+
+

सुवास नेम्वाङले ‘जनताले हामीलाई नयाँ भन्दैनन्’ भनेपछि सोबिताको काउण्टर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १९:३८

८ जेठ, काठमाडौं । सोमबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल थियो ।

छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकको अपरिहार्यतामा जोड दिए।  यो विधेयक प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रतिनिधिसभाबाट पास भएर राष्ट्रिय सभामा गएको थियो । तर राष्ट्रिय सभाले पास नगर्दै प्रतिनिधिसभाको कार्यकाल सकिएका कारण विधेयक निष्क्रिय भएकाले पुनः ल्याउनु परेको सरकारको भनाइ छ । सरकारको यस्तो भनाइमा एमाले संसदीय दलका उपनेता नेम्वाङको पनि समर्थन छ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै पारित भएको भए पनि आफूहरु नयाँ भएकाले विधेयकको विषयवस्तु बुझ्न आवश्यक रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले विज्ञहरुको धारणा सुनेर अगाडि बढ्नु उपयुक्त हुने बताइन् ।

विज्ञको धारणा सुनेर अगाडि बढ्ने विषयमा समर्थन जनाएका एमाले संसदीय दलका उपनेता नेम्वाङले अघिल्लो कार्यकालमा रहेका दलहरु हालको प्रतिनिधिसभामा पनि रहेको स्मरण गरे । नयाँ सांसदहरु समेत गत चुनावबाट आएको उल्लेख गर्दै उनले सबै मिलेर विधेयक अगाडि बढाउनुपर्ने दायित्वमा आफूहरु रहेको बताए ।

‘हामी बीचमा छलफल गर्दा जहिले पनि एउटा कुरा आउने गर्छ – ढिलोचाँडो । फेरि एकातिर यथार्थ छ, हामी त भर्खरै हिजो अस्ति मंसिर ४ को निर्वाचनबाट आएका हौं भन्ने छ’, उपनेता नेम्वाङले भनेका थिए, ‘एउटा संस्थागत मेमोरीका कुराहरु पनि हुन्छन्। मंसिर ४ गते अगाडि पनि थुप्रै दलहरु प्रतिनिधिसभामा थिए। राष्ट्रिय सभामा थिए। अहिले पनि तिनै दलहरु हामी छौं। केही नयाँ साथीहरु पनि आउनुभएको छ। यो सबैलाई समेटेर संसद एउटा निष्कर्षमा पुग्नुपर्ने दायित्व छ।’

जनताले संसदमा रहेका सांसदहरुलाई नयाँ र पुरानो नभनी लामो समयदेखि एकै विषयमा छलफल गरिरहेको रुपमा लिने गरेको पनि उपनेता नेम्वाङले उल्लेख गरे। ‘संसद बाहिरबाट हेर्नेहरुले हामीहरुलाई नयाँ भन्दैनन्’ उनले भनेका थिए, ‘बाहिरबाट हेर्नेहरुले, जनताले उहिल्यै यति सालदेखि यिनीहरु छलफल गर्‍या गर्‍यै छन्। खै त निष्कर्षमा पुग्दैनन् ? भन्छन् । त्यसैले त्यो दायित्व र जिम्मेवारी पनि हामीले नै बोक्नुपर्नेछ।’

संसद बाहिरबाट हेर्नेहरुले सांसदहरुलाई नयाँ नभन्ने नेम्वाङको भनाइप्रति रास्वपाकी सांसद सोबिताले काउण्टर गरिन्।

‘माननीय सुवास नेम्वाङज्यूले भर्खरै भन्नुभयो – विधेयक जे आएको छ त्यसको परिधिभित्र रहेर हामीले दफावार छलफल चलाउनुपर्छ । र नयाँ भन्न हुँदैन भन्नुहुन्छ। कस्तो हुँदो रैछ भने-यो  (विधेयक) आएको थियो पिजन हाेलमा। नयाँ नयाँ आउँदा कहिले हुने हो ? के हुने हो ? थाहा नपाउँदा नपाउँदै फ्याट्ट टेबुल भयो। सदनमा आयो। संशोधनमा परेका कुराहरु पनि हेरियो। कतिपय अवस्थामा पृष्ठभूमि (विधेयकको पृष्ठभूमि) नजान्दा त अप्ठ्यारो हुँदोरहेछ।’

रास्वपाकी सांसद गौतमले दोहोर्‍याउँदै विधेयकले १९ वटा कानुन संशोधन गर्न लागेका कारण तिनबारे जानकारी लिइन् आवश्यक रहेको बताइन् ।

सरकारले गत माघ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक दफावार छलफलको चरणमा छ। दफावार छलफल सुरु गर्नु अगाडिको छलफलमा कानुन न्याय तथा मानवअधिकार समिति छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?