नेपालमा खेती गर्न सकिने महत्वपूर्ण बिरुवामध्ये केसर पनि एक हो। यसको खेतीले नेपालको अर्थतन्त्रमा उल्लेख्य प्रभाव पार्न सक्छ। संसारभर अंग्रेजी नाम ‘स्याफ्रोन’बाट चिनिने केसर गानाबाट उम्रने बहुउपयोगी तथा बहुमूल्य वनस्पति हो।
वनस्पति परिवारको इरिडेसी परिवारमा पर्ने यसको वैज्ञानिक नाम भने क्रोकस साटिभस हो। यो प्राचीनकालदेखि नै प्रयोग हुँदै आएको मसला तथा औषधि पनि हो।
केसर विश्वको सबैभन्दा महँगो र कम उत्पादन हुने मसलाको रूपमा चिनिन्छ। यसका विभिन्न प्रजातिहरू छन्। यसको उद्गमस्थल ग्रिस र इरानलाई मानिन्छ। त्यसैगरी स्पेन र इजरायलमा केसर प्राकृतिक अवस्थामा पाइन्छ।
यो सुन जस्तै महँगो हुन्छ। सक्कली केसरको औसत मूल्य प्रति केजी ३६०० अमेरिकी डलरसम्म पर्दछ। नेपालमा एक केजी केसर पाँचदेखि दश लाखसम्ममा पनि बिक्री भएको रेकर्ड छ।
केसरमा क्रोसिन ग्लुकोसाइड भन्ने औषधीय रसायन हुन्छ। गानाबाट निस्केको फूलको बीच भागबाट ३ वटा स्त्रीकेसर निस्केका हुन्छन्। त्यही स्त्रीकेसरलाई नै केसर भनेर बेचिन्छ। एक पटक लगाएपछि पुन: गाना रोपेर लगभग १५ वर्षसम्म उत्पादन लिन सकिन्छ।
कुहिने रोग लागेन भने दुई वर्षमा एउटा गानाले दश वटासम्म नयाँ गाना बनाउन सक्छ। धेरै केसर खेती गर्ने देशमा टर्की, चीन, जापान, फ्रान्स र भारत पर्छन्। केसर निर्यात गर्ने मुख्य देश भारत, चीन, अमेरिका, सिङ्गापुर हुन्।
केसरको प्रयोग
फूलको स्त्रीकेसर (स्टिग्मा) नै मुख्य रूपमा प्रयोग हुने केसर हो। यसको पात र अन्य भागको उपयोगिताबारे खासै उल्लेख छैन। यसको प्रयोग विभिन्न प्रकारले हुने गर्छ।
स्त्रीकेसरको धुलो बनाएर मनतातो पानी वा दूधसँग खानाले मानसिक वा स्नायु पीडा कम हुने, यौन सामर्थ्य बढ्ने गर्छ।
यसैगरी अपच, झाडाबान्ता, भोक नलाग्ने, कलेजो सुन्निने, मुटुको रोग, पिसाब सम्बन्धी समस्या, महिनावारी गडबडीमा हुने दुखाइ, दम, खोकी तथा नसाको रोग जस्ता धेरै किसिमका रोगमा लाभकारी हुन्छ।
दूधसँग स्त्रीकेसरको धुलो खानाले पेटमा भएको बच्चा गोरो हुने मान्यताले हुनेखाने गर्भवती महिलाहरूले यो खोजीखोजी खाने गरेको समेत सुनिन्छ। धार्मिक दृष्टिकोणले यो पूजा गर्नका लागि प्रयोग गरिन्छ।
यी बाहेक गानालाई औषधि रङ्ग्याउन र गर्भपतन गराउने लागूऔषधको रूपमा प्रयोग गरिन्छ।बढी मात्रामा प्रयोग गर्दा झाडाबान्ता पनि हुन्छ। आजकल पत्रदल, पुष्पदल र पुङ्केसरलाई चियाको रूपमा पनि प्रयोग गरिन्छ।
नेपालमा व्यावसायिक खेतीको प्रयास र सम्भावना
नेपालमा पनि थोरै ठाउँमा केसर खेतीको प्रयास गरिएको छ। नेपालको पूर्वी हिमाली भेगभन्दा पश्चिमी पहाडी तथा हिमाली भेगमा कम वर्षा हुने भएकोले उक्त क्षेत्र केसरका लागि उपयुक्त हुन्छ। ती क्षेत्रमा यसको खेती राम्रो हुने भएकोले दुर्गम पहाडी भेगका जनताको लागि महत्वपूर्ण नगदे मसलाको रूपमा लाभप्रद हुन सक्छ।
केसर खेतीको लागि पहिलो प्रयास जुम्लामा २०२९ सालमा गरिएको थियो। तर, त्यो प्रयास सफल भएन। त्यसपछि २०३८ सालदेखि जुम्लामा पुन: सुरु गरियो। २०४१ सालदेखि वनस्पति विभागले पनि केसर खेतीको अभ्यास सुरु गरेको थियो र हालसम्म पनि विभिन्न स्थानमा अनुसन्धानात्मक कार्य जारी छ।
त्यतिबेला जिल्ला वनस्पति कार्यालय जुम्ला केसर अफिसको नामले समेत चिनिन्थ्यो भने २०४९ सालतिर राष्ट्रिय वनस्पति उद्यान, ललितपुरको किटनी, लामिडाँडा, कोटडाँडा, हरिसिद्धि र बालाजुमा समेत परीक्षण खेती गरिएको थियो।
पछिल्ला वर्षमा वनस्पति विभागले ललितपुरको गोदावरी, सल्यान र जुम्लामा पनि केसर खेती परीक्षण सम्बन्धी अनुसन्धान गरिरहेको छ। जुम्ला र डोल्पा लगायतका हिमाली जिल्लामा किसानले खेती गर्दै आएका छन्।
जुम्लाको चन्दननाथ नगरपालिकामा उत्पादित केसरले देशैभर राम्रो बजार पाएको छ। कर्णाली प्रदेश महत्वपूर्ण जडीबुटीहरू यार्सागुम्बा, गुच्छी च्याउ, जटामसी, पाँचऔंले, कुट्की, टिमुर जस्तै केसरका लागि पनि उर्वर भूमि हो।
खेती गर्दा ध्यान दिनुपर्ने कुरा
केसरको उत्पादन खासगरी गानाबाट गरिन्छ। यसका बीउहरू नपुंसक हुन्छन् तर कोल्चिसिन ट्रिटमेन्ट द्वारा क्रोमोजोम डुप्लिकेसन गराई यो समस्या हटाउन पनि सकिन्छ। गानालाई साउन/भदौमा ब्याड बनाई रोपिन्छ।
फूल फुलिसकेपछि केही समय गानालाई उत्पादनको लागि छोड्नुपर्छ। पछि गाना पनि संकलन गरी भण्डारण गर्नुपर्छ, जसलाई पुन: रोपणको लागि अर्को वर्ष प्रयोग गर्न सकिन्छ।
यसको गाना परिपक्व हुन नदिंदा ठूला आकारका गाना नहुने र त्यसबाट फूल नलाग्ने समस्या हुन्छ किनभने साना गानाबाट मुस्किलले एउटा मात्र फूल लाग्छ भने ठूलो आकारको (२०-३५ ग्रामसम्म) गानाबाट चार वटासम्म फूल लाग्छन्।
खेती गर्दा जमिनको अवस्था, गानाको छनोट, मल उपचार, गानाको उपचार, गाना रोप्ने तरिका र समयको जानकारी, स्याहारसम्भार तथा व्यवस्थापनको ज्ञान, सिंचाइ अवधि, गोडमेल, मलखाद व्यवस्थापन, बाली संकलन विधि, भण्डारण र मूल्य अभिवृद्धि तरिका, राते, मुसा तथा खरायोबाट बचाउने तरिका आदि कुरामा ध्यान दिनुपर्दछ।
खेतीका लागि हावापानी र माटो
यसको खेती १४०० मिटर समुद्र सतहदेखि ३३०० मिटरसम्मको उचाइमा, वार्षिक सरदर तापक्रम १५-१८ डिग्री सेल्सियस हुने र वार्षिक ३८०-४५० मि.ली वर्षा हुने स्थानमा उपयुक्त हुन्छ। माटोको पी एच ६-६.५ सम्म उपयुक्त मानिन्छ।
नेपालको पूर्वी भेगभन्दा पश्चिम नेपालको हिमाली क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा हुने भएकोले केसर खेतीका लागि उपयुक्त स्थान मानिन्छ। फूल फुल्ने बेलामा धेरै पानी र तुषारो परेको खण्डमा धेरै हानिकारक मानिन्छ। खेतीका लागि पानी नजम्ने, मलिलो एवं बलौटे माटो राम्रो हुन्छ।
केसरलाई विभिन्न प्रकारका कीराहरूले विभिन्न अवस्थामा आक्रमण गर्न सक्छन्। हाल यसको व्यावसायिक खेतीका लागि समस्या भनेको प्रशस्त गाना किन्न नपाइने र खेती गर्दा गानो कुहिने हो। त्यसैले कम वर्षा हुने स्थानमा खेती गर्नुपर्छ।
गानामा खुम्रे कीरा लाग्न सक्छ, जसको लागि रोप्नु अगाडि गानाको उपचार (ट्रिटमेन्ट) महत्वपूर्ण हुन्छ। खेती प्रविधिसम्बन्धी थप जानकारी वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभाग थापाथली तथा विभिन्न जिल्लामा भएका वनस्पति अनुसन्धान केन्द्रबाट लिन सकिन्छ।
अन्तमा, केसर उत्पादन विधि सरल छ भने माग पनि उच्च रहेकोले बिक्री-वितरणमा समस्या हुँदैन। केसर जस्ता महत्वपूर्ण जडीबुटी खेतीका लागि तीनवटै तहका सरकारको दूरदृष्टि, प्रविधि हस्तान्तरण, चेतना र जाँगरको खाँचो छ। यसको उत्पादनलाई ग्रामीणस्तरमा बढाउन सकियो भने जनस्तरमा आत्मनिर्भरता बढाउँछ।
प्राविधिक ज्ञानको अलावा उत्पादित केसरको मूल्य निर्धारण, प्रमाणीकरण, न्यून कर र खेतीमा अनुदान केसर खेतीमा अवलम्बन गर्नुपर्ने नीतिगत कुरा हुन्। केही हजार कमाउन विदेशिनुपर्ने आम नेपालीलाई स्वदेशमै लाख कमाउन सक्ने कृषि नीतिको पर्खाइमा आम नेपाली छन्। पर्खिंदा पर्खिंदै आशै आशमा स्वर्गवास नहोस्। जय जडीबुटी ! जय वनस्पति !
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4