+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

निकुञ्जको लामितालमा रमाउँदै पुष्पा र अञ्जली

सुवास पण्डित सुवास पण्डित
२०८० जेठ १२ गते १२:५८
चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रमा पुष्पा र अञ्जली

१२ जेठ, चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयको हुर्किएका गैंडाका ‘टुहुरा’ दुई केटीहरू पुष्पा र अञ्जली अहिले जंगलमै अभ्यस्त हुन थालेका छन् ।

कोषका कर्मचारीले दूध खुवाएर हुर्काएका ती गैंडा घरेलु बन्न थालेपछि जंगली बनाउने भन्दै गत वैशाख ३१ गते चितवन राष्ट्रिय निकुञ्जको जंगलमा लगेर छाडिएको थियो ।

उनीहरुलाई प्राकृतिक बासस्थानमा फर्काउने र जंगली बनाएर प्रजननका लागि योग्य बनाउने उद्देश्यसहित छाडिएका दुवै गैंडा लामिताल क्षेत्रमा रमाउन थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

‘दुवै गैंडा अहिले लामिताल क्षेत्रको जंगलमा अभ्यस्त बन्न थालेका छन् । चर्को घाममा निकुञ्जको लामितालमा दिनभरी आराम गर्ने उनीहरु साँझ परेपछि नजिकैको हरियो घाँसमा चर्ने गर्दछन्,’ निकुञ्जका सूचना अधिकारी तिवारीले भने ।

निकुञ्जका कर्मचारीले २०७६ पुस ५ गते नवलपुरको तमासपुरमा हिलोको दलदलमा भासिएको अवस्थामा एउटा र २०७७ मा गैंडा गणनाको क्रममा चैत १४ गते निकुञ्जको नवलपुर दिव्यपुरीको क्षेत्रमा अर्को गरी दुईवटा गैंडाका बच्चा आमाविहीन अवस्थामा फेला पारेका थिए ।

तमासपुरमा भेटिएको दुई महिनाको बच्चालाई पुष्पा र दिव्यपुरी क्षेत्रमा भेटिएको १ महिनाको बच्चालाई अञ्जली नाम राखिदिएको थियो । ती बच्चालाई निकुञ्जका कर्मचारीले तेल लगाउँदै र दूध खुवाउँदै हुर्काएका थिए । उनीहरुलाई संयुक्त रुपमा ‘पुष्पाञ्जली’ भनिन्थ्यो ।

सानो छँदा अञ्जलीलाई दूध खुवाउँदै राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी लालबहादुर महतारा

जंगलमा छाड्दा पुष्पा ३ वर्ष ५ महिना र अञ्जली २ वर्ष २ महिना भएका थिए । ती पोथी गैंडा वयस्क भएपछि उनीहरुलाई राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषभित्र जंगली भाले गैंडाहरु आउने सम्भावना भएपछि जंगलमा छाडिएको निकुञ्जले जनाएको छ ।

सौराहाबाट करिब १३ किलोमिटर टाढा लामिताल क्षेत्रमा छाडिएका पुष्पा र अञ्जली घुम्दै घुम्दै कहिले कसराको गोही प्रजनन् केन्द्रसम्म आउने र साँझ लामिताल क्षेत्रमा नै फर्किने गरेका छन् । ‘उनीहरु जहाँ गए पनि साँझ लामिताल क्षेत्रलाई नै आफ्नो घर सम्झेर फर्किने गरेका छन्,’ निकुञ्जका एक अधिकारीले भने ।

संरक्षित क्षेत्र अनुसन्धान कार्यविधि २०६९ अनुसार गठित प्राविधिक समितिको राय बमोजिम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको २०८० वैशाख ४ गतेको निर्णय अनुसार पुष्पा र अञ्जलीको नियमित अनुगमन, हेरचाह गर्न सकिने निकुञ्ज भित्रको गैंडाको प्राकृतिक बासस्थल भनेर उनीहरुलाई लामिताल क्षेत्रमा छाडिएको हो । यो क्षेत्रमा निकुञ्ज सुरक्षार्थ बसेको सेनाको पोष्ट र निकुञ्जका कर्मचारीहरुसमेत रहेका छन् ।

सानो छँदा पुष्पा

निकुञ्जको वन्यजन्तु उद्धार, स्याहार तथा प्रजनन् शाखालाई नियमित अनुगमनको जिम्मा लगाइएको छ । उनीहरुले पुष्पा र अञ्जलीका गतिविधिहरुलाई नियमित रुपमा नियालिरहेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । ‘पुष्पा र अञ्जली प्राकृतिक बासस्थानमा एडजष्ट हुँदै गएको आभाष हामीलाई पनि भएको छ, छाडेको करीव १५ दिन हुन लाग्यो,’ सूचना अधिकारी तिवारीले भने, ‘झट्ट हेर्दा उनीहरूको मुभमेन्ट, खानपान सबै देख्दा रमाएको नै देखिन्छ ।’

पुष्पाभन्दा अञ्जली अलि सानो भएकाले उसलाई विशेष ध्यान दिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहँदा मानिससँग नै बढी घुलमिल हुने गरेको लामिताल क्षेत्रमा सेना तथा कर्मचारी भएकै कारण उनीहरुले सो ठाउँ नछाडेको हुनसक्ने अनुमान छ ।

पछिल्लो गैंडा गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैंडा छन् । अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटामा १७ वटा मात्र गैंडा छन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?