
८ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टेकनारायण पाण्डेले गृहसचिव छँदा एक करोड १४ लाख रुपैयाँ आफ्नो बैंकमा डिपोजिट गर्न लगाएको खुलेको छ ।
उनले आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) लाई पटकपटक गरेर एक करोड रुपैयाँभन्दा बढी रकम विभिन्न बैंकको खातामा जम्मा गर्न लगाएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरलाई बताए ।
अनुुसन्धानका क्रममा प्रहरीले पाण्डेको बैंक खाता विवरण उपलब्ध गराइदिन भन्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । जवाफमा एक करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको विवरण राष्ट्र बैंकले पठाएको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असूली गरेको गिरोहलाई सहयोग पुग्ने गरी काम गरेको देखिएपछि पाण्डेलाई प्रहरीले २० वैशाखमा पक्राउ गरेको थियो । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उनले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन नै कीर्ते गरेको भेटिएको छ ।
मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा हुने गोप्य प्रतिवेदन मगाएर उनले गिरोहले तयार पारेको नक्कली अनुसूची थप गरेको अनुसन्धानबाट खुलेको छ । उनले आफूले माथिको निर्देशन अनुसार नै काम गरेको बयान दिएपछि प्रहरीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पनि पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4