+
+

‘भारतले नेपालको स्वतन्त्रतालाई कहिल्यै स्वीकार गरेन’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० जेठ ११ गते २०:२८

११ जेठ, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्य सूर्यनाथ उपाध्यायले नेपालको स्वतन्त्रतालाई भारतले कहिल्यै स्वीकार नगरेको टिप्पणी गरेका छन् । भारतकै कारण दुई देशको सम्बन्ध कटुतापूर्ण रहन पुगेको उनको निष्कर्ष छ ।

नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० पुनरावलोकन गनुपर्ने विषय र नेपाल–भारत जलस्रोत सम्बन्धका विषयमा छलफल गर्न बिहीबार उपाध्यायलाई राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बोलाएको थियो ।

कानुन मन्त्रालयको अन्तर्राष्ट्रिय शाखा लगायतमा समेत रहेर काम गरेका उपाध्यायले जिम्मेवारीमा रहेका बेला नेपाल र भारत सरकारका बीचमा भएका धेरै छलफलमा सहभागी भएका थिए । कतिपय छलफलमा नेपालको तर्फबाट नेतृत्व समेत लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त समेत रहेका उपाध्यायले ईपीजी सदस्य समेत समेत थिए ।

छलफलमा भाग लिँदै उपाध्यायले भने, ‘भारतको बानी तपाईं हामीलाई थाहा छँदैछ, उसको लागि नेपाल एउटा स्वतन्त्र देश हो भन्ने हैन कि मेरो रच्छ्यान (घर अगाडिको जे पनि गर्न मिल्ने ठाउँ) हो । यसलाई जे गरे पनि हुन्छ ।’

भारतले नेपाललाई मित्र राष्ट्रका रुपमा लिएर त्यस अनुसारको व्यवहार नगर्ने गरेको उनले बताए । भारतीय प्रबृतिबारे उनको टिप्पणी छ, ‘हाम्रो स्वतन्त्रतामाथि, हाम्रो इन्डिपेन्डेन्सी र हाम्रो भू रक्षाका लागि एउटा मित्रराष्ट्रले गर्नुपर्ने काम उल्ले (भारतले) गर्दैन । उल्लाई जे मन लाग्यो जसो मनलाग्यो, जसरी दुख दिन मन लाग्यो, आफूलाई सुविधा जसरी हुन्छ त्यसरी काम गर्छ ।’

भारतकै कारण भारत र नेपालको सम्बन्ध कटुतापूर्ण रहन पुगेको उनको धारणा छ । ‘नेपाल र भारतका बीचमा कटापूर्ण सम्बन्ध अहिले पनि छ हामीले भन्न चाहेर या नचाहेर । हामीहरुले सहनुपरेको छ । हामी एैय्या भन्दैनौं सहिराखेका छौं’ उनी थप्छन्, ‘कुन क्षेत्र होला हामीले दुख नपाएको ? मैले त कुनै क्षेत्र नै देख्दिन । चाहे त्यो एग्रिकल्चरको कुरा होस्, चाहे इम्पोर्टको कुरा । चाहे टेरिटोरीको कुरा होस् । बोर्डरमा मान्छे मारिएको कुरा होस् या बोर्डर मिच्ने कुरा होस् ।’

भारतको हेपाहा प्रवृत्तिका सामू नेपाल निरीह हुँदै आएको उनको अनुभव छ । ‘तुइनमा मान्छे (जयसिंह धामी) मारिदियो, हामीले केही गर्न सकेनौं । (कञ्चनपुरमा) गोविन्द गौतमलाई मा¥यो, तपाईं हामीले केही गर्न सकेनौं । एउटा प्रोटेस्ट लेटर पठायौं सिद्धियो’ नेपालको कमजोरीबारे उनले भने ।

भारतले नेपालमा हुन गरेको विरोधमा चासो नराख्ने प्रवृत्तिको उदाहरणका लागि उनले लिपुलेकलाई व्यापारिक नाका बनाउने भारत र चीनको सहमतिलाई देखाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खछ्याङले १ जेठ २०७२ मा लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउन १ जेठ २०७२ मा सहमति गरेका थिए ।

उपाध्याय भन्छन्, ‘भारतलाई चाइना जाने बाटो बनाउनुपर्ने थियो, बनाइदियो । यहाँ (नेपालमा) अब्जेक्सन (विरोध) भइराखेको छ, (भारतलाई) केही मतलब छैन ।’

भारतकै कारण महाकाली सन्धि कार्यान्वयन नभएको बताए । ‘महाकाली प्रोजेक्ट किन त्यस्तो भयो भन्दा – भारतको मोनोपोली । यो भन्दा अर्को भन्न जरुरत छैन । उसलाई मन लाग्यो बनायो, उसलाई मन लागेन बनाएन’ उपाध्यायले भने ।

नेपालको भूमि प्रयोग गर्दा नेपाललाई नै नसोध्ने भारतीय प्रवृत्तिको अर्को उदाहरण दिन्छन्, ‘अर्काको देशमा जबर्जस्ती गर्न नहुने काम गरेर टकनपुर ब्यारेज (बाँध) बनायो ।’

टनकपुर ब्यारेज बनाउनु अगाडि नेपालसँग नसोधी सर्भे गरेको उल्लेख गर्दै उनी त्यसबेला नेपालले चिठी लेखेको सम्झिन्छन् । ‘पहिले त्यहाँ खस्र्याङ खुस्र्रुङ खोसल्दै थियो । त्यतिखेर यहाँ (नेपाल)बाट चिठी गयो,’ उनले भने, ‘त्यतातिर केही गर्न लाग्नु भएको हो कि क्या हो भनेर सोध्दा समान्य सर्भे गर्न लागेको हो । त्यस्तो प¥यो भने सल्लाह गरौंला नि भनेर जवाफ फर्काए ।’

उनले अगाडि भने, ‘हाम्रा मान्छेले विश्वास गरे, सर्भे गर्न खोज्या रैछ के ठूलो कुरा हो र भने । पछि उस(भारत)ले स्टक्चर बनायो । हामीसित समन्वय/सल्लाह/सम्झौता गरेन ।’

टनकपुरमा बाँध नै बनिसकेपछि नेपालका प्रधानमन्त्री भारत भ्रमणमा गएको र त्यसेबला भारतीय बाँधले वैधता पाउने गरी सम्झौता गरिदिएको उनले बताए ।

नेपालका सामू भारत अहंकारी हुनुको कारण नेपालका राजनीतिक नेतृत्व पनि जिम्मेवार रहेको उनले सुनाए । ‘एक किसिमको मैमत्त भएको, अहंकार भएको, कसैको स्वतन्त्रता साना देशहरु हाम्रो जस्तो देशको स्वतन्त्रतालाई कुनै वास्ता नगर्ने । यस्तो देशको रुपमा (भारत) छ’, पूर्व सचिव समेत रहेका उपाध्यायले भनेका छन्, ‘अर्को नो प्रोब्लम भन्ने हामी (नेपाली नेतृत्व) छौं ।’

दृढतापूर्वक कुरा नगर्नु मुख्य कमजोरी

राजनीतिक नेतृत्वप्रति सांकेतिक रुपमा प्रश्न उठाएका उपाध्यायलाई सांसदहरुले जिम्मेवारीमा रहँदा आफैंले के कसो गर्नुभयो भनी प्रश्न गरेका थिए ।

जवाफमा उनले कर्मचारीको अधिकार मात्रै नहेरेर लिमिटेसनलाई पनि बुझ्नुपर्ने बताए । ‘म गर्व त गर्दिन, तर जानेअनुसार व्यक्तिगत रुपमा जति गर्न सकेँ, कर्मचारीको हैसियतमा त्यति गरेका छौं’ उनी थप्छन्, ‘धेरै कुरा गर्न सकिएन । त्यसमा हाम्रा लिमिटेसनहरु भए होलान्, हाम्रा कमजोरी भए होलान् । जागिर खाइसकेपछि एउटा लिमिटेसनभित्र बस्नुपर्छ ।’

सरकारी सेवामा रहँदा भारतीयहरुसँग आफूले धेरै छलफलहरुमा भाग लिएको भन्दै उनले दृढतापूर्वक कुरा गर्न नसक्नु नै नेपालीहरुको मुख्य कमजोरी भएको बताए । ‘मेरो अनुभव छ– यदि हामीहरुले दृढतापूर्वक आफ्नो कुरा राख्न सक्ने हो भने हामी तिनीहरु (भारतीय)हरु भन्दा कुनै पनि मात्रामा कमी हुन सक्दैनौं, क्लियर छ । आत्मविश्वासमा मुख्य विषय हो’, उनले भने ।

आत्मविश्वासका साथ काम गरेकै कारण नेपाल भारत प्रवुद्ध समूह ईपीजीको प्रतिवेदन तयार भएको र त्यसमा नेपाल र भारत दुबै पक्षका व्यक्तिहरुले हस्ताक्षर गरेको उनको भनाइ छ ।

ईपीजीको प्रतिवेदन कार्यावयन हुँदा नेपाललाई फाइदा हुने भन्दै उनले भने, ‘पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति थियो । सहमति अनुसार भारतीय प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन बुझ्न इन्कार गर्दै आएका छन् ।’

‘खुला सीमा बन्द गर्न सन्धिले रोक्दैन’

नेपालमा १९५० को सन्धि खारेज गर्नुपर्ने माग निरन्तर उठिरहेको उल्लेख गर्दै पूर्वसचिव उपाध्याय सन्धि खारेज नहुँदा पनि नेपालले गर्न सक्ने धेरै विषय रहेको बताउँछन् ।

उपाध्यायले भने, ‘हामीले ठान्या छौं यो सन्धि (१९५० को सन्धि)ले रोक्छ, भन्ने भाष्य बनाएर राख्यौं त्यो गलत हो ।’ सबैभन्दा पहिले नेपाल र भारतका बीचमा रहेको खुला सीमा बन्द गर्नुपर्ने उनको भनाइ छ । खुला दुवै देशका लागि हानिकारण रहेको पूर्व सचिव उपाध्यायको बुझाइ छ । खुला सीमा भारतका लागि भन्दा ज्यादा नेपालमा लागि हानिकारण रहेको उनको व्याख्या छ ।

खुला सीमानाका कारण राजश्व चुहावट, लागू पदार्थ ओसारप्रसार भइरहेको र नागरिककै सुरक्षाका दृष्टिले पनि खुला सीमा समस्या भएको उनले बताए । भन्छन्, ‘यहाँ आएर मारेर छिरिदियो भने त्यो भारतमा को आयो ? के ग¥यो भन्ने कुनै रेकर्ड हुँदैन ।’ अपराधी खोज्नकै लागि १९५३ मा सुपुर्दगी सन्धि भएपनि सन्धि अनुसार एकाध अपराधी मात्रै समातिएको उपाध्याय सुनाउँछन् ।

खुला सीमा भएका कारण नेपालमा को आएर कति दिन बस्यो ? कुन विदेशीले के काम गर्‍यो ? भारतीयहरु कति छन् कुनै रेकर्ड नेपालसँग नभएको उनले बताए । भन्छन्, उनीहरुको चम्पारण जिल्ला जस्तो हो त्यस्तै हो काठमाडौं ।’ भारतले भने नेपालीहरुको परिचयपत्र लिने गरेको उनले सुनाए ।

रोटी बेटीको सम्बन्ध भनेर सीमा खुला राख्नु उचित नहुने भन्दै उपाध्यायले भने, ‘सीमा समस्या सल्ट्याउँ र तारबार लगाउनुपर्छ भने लगाऔं । व्यापार गर्न २६ वटा नाका छ, त्यस नाकाबाट मात्रै समान आउनुपर्छ । मान्छेका लागि कतिवटा नाका तोक्नुपर्ने हो, तोकौं ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?