+
+

चक्रपथमा मूल सडकको डिजाइन नबन्दै सर्भिस ट्रयाकको ठेक्का

भविष्यमा भत्काउनुपर्ने जोखिम

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० जेठ ८ गते २२:१७
चक्रपथ सडकखण्ड अन्तर्गत कलंकी क्षेत्रमा सडक विस्तारको काम हुँदै  

८ जेठ, काठमाडौं । कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तार गर्न चीन सरकारले मूल सडक लेनहरुको विस्तृत डिजाइन तयार नगर्दै सरकारले ‘सर्भिस ट्रयाक’को निर्माण सुरु गरेको छ । यसका कारण भविष्यमा चिनियाँ पक्षले चक्रपथ विस्तारको काम गर्दा फेरि विभिन्न कामका लागि सर्भिस ट्रयाक भत्काउनुपर्ने अवस्था आउने चिन्ता उत्पन्न भएको छ ।

अहिले करिब ६ वटा ठेक्का लगाएर ६० करोडभन्दा बढी लागतमा सर्भिस ट्रयाक निर्माणको काम अघि बढेको छ । यसका कारण भविष्यमा चक्रपथको डिजाइनमा हुनसक्ने त्रुटि सच्याउन समेत नसकिने अवस्था सिर्जना हुनसक्ने सडक विभागकै अधिकारीहरु बताउँछन् ।

सरकारले कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको विस्तारपछि अब कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तारको काम अघि बढाउन गत ७ मेमा चीन सरकारसँग ‘टेक्निकल कन्फरमेसन फर फिजिबिलिटी स्टडी’ नामको सम्झौता गरेको छ । यसअनुसार चीनले अब आयोजनाको डिजाइन तयार गरेर दिने र त्यसलाई सडक विभागले स्वीकृत गरेपछि चिनियाँ पक्षले विस्तारको काम सुरु गर्ने तयारी छ ।

तर, चिनियाँ पक्षले ५० मिटर (सडकको मध्यविन्दुबाट २५–२५ मिटर) मा मात्रै काम गर्ने भन्दै सडक विभागबाटे सर्भिस ट्रयाक निर्माणको ठेक्का लगाएर काम सुरु भएको छ । चक्रपथ विस्तार आयोजनाका प्रमुख बाबुराम सापकोटा मुख्य लेन र सर्भिस लेनको काम चीन सरकारले गर्ने र त्यसभन्दा पछिल्लो भागमा उपलब्ध जग्गामा सर्भिस ट्रयाक निर्माणको काम नेपाल सरकारले नै जिम्मेवारी रहेकाले अहिले नै आफ्नो काम सुरु गरिएको बताउँछन् ।

‘डिजाइन चीन सरकारले बनाउँदै छ । हामीले सर्भिस ट्रयाक निर्माणको काम सुरु गरेका छौं,’ उनले भने, ‘घरधनी र अन्य पक्षसँग कुनै विवाद भएपनि हामीले नै सल्टाउँछौं, हामीले छेउ–छेउमा काम गर्दा चिनियाँहरुले बीचको ५० मिटरको भागमा काम गर्न राम्रो वातावरण पाउँछन् ।’

सडक विभागका विकास सहायता महाशाखा प्रुमख विजयकुमार जैसी पनि सर्भिस ट्रयाकको काम गर्दा भविष्यमा भत्काउने जोखिम नहुने दाबी गर्छन् । चीनले काम नगर्ने भागमा अहिले नै काम सुरु गर्दा समयमै काम सकाउन सहयोग पुग्ने उनको तर्क छ ।

‘हाम्रो काम गर्ने शैली अली सुस्त छ, त्यसैले चीनले काम नथालेपनि हामीले काम थालेका छौं,’ उनले भने, ‘यसले चीनले गर्ने डिजाइन र भविष्यमा बीचको लेनमा हुने काममा कुनै असर गर्दैन ।’

बीचको ५० मिटर भागको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने योजना छ । चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो । नेपाल सरकारले साइट उपलब्ध गराउन पूर्वतयारी नसकेको भन्दै काम थाल्न नमानेपछि करिब ५ वर्षदेखि चक्रपथ विस्तारको परियोजना अलमलमा छ ।

बसुन्धरा सडकक्षेत्रमा माटो सम्याउँदै एक्जाभेटर ।

सरकारले चक्रपथ विस्तारको काम कलंकीदेखि धोबीखोला (गोपीकृष्ण)सम्मै गरिदिन चीनलाई आग्रह गर्दै आएको छ । महाराजगञ्जको नारायणगोपाल चोक क्षेत्रमा घरमा मुआब्जा विवाद भएकाले चिनियाँ पक्ष तयार भएको छैन । लामो समयदेखि अल्झिएको यो खण्ड ८ लेनमा विस्तार गर्न चीन सरकारले नै डिजाइन फाइनल भएपछि ठेकेदार छनोट गरेर पठाउनुपर्छ । त्यसपछि मात्रै बीचको भागमा चीनले काम सुरु गर्ने तय छ ।

२ हप्ताअघि मात्रै डिजाइन थाल्न सम्झौता गरेको चीनले ५० मिटर भागको कस्तो डिजाइन बनाउँछ भन्ने निश्चित छैन । चीनले कलंकी– सातदोबाटो–कोटेश्वर खण्डको जस्तै डिजाइनमा दोस्रो खण्ड बनाउन प्रस्ताव गर्दै आएको छ ।

विस्तारित कलंकी–सातदोबाटो–कोटेश्वर खण्डमा चीन सरकारले दिएको डिजाइन नै स्वीकृत गर्दा अनेकन प्राविधिक र सुरक्षात्मक त्रुटि देखिएका थिए । निर्माण सकेर चनीले हस्तान्तरण गरेलगत्तै विभागले नै विभिन्न सुधारको काम गर्नु परेको थियो । सहरी सडक भएपनि राजमार्गको शैलीमा निर्माण भएको र पैदलयानत्री तथा साइकल यात्रीलाई ध्यानमा राखेर पूर्वधार नबनेको भन्दै आलोचना पनि भएको थियो ।

यसैकारण सडक विभागले दोस्रो खण्डको डिजाइनमा त्यस्तो त्रुटि हुन नदिन चीनलाई विभिन्न सुझावहरु दिएको छ । तर, चीनले धेरै लागत बढ्ने भएमा त्यस्तो सुझावहरु कार्यान्वयन नगर्ने विभागकै अधिकारीहरु नै बताउँछन् ।

चक्रपथको निर्माण फेरि पुरानै शैलीमा हुन नहुने भन्दै सडक सुरक्षा विज्ञ, साइकल प्रवर्द्धनका अभियन्ता, नागरिक समाज र सर्वसाधारणले चक्रपथ थप विस्तारको तयारी अघि बढ्दा पनि सडकको डिजाइन सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । यसमाथि खुला छलफल हुनुपर्ने माग उनीहरुको छ । तर, डिजाइन सार्वजनिक नहुँदै सर्भिस ट्रयाकको निर्माण सुरु भएपछि चक्रपथमा फेरि पनि त्रुटि दोहोरिने डर सडक सुरक्षा विज्ञहरुलाई छ ।

सडक विभागले चीनलाई चक्रपथलाई व्यवहारिक, वैज्ञानिक र सवारी तथा पैदलयात्रुमैत्री बनाउन विभिन्न सुझाव भने दिएको दाबी गर्दै आएको छ । फुटपाथ र साइकल लेन सहित बीचमा हरियालीका लागि ‘मेडियन’ राख्न र मुख्य रुपमा क्रसिङ र चोकहरुमा सहजै सवारी वारपार गर्न सक्ने गरी व्यवस्थित गर्न चीनलाई आग्रह गरेको विभागका अधिकारीहरु बताउँछन् । मुख्य गरी बालाजु–बसपार्क क्षेत्रमा सवारीको ‘ओभरपास’ बनाउनुपर्ने र ठाउँ–ठाउँमा आकाशेपुलसहितका अन्य पूर्वाधार बनाउनुपर्ने पक्षमा सरकार छ । चीनले गर्ने डिजाइनमा नै त्यसलाई राख्न सरकारले चीनलाई प्रस्ताव गरेको विभागले बताएको छ ।

चीनका तर्फबाट विस्तृत सम्भाव्यता प्रतिवेदन आएपछि त्यसबारे सुझाव लिएर परिमार्जनसहित निर्माणको काम अघि बढाउने विभागको प्रतिवद्धता छ । तर, चीनले विभागको सुझावअनुरुप डिजाइन तयार नगरे सहरी सडकका न्यूनतम पूर्वाधार राख्न सकस पर्ने जोखिम छ । ‘चीनले सकेसम्म नयाँ डिजाइनमा जान चाहेको छैन,’ विभागका एक अधिकारी भनछन्, ‘चीनले दिएको डिजाइनमा चित्त नबुझे त्यसमा हेरफेर गर्ने स्पेसमा हामीले ठेक्का लगाएर सडक पिच गरिसक्ने भयौं ।’

चक्रपथको वनस्थली क्षेत्रको सडक

आयोजना प्रमुख सापकोटा भने कतिपय खण्डमा २५ मिटरपछि ‘सेट ब्याक’ नछोडेका थुप्रै घरहरु रहेको र तिनलाई क्षतिपूर्तिविना हटाउन नसकिने बताउँछन् । यसैकारण पनि सर्भिस ट्रयाक निर्माण अहिले नै गर्दा समस्या नपर्ने उनको दाबी छ ।

पूर्वाधार विज्ञ इन्जिनियर आशिष गजुरेल एउटा सडकको डिजाइन सकेसम्म एकै प्याकेजमा एउटै तवरले गरेर निर्माण गर्नु उचित हुने बताउँछन् । चक्रपथको गुरुयोजना नै नबनेको भन्दै उनले चक्रपथकै भागहरु छुट्याएर फरक–फरक ढंगले काम गर्दा परियोजना व्यवस्थापन जटिल हुने बताए ।

‘सडकको मूल भागको डिजाइन नबन्दै सहायक मार्गको डिजाइन बनाएर काम गर्नै हुँदैन भन्ने हैन,’ उनी भन्छन्, ‘एउटै डिजाइन बनाएर त्यसमा काम भाग लगाएर काम गर्दा त्यसको प्रभावकारिता बढी हुन्छ ।’ भविष्यमा मूल सडक बनाउँदा प्राविधिक रुपमा ट्राफिक डाइभर्ट गर्न वा मूल सडकको डिजाइनअनुसर हेरफेर गर्न पनि समस्या पर्न सक्ने गुजरेलको भनाइ छ । एकीकृत तवरले डिजाइन सकेर काम सुरु गर्दा सडक निर्माण सहज हुने र छिन्नभिन्न तरिकाले काम हुने जोखिम पनि कम हुने उनले बताए ।

‘फरक–फरक ढंगले काम गर्दा सडकको फिनिसिङ प्रभावकारी हुँदैन, सडकको आयुमा पनि प्रभाव पर्छ,’ उनी भन्छन्, ‘पहिला चक्रपथको नै समग्र डिजाइन तयार गरेर त्यसैअनुरुप आ–आफ्नो भागमा परेको कामको ठेक्का लगाएर काम गर्ने अभ्यास उचित हुन्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?