+
+

विपना थापा भन्छिन्- फुर्सदिलो भएँ, अब निरन्तर फिल्म गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १३:५०

काठमाडौं । एक अवार्ड समारोहका लागि बिहीबार काठमाडौं आइपुगेकी अभिनेत्री विपना थापाले अब निरन्तर फिल्ममा काम गर्ने बताएकी छन् । विमानस्थलमा सञ्चारकर्मीले उनलाई अभिनय योजनाबारे सोधेका थिए । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’सँगै १७ वर्षपछि उनी फिल्ममा पुनरागमन गर्दैछिन् ।

विमानस्थलमा उनले भनिन्, ‘अब छोरा ठूलो भइसकेको छ । यसैले म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ ।’ ह्रस्वदीर्घबाहेक अन्य केही फिल्मबाट समेत अफर आइरहेको बताउँदै उनले यसबारे निधो नभइसकेको जानकारी दिइन् ।

‘अन्य फिल्मबाट प्रस्ताव आइरहेको छ । सुहाउँदो भूमिका पाएँ भने अवश्य फिल्म गर्नेछु,’ उनले भनिन्, ‘ह्रस्वदीर्घ अगस्टदेखि सुटिङ हुँदैछ । अरु एक–दुईवटा फिल्मसँग कुरा भइराखेको छ । म्युजिक भिडियोबाट प्रस्ताव आयो भने त्यो पनि गर्छु ।’ छोरा पनि हुर्किसकेकाले आफू हिजाओज स्वतन्त्र भएको उनले बताइन् ।

‘अब फिल्ममा लगातार काम गर्ने हो । छोरा पनि ठूलो भइसकेको छ । अहिले म फ्रीजस्तै छु,’ उनले भनिन् । उनले माइती देशको प्रशंसा गर्दै पहिले एक वर्षको अन्तरालमा आउने गरे पनि अहिले भने केही महिनाकै अन्तरमा आउने गरेको सुनाइन् । कहिलेकाहीं त्यही सबथोक छाडेर नेपाल आऊँ कि जस्तो लाग्ने गरेको उनले सुनाइन् ।

विपनाले ८० र ९० को दशकमा झण्डै ७० फिल्ममा अभिनय गरेकी छन् । २०५१ सालको फिल्म ‘अपहरण’बाट अभिनय करिअर थालेकी विपनाको पछिल्लो रिलिज फिल्म ‘संघर्ष जिन्दगीको’ २०६७ सालमा रिलिज भएको थियो । घरजमपछि उनी भारतमा बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?