+
+

स्मार्टफोनमा स्टोरेज सकिन थाल्यो ? यसो गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते ११:००

काठमाडौं । अहिलेका आधुनिक स्मार्टफोनहरु अनेक फिचरहरुका घर हुन् । स्मार्टफोन केबल फोनकलमा प्रयोग हुने उपकरण मात्र नभई मनोरञ्जन, काम तथा अन्य धेरै चिजहरुका लागि समेत प्रयोग हुुने डिभाइस बनेको छ ।

आफ्नो यस्तो बहुमुखी चरित्रका कारण स्मार्टफोनले ठूलो संख्याका डाटाहरु दिनहुँ स्टोर गरिरहनु पर्दछ जसका कारण फोनको स्टोरेज स्पेस भरिने समस्या छिटै आउँछ । यस्तो अवस्थामा मानिसहरु स्टोरेज क्षमता विस्तारका लागि बाह्य एसडी कार्ड खरीद गर्ने, क्लाउड स्टोरेज आदि उपाय अपनाउँछन् ।

तर यसरी स्टोरेज क्षमता विस्तारका लागि फोन बाहिरका विकल्प छान्नुअघि हामीले फोनमै रहेको स्टोरेज खाली गर्ने उपाय अपनाउन सकिन्छ । यसका लागि निम्न कुराहरु गर्न सकिन्छ–

अनावश्यक र प्रयोगविहीन एपलाई हटाउनुहोस् : फोनमा अनावश्यक रुपमा ओगटिएको स्पेस खाली गर्ने सबैभन्दा सजिलो उपाय भएको प्रयोग नभइरहेका एपहरु हटाउनु नै हो । हामीले आफ्नो फोनमा अनेक खालका एपहरु इन्स्टल गरेका हुन्छौं । तर समयक्रमसँगै तीमध्ये धेरै एपहरु हामीले विरलै वा कहिल्यै पनि प्रयोग गरेका हुँदैनौँ । त्यसैले त्यस्ता एप अनइन्स्टल गर्दा केबल फोनको स्टोरेज खाली हुने मात्र होइन फोनको पर्फमेन्स पनि बढ्दछ ।

एप caches  तथा डाटाको सफाइ : फोनमा कुनै एपलाई डिलिट गर्दैमा मात्र पनि धेरै स्पेस खाली नहुन सक्दछ । एपहरुले स्टोर गरेका डाटा तथा caches  ले पनि फोनमा ठाउँ ओगटिरहेको हुन्छ । त्यसैले त्यस्ता क्यास वा डाटालाई सफा गर्नुहोस् । तपाईंले यस्तो काम नियमित रुपमा गर्नुभयो भने फोनमा निश्चित मात्राको स्टोरेज सधैं पाउनुहुन्छ । यसका लागि फोनको  Settings मा गएर Applications अप्सनमा जानुपर्दछ । त्यसपछि कुनै निश्चित एपमा ट्याप गरी त्यसको क्यास तथा डाटा हटाउन सक्नुहुन्छ ।

फोटो तथा भिडियोको ब्याकअप राखेर फोनबाट डिलिट गर्ने : प्रायः हाम्रो फोनमा रहेको स्टोरेज स्पेसको आधाभन्दा धेरै हिस्सा त फोटो तथा भिडियोहरुले नै ओगटेको हुन्छ । त्यसैले फोनमा रहेका फोटो तथा भिडियोलाई बाहिरी हार्ड ड्राइभ वा क्लाउड स्टोरेजमा सार्नुभयो र फोनबाट डिलिट गर्नुभयो भने त्यसले तपाईंको फोनमा प्रसस्तै स्टोरेज स्पेस खाली गर्नेछ ।

 डाउनलोडको व्यवस्थापन : तपाईंको फोनमा डाउनलोड फोल्डर तथा डकुमेन्टहरु छिट्टै थुप्रिएर निकै महत्वपूर्ण स्पेस खाइदिन्छन् । त्यसैले बेलाबेलामा डाउनलोड भएका चिजहरु हेरेर अनावश्यक फाइल, नचाहिने पुराना डकुमेन्टका साथै कुनै डुप्लिकेट वा दोहोरिएका डकुमेन्टहरु डिलिट गर्न सक्नुहुन्छ । तपाईंले फोनमा डाउनलोड गरेका महत्वपूर्ण डकुमेन्टलाई क्लाउड स्टोरेज वा बाहिरी हार्ड ड्राइभमा सारेर पनि फोनको स्पेस खाली गर्न सक्नुहुन्छ ।

डाउनलोड गरेका फिल्म वा अन्य भिडियो डिलिट गर्नुहोस् :  स्मार्टफोन प्रयोगकर्ताहरुले नेटफ्लिक्स, अमेजन प्राइम तथा अन्य ओटिटी एपका लागि युट्युबबाट समेत विभिन्न फिल्म, शो आदिका भिडियोहरु डाउनलोड गर्दछन् ताकि इन्टरनेट नभएको बेलामा पनि हेर्न सकियोस् । यस्ता भिडियोले फोनमा निकै धेरै स्पेस ओगट्छन् । त्यसैले एकपटक हेरिसकेका त्यस्ता सामग्रीहरु डिलिट गरेर फोनको स्पेस खाली गर्न सकिन्छ ।

स्टोरेज म्यानेजमेन्ट टुलको प्रयोग : प्रायः सबैजसो आधुनिक स्मार्टफोनहरुमा आफ्नै स्टोरेज म्यानेजमेन्ट टुल उपलब्ध हुन्छ । यसबाट प्रयोगकर्ताले आफ्नो फोनको स्टोरेज प्रयोगको अवस्थाका बारेमा पूर्णरुपमा थाहा पाउनुुका साथै स्टोरेज स्पेस खाली गर्ने तरिकाका लागि आवश्यक सल्लाह पनि पाउन सक्दछन् । यो टुलले ठूला फाइलहरु, प्रयोगमा नभएका एपहरु, ठूलो आकारका मिडिया सामग्रीहरु हटाएर स्टोरेजको व्यवस्थापनलाई सहज बनाउन मद्दत गर्दछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?