+
+

सगरमाथा क्षेत्रमा पहिलो पटक बजार अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १३:०८

९ जेठ, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पहिलो पटक अनुगमन भएको छ ।

सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बुको नेतृत्वमा पहिलो पटक खुम्बु क्षेत्रमा अनुगमन गरेको कार्यालय प्रमुख सुजनकुमारी बर्देवाले बताइन् । होटल, खाजा घर, बेकरी क्याफे, किराना पसल, स्नुकर हाउस, अस्पताल, क्लिनिक र ट्रेकिङ एजेन्सीको अनुगमन गरिएको हो ।

नाम्चे बजार तल पहिला पनि अनुगमन भए पनि नाम्चे बजार माथि ३५ सय मिटर माथि सगरमाथा वेश क्याम्पसम्म भने पहिलो पटक बजार अनुगमन भएको खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेका वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए ।

सीमा प्रशासन कार्यालयको नेतृत्वमा रहेको अनुगमन टिममा इलाका प्रहरी कार्यालय नाम्चे र गाउँपालिकाको प्रतिनिधिको सहभागिता छ । नाम्चे भन्दा माथि रहेका क्याङ्जुमा, सनसा, लौसासा, फुङ्गिथाङ्गा, त्याङ्बोचे, दिबुचे, मिलुङ्गो, पाङ्बोचे, सोमारे, थुक्ला लोबुचेमा र फेरिचेमा अनुगमन गरिएको थियो ।

त्यस्तै ५ हजार मिटर माथि रहेका गोरक्सेप, सगरमाथा आधार शिविरमा पनि अनुगमन गरिएको सीमा प्रशासन कार्यालयले जनाएको छ । सगरमाथा आधार शिविरमा रहेका ट्रेकिङ्ग एजेन्सीको समेत पहिलो पटक अनुगमन गरिएको छ ।

खुम्बु क्षेत्रमा रहेका होटल, पसलहरु कसरी सञ्चालन भए नभएको तथा व्यवस्थापनका बारेमा कहिल्यै अनुगमन भएको थिएन् । समय समयमा अनुगमन हुँदा व्यवसायी सचेत हुने र पर्यटकले राम्रो सेवा पाउने स्थानीयबासिन्दा जाङगु शेर्पाको अपेक्षा छ ।

अनुगमन टोलीले १८६ भन्दा बढी पसल, होटल, ट्रेकिङ्ग एजेन्सीको अनुगमन गरेको हो ।

किराना पसल दर्ता नभएको, दर्ता भएका पनि नवीकरण नभएको पाइएको अनुगमन संयोजक बर्देवाले वताईन् । होटलमा मेनु भए नभएको, होटलमा खान बस्नको व्यवस्थापनको बारेमा अनुगमन गरेको र व्यवसायीलाई सचेत गराएको उनले बताइन् ।

खाद्यवस्तुमा म्याद भए नभएको र खाद्य सामग्री व्यवस्थापमा समेत अनुगमन भएको थियो ।

यो वर्ष सगरमाथा क्षेत्रमा पर्यटकहरु घुइँचो बढेकाले आफूहरुले सुरक्षा सतर्कता पनि बढाएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख प्रहरी निरीक्षक शम्भु बस्नेतले बताए ।

‘यो क्षेत्रमा कुनै अप्रिय घटना नहोस भनेर प्रहरी समेत बढाएका छौं, समन्वय सम्पर्क समेत बढाइरहेका छौं,’ उनले भने, ‘केही समस्या तथा जोखिम भएमा राज्यको तत्काल उपस्थित हुने व्यवस्था मिलाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?