+
+

प्रधानमन्त्रीको भारत भ्रमण जेठभित्रै हुने, परराष्ट्रमन्त्री तयारीमा व्यस्त

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:२६

५ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी छलफललाई तीव्र पारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण जेठ तेस्रो साताभित्र गर्ने तयारी छ ।

त्यसका लागि दुई देशका परराष्ट्रमन्त्रलय स्तरमा सहमति, वार्ता र सम्झौताका ड्राफ्ट समेत आदानप्रदान भइसकेको छ ।

सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित भएपछि प्रधानमन्त्रीको भारत भ्रमणको मिति घोषणा हुने अधिकारीहरु बताउँछन्

भ्रमण निश्चित भएसँगै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी पूर्वपरराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू र पूर्वसचिवहरूसँग छलफल गरिरहेका छन् ।

शुक्रबार उनले पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । मन्त्रालयमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरू सुजाता कोइराला, रघुवीर महासेठ, डा. प्रकाशचन्द्र लोहनी र डा. भेषबहादुर थापा सहभागी थिए ।

पूर्वपरराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

‘व्यापार, वाणिज्य, जलस्रोत, सीमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धबारे छलफल भयो,’ परराष्ट्रमन्त्री साउदले भने ।

परराष्ट्रमन्त्री साउदले बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरूसँग छलफल गरेका थिए । छलफलमा पूर्वराजदूतद्वय डा. लोकराज बराल, डा. दिनेश भट्टराई तथा पूर्वसचिवहरू दुर्गा भट्टराई, मधुरमण आचार्य, मदन भट्टराई उपस्थित थिए ।

सुरुमा वैशाख अन्तिममा भ्रमण गर्ने गरी छलफल अघि बढेको थियो । तर नेपालमा नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रिया चलिरहेको थियो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २७ वैशाखमा सम्पन्न कर्नाटक राज्यको निर्वाचन कार्यक्रममा व्यस्त भए । मोदी चारवटा देशको भ्रमणमा जाने भएकाले प्रचण्डको भारत भ्रमण हुन सकेको थिएन ।

भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको लागि पठाएको औपचारिक निम्तो पत्र भने काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?