+
+

कोशी प्रदेश सरकार छाड्न माओवादी र जसपालाई कांग्रेसको आग्रह

पहिचान पक्षधरसँग वार्ता गर्न र ल्यापटप बाँड्ने बजेट किसानलाई दिन माग 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १०:२९

५ जेठ, विराटनगर । नेपाली कांग्रेसले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जसपालाई आग्रह गरेको छ ।

बिहीवार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने बताए ।

संसदीय दलको बैठकले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाएर समस्याको समाधान निकाल्न आग्रह पनि गरेको छ । साथै आन्दोलनरत पक्षलाई संयमता अपनाउन पनि कांग्रेसले आग्रह गरेको छ ।

बैठकले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

ल्यापटप बाँड्ने बजेट किसानलाई दिन माग 

कांग्रेस संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न प्रदेशसभा सचिवालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । प्रदेशसभा सचिवालयले सांसदका लागि एकसय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको छ । कांग्रेस दलको बैठकले ल्यापटप खरिदका लागि छुट्याइएको एक करोड ५० लाख रूपैयाँ किसानलाई बाँड्न आग्रह गर्ने निर्णय गरेको थापाले बताए ।

कोशी प्रदेशका झापा र इलाममा रोग लागेर पशु चौपाया मरेपछि मर्कामा परेका किसानका लागि बजेट खर्च गर्न दलका नेता थापाले आग्रह गरे । प्रदेशसभा सचिवालयले ल्यापटप खरिद गरे कांग्रेसले नलिने पनि उनले बताए ।

यसअघि माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले सांसदहरुका लागि ल्यापटप खरिद गर्न छुट्याएको बजेट युवा स्वरोजगारको क्षेत्रमा खर्च गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?