+
+

प्रविधि क्षेत्रमा एकअर्कालाई प्रतिबन्ध लगाउँदै चीन-अमेरिका, एआईमा कसको रहला अग्रता ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते ६:३१

१२ जेठ, काठमाडौं । चीन र अमेरिकाबीच अहिले प्रविधिलाई लिएर तनाव जारी छ । प्राविधिक सामग्रीमा प्रयोग हुने उच्च गुणस्तरका चिप्सदेखि सेमिकण्डकटर चीन निर्यातमा अमेरिका आफूले मात्रै प्रतिबन्ध लगाएको छैन, उसको सहयोगी राष्ट्रहरूलाई समेत चीनमा चिप्स तथा सेमिकण्डक्टर निर्यात नगर्न भनेको छ ।

यी दुई मुलुकले एकले अर्काका प्रविधिमा प्रयोग हुने सामग्रीदेखि एप्समा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाएपछि एप बनाउने बाइट डान्स कम्पनी अमेरिकी सरकारको निर्णयविरूद्ध अदालत गएको छ । टिकटकले अमेरिकी सुरक्षामा खतरामा पुर्याउने भएकाले प्रतिबन्धको विकल्प नरहेको अमेरिकाको भनाइ छ ।

यता, चीनले पनि मेमोरी कार्ड निर्माण गर्ने कम्पनी माइक्रोनलाई चीनमा प्रतिबन्ध लगाएको छ । चीनमा चिप्स पठाउन प्रतिबन्ध लगाएको अमेरिकालाई दबाब दिन उसले यो निर्णय लिएको प्रविधि जमातमा बहस भइरहेको छ । चीनमा धेरै निर्यात भएको माइक्रोनका सामग्रीले राष्ट्रिय सुरक्षामा असर पुर्याउने भन्दै उसले प्रतिबन्ध लगाएको हो ।

प्रविधिको क्षेत्रमा एक–अर्कालाई प्रतिबन्ध लगाइरहेको स्थितिमा पछिल्लो समयमा विकसित भएको एआई प्रविधि अर्थात् यान्त्रिक बौद्धिकतामा यी दुई मुलुकमध्ये को अघि रहला भन्ने बहस भइरहेको छ । हालै जापानमा सम्पन्न जी–७ सम्मेलनमा पनि यसबारे चर्चा भएको थियो । त्यस सम्मेलनमा अमेरिकाले चीनलाई महत्वपूर्ण प्रविधिमा बन्देज लगाउने प्रयत्नका सवालमा छलफल गरेको थियो ।

हालसम्मको स्थितिमा एआई प्रविधिको दौडमा अमेरिका नै अग्रस्थानमा छ । चीनको प्रविधि विकासमा असर पुर्याउने उद्देश्यले अमेरिकाले त्यहाँ सेमिकण्डक्टर निर्यातमै प्रतिबन्ध लगाएको छ ।

अमेरिकाको यो प्रयत्नकाबीच चीनले एआई दौडमा सबैलाई उछिन्ने विश्लेषकहरूको मत छ । ‘चिनियाँ इन्टरनेट कम्पनी अमेरिकी भन्दा निकै अत्याधुनिक छन् । उनीहरूले अमेरिकाका कम्पनीलाई आविष्कारमा उछिन्न सक्छन्’, प्रविधि जानकार केन्रा साफर भन्छिन् ।

तर हालको स्थितिमा अत्याधुनिक प्रविधि आविष्कारमा चीन १० देखि १५ वर्षपछि नै रहेको उनको भनाइ छ । अमेरिकाले प्रविधिमा सबैभन्दा बढी फड्को मार्नुको पछाडि सिलिकन भ्याली कारक हो । यहाँ गुगल, एप्पल, इन्टेल सहित अन्य ठूला र अत्याधुनिक आविष्कार गर्ने प्रविधि कम्पनी छन् । अमेरिकाले आविष्कारकलाई प्रोत्साहन समेत गर्छ । हङकङ विश्वविद्यालयका प्रविधि सम्बन्धी प्राध्यापक पास्कल फुङ भन्छन्, ‘अमेरिकाले अनुसन्धानकर्ता र आविष्कारकलाई धेरै नै प्रोत्साहन गर्ने भएकाले प्रविधिमा उसको उपस्थिति बलियो छ ।’

बेइजिङमा सन् २०२१ मा आयोजित वर्ल्ड रोबोट कन्फ्रेन्समा राखिएका रोबोटहरु नाच्दै । फोटो : सिन्ह्वा ।

उदाहरणका लागि ओपन एआई नै कापी छ । गैरनाफामुखी यस संस्था अनुसन्धानका लागि खोलिएको थियो । यसले बनाएको च्याट जीपीटीले अहिले प्रविधि दुनियाँमा हंगामा मच्चाएको छ । ‘अनुसन्धानका लागि अमेरिकामा जत्तिको उपयुक्त वातावरण चीनमा छैन । एउटाको प्रविधि लोकप्रिय उन्मुख भएपछि मात्रै उनीहरूले त्यसको नयाँ मोडल विकासका लागि पहल थाल्छन् । अनुसन्धानमा अब्बल नहुनाले नै चीन प्रविधि विकासमा पछि परेको हो’, साफर भन्छिन् ।

अमेरिकामा अनुसन्धानका लागि लगानीकर्ताहरूले पनि प्रोत्साहन गर्छन् । ओपन एआईको च्याट जीपीटीका लागि माइक्रोसफ्टले १ अर्ब अमेरिकी डलर लगानी गरेको थियो । ‘एआई प्रविधिको दुनियाँमा निकै नै रूपान्तरणकारी माध्यम हो । यसले धेरै समस्याको समाधान गर्ने हैसियत राख्छ’, माइक्रोसफ्टका प्रमुख कार्यकारी सतय नाडेलाले भनेका छन् ।

यता, चीनलाई प्रयोगकर्ताको तर्फबाट फाइदा छ । चीन विश्वको दोस्रो ठूलो जनसंख्या भएको मुलुक हो । चीनको जनसंख्या १ अर्ब ४० करोड छ । इन्टरनेटको दुनियाँमा चीनले प्रगति गर्दै आएको छ । चीनका सबैले वी च्याटको प्रयोग गर्छन् । चीनमा वी च्याट सन्देश पठाउन मात्रै नभएर चिकित्सकको समय लिन दिन आयकर तिर्नसमेत प्रयोग हुन्छ ।

प्रविधिको विकासमा चिनिँया फड्कोलाई रोक्ने अमेरिकी प्रयासका कारण चीनले एआइको पृथक मोडल बनाएर चुनौती दिने संभावना रहेको विज्ञहरूको मत छ  ।

प्रयोगकर्ताको संख्या बढेकाले प्रविधिको सुधारमा चीनले ध्यान दिनुपर्ने एडिथ यङ बताउँछन् । ‘डेटाको उपलब्धताले एआइलाई मजबुद बनाउँछ । चीनमा डेटाको उपलब्धतामा कुनै समस्या छैन । माध्यमको मात्रै समस्या छ’, यङ भन्छन् ।

यता, गोपनीयताको नीतिको तुलना गर्दा अमेरिका भन्दा चीनसँग कम कानुन छन् । त्यसैले एआई प्रविधिको लागि यो भन्दा उपयुक्त स्थान चीननै रहेको यङको भनाइ छ ।

हाल चीनको प्रविधि विकास अमेरिका भन्दा कमजोर रहेपनि चीनले फड्को मार्नसक्ने प्रशस्त ठाउँ रहेको ली काइ फू बताउँछन् । एआई सुपरपावर नामक किताबमा उनले लेखेका छन्, ‘अत्यधिक गतिमा चीनको रूचि छ । साभार त्यहाँ सामान्य छ भने प्रतिस्पर्धामा खरो उत्रिने बानी चीनको छ’, गुगल चीनका हेड ली भन्छन् । सन् १९८० देखि चीनको बढ्दो अर्थतन्त्रको सारथी प्रविधिमा आधारित उत्पादनै भएको फङको भनाइ छ । ‘पछिल्लो दशकमा चीनको कुरा गर्ने हो भने त्यहाँ उपभोक्ता केन्द्रित आविष्कार धेरैनै भएका छन्’, उनले भनिन् ।

चीनका प्रविधि कम्पनीले एआईको विकास गरेमा उनीहरूले आलोचनात्मक उत्तर र विवेचना सायदै दिनेछन् । अधिनायकवादी राज्यको हस्तक्षेप हुनसक्ने भएकाले आलोचनात्मक उत्तर एआईले दिनसक्ने सम्भावना कमै हुने फङको भनाइ छ ।

तर प्रविधिको विकासमा चिनिँया फड्कोलाई रोक्ने अमेरिकी प्रयासका कारण चीनले एआइको पृथक मोडल बनाएर चुनौती दिने संभावना रहेको विज्ञहरूको मत छ  ।

उच्च गुणस्तरको चिप्स तथा सेमिकण्डक्टरमा कब्जा जमाउने वासिङ्टन र बेइजिङको प्रयत्नले २ मुलुकबीच तनाव बढ्दो छ । यी २ वस्तु मोबाइल, ल्यापटप तथा सैन्य सामग्रीमा प्रयोग हुँदै आएका छन् ।

अमेरिकी कम्पनी नेभिदा एआई चिप्समा अग्रणी रहेको अवस्थामा चीनको केही सीमित कम्पनीले मात्रै च्याट जीपीटीसँग प्रतिस्पर्धा गर्नसक्ने फङको भनाइ छ । यसले चीनको उच्च प्रविधि विकासका क्षेत्रमा काम गर्ने कम्पीनलाई असर पुर्याए पनि उपभोक्ताले प्रयोग गर्ने प्रविधिमा यसले कुनै असर नपुर्याउने साफरको भनाइ छ ।

‘सैन्य सामग्रीलाई मात्रै लक्षित गरेर प्रतिबन्ध लगाइएको हुनाले अन्य क्षेत्रमा चीनलाई हानी पुग्नेछैन’, उनले भनिन् । अमेरिकालाई उछिन्नका लागि चीन स्वयंले सिलिकन भ्याली जस्तै अनुसन्धान संस्कृतिको विकास गर्नुपर्ने फङको भनाइ छ । ‘घरेलु विज्ञ मात्रै नभएर बाहिर उत्कृष्ट काम गरिरहेकालाई चीनले आकर्षित गर्न जरूरी छ’, उनले भनिन् ।

चिप्स कम्पनीलाई बेइजिङ ठूलो रकम उपलब्ध गराउने बताएको छ । यद्यपि सरकारी व्यवहारका कारण लगानीकर्ता त्रसित छन् । प्रविधि कम्पनीका प्रख्यात तथा अर्बपति जाओ विगोको गिरप्तारीपछि लगानीकर्ता हच्किएका हुन् ।

‘जाओको गिरफ्तारीले चीनमा राज्यको रकममा कुनै हिनामिना गर्न नमिल्ने सन्देशसँगै त्रासको वातावरण सिर्जना भएको छ’, फङ भन्छिन् । यसले चीनको एआईको भविष्यमा पर्ने असरको संकेत देखाउन अझै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?