+
+

सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, सरकार विस्तारको तयारी

गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।
उनले भने, ‘अढाइ वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते ८:४८
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट ।

५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रदेश सरकारको १०० दिनका उपलब्धि  सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका छन् ।

भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक/एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा टुंगिएको उनले बताए । उनले भने, ‘अढाइ वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ ।’

माओवादी केन्द्रले टुंगो लगायो नाम,

भागबण्डा मिलेसँगै माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेशसभा सदस्यको नाममा समेत सहमति भइसकेको जनाएको छ ।

दलका नेता भट्टले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंगिएको बताए । तर माओवादी केन्द्रले औपचारिक निर्णय गर्न भने बाँकी रहेको छ ।

यसअघि कञ्चनपुरका ओमविक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी विक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए ।

सरकार विस्तारको तयारी

यसैबीच दलहरुबीच भागबण्डा टुंगिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी थालेका छन् । शुक्रबार प्रदेश सरकारको एक सय दिन पुगेको अवसर पारेर शाहले सरकारलाई पूर्णता दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले सरकारमा पठाउने व्यक्तिको नाम टुंगो लगाए पनि कांग्रेसले टुग्याउन बाँकी छ । कांग्रेसमा प्रदेशसभा सदस्य शिवराज भट्ट, पृथ्वीराज जोशी र मेघराज खड्का मन्त्रीका आकांक्षी छन् ।

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर एउटा मात्र मन्त्रालय पाउने भएपछि अब कसलाई सरकारमा पठाउने भन्ने विषयमा छलफल भइरहेको नाउपाका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?