+
+

सम्साँझै ग्यारेज फर्किन्छन् बस, यात्रीलाई सकस

काठमाडौंमा रात्रि बजार, न रात्रि बस

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० जेठ १० गते २२:१०

१० जेठ, काठमाडौं । बिहीबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा प्रारम्भ भयो, यही बेला सामाजिक सञ्जालहरुमा प्रश्न उठेको छ, उपत्यकाभित्र रात्रि बस सेवा कहिले ? पयर्टक लक्षित घुम्ती बस सेवा नै साँझ ६ बजे बन्द गर्ने साझा यातायतसहित पर्यटन बोर्डको निर्णयले काठमाडौंमा राति बस चलाउन सरकार कति उदासीन छ भन्ने प्रष्ट भएको छ ।

काठमाडौंमा अहिले साढे ७ बजेपछि सबैजसो रुटमा सार्वजनिक बस चल्दैनन् । कुनै लामो रुटहरुमा त ६ बजेपछि नै सार्वजनिक बसहरु भेटिन्नन् । यसका कारण यात्रुहरुले चरम समस्या भोग्ने गरेका छन् । राति ८ बजेपछि कुनैपनि ट्याक्सीहरु मिटरमा चल्न त मान्दैनन् । बस नभेटेका यात्रु ट्याक्सीको तेब्बर भाडाको आतंक र मोलमोलाइबाट प्रताडित छन् । बेलुकीको समयमा जस्तोसुकै भीड भए पनि सवारीहरुमा यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् ।

यदि संघीय सरकार काठमाडौं महानगरले आफ्नो योजनाअनुसार मात्रै काम गर्दिएको भए पनि ६ बजेपछि नै सार्वजनिक बसहरु ग्यारेजमा फर्किने अवस्था आउँदैन थियो । सार्वजनिक यातायात निजी क्षेत्रको पकडमा रहेकाले रात्रिकालीन बस सेवा दिनुपर्ने गरी सरकारले व्यवसायीलाई जिम्मेवार बनाउन सकेको छैन । सडकमा आम यात्रीले साँझमा पाउने सकस सरकारको आँखामा नै परेको छैन ।

काठमाडौंमा चल्ने सार्वजनिक बसहरु राति १० बजेसम्म अनिवार्य सञ्चालन हुनुपर्ने कानुनी व्यवस्था नै छ । काठमाडौं महानगरपालिकाले जारी गरेको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने बसले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको थियो । कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने व्यवस्था छ ।

काठमाडौंको मेयरमा निर्वाचित भएलगत्तै बालेन्द्र साह (बालेन)ले एक अन्तर्वार्तामा काठमाडौंमा ढिलासम्म कार्यालयहरु चल्ने वातावरण बनाएर रात्रिकालीन बस चलाउने आफ्नो योजना बनाएको बताएका थिए । कार्यालय समयलाई हेरफेर गर्दै कुनै कार्यालय मध्यान्ह १२ देखि साँझ ७ बजेसम्म र कुनै अपरान्ह २ देखि राति ९ बजेसम्म सञ्चालन गरेर बस चलाउने उनको योजना थियो ।

तर, योजना र घोषणाअनुसार काम भएन । महानगरपालिकाकै अधिकारीहरु भने सार्वजनिक सवारीको सुनिश्चिता नभएकाले राति मानिसको चहलपल नहुने गरेको मत राख्छन् । रात्रि बस चलाएर आर्थिक गतिविधि बढाएमा शहरभित्र थप रोजगारीको अवसरहरु सिर्जना हुन्छन् । दिउँसो कार्यालयमा व्यस्त हुनेहरुले साँझ रातमा बजारमा ढुक्कसँग किनमेल गर्ने वातावरण पनि पाउँछन् । ट्याक्सीको सेवा महँगो पर्ने भएकाले पनि रात्रिकालीन आर्थिक गतिविधिको विस्तार हुन सकेको छैन । बजार र पार्कहरुमा किनमेल र खाइखर्ची बढ्दा राजस्व प्रणालीसहित अर्थतन्त्रको वृद्धिमा नै योगदान पनि पुग्छ । तर, यस्तो वातावरण बनाउने गरी काम थाल्न कसैले चाहेको नै छैन ।

संघीय सरकारले पनि पटक–पटक रात्रि बस चलाएर रात्रिकालीन आर्थिक गतिविधिहरु विस्तार गर्ने घोषणा गर्दै आएको छ । तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा ०६९ को भदौमा रात्रिकालीन बस सेवा प्रारम्भ भएको थियो । राति ३ घण्टा गाडी गुडाउन काठमाडौं महानगरपालिकाले यातायात व्यवसायी समितिहरुलाई ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । ६ महिनाका लागि परीक्षण स्वरुप १४ वटा बस अनुदान दिएरै चलाइएको थियो ।

राति पनि सजिलै बस चढेर यात्रा गर्न पाइने अवस्था बनेपछि रात्रि जनजीविन अझै लम्बिने र त्यसले यातायातमा यात्रुको व्यवस्थापन पनि निकै सहज हुने सरकारको दाबी थियो ।

यसले साँझमा साँघुरो बसभित्र खाँदिएर यात्रु किन गन्तब्यमा जानुपर्ने बाध्यता पनि हटाउने विश्वास गरिएको थियो ।

यात्रुहरु रातिसम्मै बजारमा हुने र त्यसले बजारलाई पनि लाभ मिल्ने अपेक्षा गरिएको थियो । विस्तारै रातमा पनि बजार खुल्ने क्रम बढाउँदै लैजाने अपेक्षा गरिएको भदै प्रचार गरिएको थियो ।

विभिन्न रुटहरु तोकेर बस चलाइए पनि व्यवसायीले अनुदान लिएर केही समयपछि यात्रु नपाएको भन्दै सेवा बन्द गरे । अनुदान पनि पचाए ।

त्यतिबेला दिउँसोकै भाडा दरमा १४ वटा बस सञ्चालनमा ल्याइएको थियो । प्रत्येक बसमा सुरक्षाकर्मी रहने र सीसी क्यामेराबाट निगरानी हुने व्यवस्था गरिएको थियो ।

अनुदान लिनका लागि बस चलाएका व्यवसायीले पछि अनुदान नपाउने अवस्था आएपछि बन्द गरिदिए ।

२०७५ मा समयअघि साझा बसले राति ९ बजेसम्म सेवा दिन सुरु गरेको थियो । तर, आर्थिक रुपमा फलदायी नभएपछि उसले सेवा नै स्थगन गर्‍यो ।

सुरु भएको रात्रि बस सेवा पनि बन्द गरेर बसेको संघीय सरकारले अहिले यसलाई आफ्नो जिम्मेवारीका रुपमा नै लिन छाडिसकेको छ । जेठ, २०७६ मा यातायात व्यवस्था विभागले रात्रि बस चल्ने वातावरण बनाउन भन्दै रात्रि बसको छुट्टै भाडादर समेत तोकेको थियो ।

विभागले विभिन्न १२ वटा कम्पनीलाई विभिन्न १८ रुटमा रात्रि बस चलाउन अनुमति दिएको थियो । रात्रि बसको न्यूनतम भाडा २५ रुपैयाँ तोकेर सूचना निकालेको थियो । तर २४ घण्टा नबित्दै विभागले रात्रि बसको भाडा तोकेको निर्णय स्थगन गरेको थियो ।

राजधानीको अर्थतन्त्र विस्तारका लागि पनि ‘नाइट लाइफ’ सुरु गर्न अघि बढेको योजना किन तुहाइयो भन्ने विभागले बताउन नै चाहेन ।

यातायात व्यवस्था विभागका प्रवक्ता तथा निर्देशक ईश्वरीदत्त पनेरु काठमाडौं महानगरपाकिलाले नै रात्रि बस सञ्चालनबारे छलफल अघि बढाएकाले विभागले सहजीकरण मात्रै गर्न सक्ने बताउँछन् । ‘कार्य क्षेत्र र क्षेत्राधिकारको पनि कुरा छ, यसमा प्रदेश सरकारको पनि दायित्व हुन्छ,’ उनी भन्छन्, ‘यातायात प्राधिकरण गठनको विषय पनि छ, अब त्यसमार्फत पनि रात्रि बस सञ्चालन अघि बढ्ला ।’

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९अनुसार गठन हुने प्राधिकरणको संघीय सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नासाथ उपत्यकाका महानगरपालिकाहरु र नगरपालिकाहरुबीच रात्रि बस सञ्चालनबारे निर्णय हुने अवस्था रहेको बताउँछन् । ‘साँझ ६ बजेपछि नै बस नापाइने समस्यका कारण बजारहरु पनि ढिलोसम्म चल्न सकेनन्,’ अधिकारीले भने, ‘सबैले शहरभित्र राति सेवा दिने बस चाहिने अनुभूत गरेका छन्, प्राधिकरण गठन हुनासाथ यसबारे ठोस निर्णय हुनसक्छ ।’

काठमाडौं शहर रातमा पनि चलायमान गराउने र रत्रिकालीन आर्थिक गतिविधिहरु पनि बढाउो योजनचासहित महानगरले पूर्वाधार निर्माणको काम अघि बढाएको भन्दै अधिकारीले निकट भविष्यमै रात्रि बसहरु पनि चल्ने उनको दाबी छ ।

राति ८ बजेपछि नै प्रहरीले गस्ती नै गरेर बजार बन्द गराउने गरेको भन्दै यातायात व्यवसायीहरु यात्रु नै नपाइने अवस्थामा व्यवसायीले बस चलाउँछन् भन्ने परिकल्पना गर्नु नै उचित नहुने बताउँछन् । रातिसम्म ढुक्कले बजार खुल्ने भएका ग्राहकहरु बजारसम्म आउने, व्यवसायीहरु रातिसम्म पसल खोलेर बस्ने र त्यसले मात्रै सडकमा यात्रीको संख्या बढाउने व्यवसायीहरुको भनाइ छ । खाना खाने होटल र रेस्टुरेन्ट समेत ९ बजेपछि खुला राख्न नदिने गृह प्रशासनको नीति नै रात्रि बस प्रवर्द्धन हुन नसक्नुको कारण भएको उनीहरुको भनाइ छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला रात्रि बस चलाउन यात्रुको संख्या नै अपुग हुने बताउँछन् । घाटामा व्यवसायीले सेवा दिन नसक्ने भन्दै उनले राज्यले नै विकल्पहरु सोच्नुपर्ने सिटौलाले बताए ।

काठमाडौंको रत्नपार्कलाई केन्द्र बनाएर रिंगरोड, कलंकी, बुढानीलकण्ठ, कोटेश्वर, जाउलाखेल लगायतका क्षत्रेमा रात्रि बस चलाउन सकिने भन्दै उनले त्यसका लागि यातायात व्यवसायी मात्रै तयार भएर नहुने बताए ।

‘व्यवसायीलाई आर्थिक मात्रै हैन, यात्रुलाई भौतिक सुरक्षाको प्रत्याभूति पनि हुनुपर्छ,’ सिटौलाले भने, ‘त्यसो गरियो भने दिगोरुपमा काठमाडौंलाई रातसम्म जगाउने गरी सार्वजनिक बस सेवा सञ्चालन हुन सक्छ ।’ रात्रि बस सेवा सुरु गर्नेभन्दा त्यसलाई टिकाउने चुनौती रहेको सिटौला सुनाउँछन् ।

साझा यातायातका महाप्रवन्धक महेन्द्रराज पाण्डेय ८ बजेपछि यात्री नै नपाइने समस्या रहेको दाबी गर्छन् । ‘यात्री नै ज्यादै कम हुने भएकाले बसको सञ्चालन गर्नुको औचित्य नै पुष्टि हुँदैन, पहिला त राति पनि काठमाडौंका बजारहरु खुल्ने वातावरण बनाउनुपर्छ,’ उनी भन्छन्, ‘राति बजार चलायमान भएपछि राति बस सेवा दिन कुनै समस्या नै छैन ।

उनका अनुसार राति बस चलाउन सडकहरुमा राम्रो गुणस्तरका बत्तीहरु जोड्नुपर्छ । त्यसले यात्रुलाई पनि सुरक्षित महसुस हुने र बस चलाउन पनि सहज वातावरण तयार हुने उनको मत छ ।

‘राति चल्ने बसहरुमा बढी सुरक्षा चुनौती हुन्छ, त्यसैले सुरक्षा पनि चाहिन्छ,’ उनी भन्छन्, ‘राति दिइने सार्वजनिक यातायातको सेवको भाडा दर पनि छुट्टै तोक्नुपर्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?