+
+

राष्ट्र बैंकको निष्कर्ष : २ हजारको नोट नचलाउने भारतको निर्णयले असर गर्दैन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १८:३०

८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारु दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा कुनै ठूलो प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती क्षेत्रमा केही नोटहरु रहेको हुन सक्ने र साट्ने अवधि लामो रहेकाले नसाटिने जोखिम नरहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

सन् २०१६ मा भारत सरकारले नोटबन्दी गर्दा नेपालमा चलनचल्तीमा रहेको ५ करोड भारतीय रुपैयाँ अझै नेपालको केन्द्रीय बैंकमा थन्किएर बसेको छ । भारतले त्यतिबेला बैंकिङ प्रणालीमा नरहेको पैसा सटही गरेपछि नागरिकसँग रहेको पैसा बैंकले संकलन गरेको ५ करोड भन्दा बढी भारु सटही हुन नसकेको हो ।

पुनः १ अक्टोबर २०२३ देखि लागु हुनेगरी रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले २ हजार दरका नोट चलनचल्तीमा बन्द गर्ने निर्णय गरेको छ । यसले पुनः २०१६ कै जस्तो नेपालीसँग रहेको भारतीय रुपैयाँ सटही के हुन्छ भन्ने जिज्ञासा हुनसक्छ । तर, सन् २०१६ मा नोटबन्दी गरिएको ५०० र १ हजार दरका भारु नोट नेपालमा चलनचल्तीका लागि वैधानिक थियो । तर, अहिले बन्द गर्ने निर्णय गरेको २ हजार दरको भारु सर्वसाधारणले प्रयोग गर्न प्रतिबन्धित छ । यसले सीमा क्षेत्रको बजारमा बाहेक २ हजार दरका भारु नोट नेपालमा ठूला संख्यामा भएको हुनसक्ने सम्भावना न्यून रहेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

नेपालमा चलनचल्तीमा नै नभएका र अनौपचारिक माध्यममा सीमाक्षेत्रमा रहेका व्यापारीले केही भारु प्रयोग गर्ने भएपनि ३० सेप्टेम्बर २०२३ सम्मको समयसीमाभित्र साट्न र भारतको बैंकमा जम्मा गर्ने समय दिएकोले २०१६ को नोटबन्दीको समयको जस्तो नसाटिने जोखिम नरहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख श्रेष्ठ बताउँछन् ।

गत ५ जेठ शुक्रबार आरबीआईले २ हजार दरको नोटको मागमा कमी आएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरेको छ । भारतले २०१६ मा नोटबन्दी गरेपछि त्यतिबेलाको नगदको आवश्यकतालाई मध्यनजर गर्दै निष्कासन गरेको २ हजार रुपैयाँ दरको नोट बन्द गर्ने निर्णय आरबीआईले गरेको छ । यद्यपि उक्त नोट ३० सेप्टेम्बरसम्म चलनल्तीमा रहेन र नागरिकले ३० सेप्टेम्बरभित्र भने उक्त नोट बैंकमा जम्मा गर्नुपर्ने वा बैंकमा गएर अन्य दरका नोटसँग सटही गर्नसक्ने आरबीआईको नयाँ निर्देशनमा उल्लेख छ ।

तर, अहिले चलनचल्तीमा रहेका नोटहरु वैध हुने बताएको छ । उक्त नोटलाई ३० सेप्टेम्बर २०२३ सम्म बैंक खातामा जम्मा गर्न सकिने बताएको छ । अथवा कुनै पनि बैंकको शाखामा गएर त्यसलाई सटही गर्न सकिने रिजर्भ बैंक अफ इण्डियाले जारी गरेको सूचनमा उल्लेख छ । उक्त नोटलाई बैंकमा जम्मा गर्न कुनै सीमा नतोकिएको र एक पटकमा कुनै पनि बैंक शाखामा २० हजारसम्म अन्य साना दरका नोटसँग साट्न सकिने सूचनामा उल्लेख छ ।

भारतले सन् २०१६ मा ५०० र १ हजार दरको नोटमा प्रतिबन्ध लगाउँदै त्यतिबेलाको नगदको आवश्यकतालाई पुरा गर्नका लागि २ हजार दरको नोट चलनचल्तीमा ल्याएको थियो । तर, साना दरको नोटहरु पर्याप्त हुँदै गएपछि सन् २०१८/१९ मा नै २ हजार दरको नोट छाप्न बन्द गरेको आरबीआईले जनाएको छ । २ हजार दरको कुल नोटमध्ये ८९ प्रतिशत नोट २०१७ भन्दा अगाडि नै जारी भएको र ४/५ वर्षमा त्यसको आयु सकिने भएकोले र अहिले उक्त नोटको आवश्यकता नदेखिएकोले बन्द गर्न लागिएको आरबीआईले जनाएको छ ।

२ हजार दरको नोटको सबैभन्दा धेरै सर्कुलेसन ३१ मार्च २०१८ मा ६.७३ लाख करोड पुगेको जनाएको छ । तर, ३१ मार्च २०२३ मा ३.६२ लाख करोड बराबरको मात्रै २ हजार दरको नोट चलनचल्तीमा रहेको आरबीआईको सूचनामा उल्लेख छ । २ हजार दरका नोट लेनदेनमा सामान्यतय प्रयोग नभएको र साना दरका नोटहरु नै जनताको आवश्यकता पुरा गर्न पर्याप्त रहेकोले उक्त नोटहरु बन्द गर्ने निर्णय भएको भारतीय केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ नेपालको अनौपचारिक प्रणालीमा २ हजार दरको भारु कति प्रयोगमा छन् भन्ने तथ्यांक नरहेको बताउँछन् । ‘२०१६ मा पनि बैंकिङ प्रणालीसँग रहेको पैसा साटिएको हो । पछि बैंकले सर्वसाधारणबाट लिएको करिब ५ करोड नसाटिएको हो,’ राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘त्यतिबेला पनि अनौपचारिक प्रणालीमा पनि पैसा पक्कै थियो । त्यो विभिन्न माध्यमबाट साटियो । खुला सिमाना भएकोले अहिलेपनि नेपालीले भारतीय बजारमा गएर उक्त नोट साट्न सक्छन् ।’

माघ–फागुनमा सीमा क्षेत्रको बजारमा भारतीय रुपैयाँ कमजोर भएको थियो । सामान्य अवस्थामा १०० भारतीय रुपैयाँ साट्न १६५ रुपैयाँसम्म तिर्नुपर्ने सीमा क्षेत्रमा मंसिरको चुनावपछि भने १५२ रुपैयाँदेखि १५५ रुपैयाँमै भारु पाइने अवस्था थियो । त्यतिबेला सीमा क्षेत्रमा भारतीय रुपैयाँको सप्लाइ बढ्नुमा भारतीयहरु पार्टी गर्न नेपाल आउने र क्यासिनो खेल्न आउनेहरुले गरेको खर्चले पनि सीमा क्षेत्रमा भारतीय रुपैयाँको सप्लाइ बढेको देखिएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख श्रेष्ठ बताउँछन् । तर, अहिले सीमा क्षेत्रमा भारु विनिमय दर अनुसार नै कारोबार हुन सुरु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?