+
+

थिएटर भिलेजले शुक्रबारदेखि कौशीमा नयाँ नाटक ‘त्रयम’ मञ्चन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १३:४५

काठमाडौं । थिएटर भिलेजले आगामी शुक्रबारदेखि नयाँ नाटक ‘त्रयम’ मञ्चन गर्ने भएको छ । कौशी थिएटरमा मञ्चन हुने नाटकको लेखक तथा निर्देशकमा दिलिप रानाभाट छन् । २८ गतेसम्म चल्ने नाटकले काठमाडौंको एक फ्ल्याटमा बस्ने तीन युवती र उनीहरुले दैनिक जीवनमा भोग्ने हिंसालाई प्रस्तुत गर्छ ।

थिएटर भिलेजले नाटकबारे जानकारी दिन सार्वजनिक गरेको वक्तव्यमा त्रयको कथासार समेत उल्लेख गरेको छ । ‘काठमाडौंको एउटा फ्ल्याटमा तीन जना युवती भाडामा बस्छन् । एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन् । तर पनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ, जसले उनीहरूको एकअर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ । योसँगै उनीहरूको विगत किताबको पाना झैं पल्टिंदै जान्छ, जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ । एक दिनको घटनाले उनीहरूले वर्षौंदेखिको कथा बताउँछ ।’

थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो । निर्देशक रानाभाटले नाटक एक वर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताए ।

‘यो विषय लामो समयदेखि बोकिरहेको थिएँ । एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिएँ । तर त्यो दर्शकसम्म पुगेको थिएन । यसपल्ट मौका जुर्दैछ,’ उनले भने, ‘यहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईंको मौनतालाई तोड्न लगाउँछ ।’

तीन महिला पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन् । उनीहरुलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन् । रानाभाटकै परिकल्पनामा तयार भइरहेको नाटकमा आयुष्मा खरेलले ब्याकस्टेजमा सघाएकी छिन् । नाटक जेठ १२ गतेबाट सुरु भएर २८ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?