कुराकानीमा अर्कै सिलसिलामा पैसा लिएको र आफूले फिर्ता गरिसकेको भन्दै आफूलाई फसाउन खोजेको भनी आपत्ति जनाएका थिए ।
प्रतिक्रिया 4