+
+

मदन भण्डारी कप बास्केटबलमा २२ टिम सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते १८:३४

१३ जेठ, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै पुरुषतर्फ १६ र महिलातर्फ ६ टिमको सहभागिता हुने जानकारी गराएको हो । प्रतियोगिताको पुरुषतर्फको टाईसिट ड्र पनि सार्वजनिक गरिएको थियो ।

यसअघि पहिलो संस्करण यू-२३ स्तरमा आयोजना गरेको एकेडेमीले यस पटक महिला र पुरुष दुवैको खुला प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता यही जेठ १५ देखि २५ गतेसम्म कीर्तिपुरस्थित कभर्डहलमा आयोजना हुनेछ ।

पुरुषको नकआउटपछि राउण्ड रोविन, महिलाको सिधै राउण्ड रोविन

प्रतियोगितामा पुरुषतर्फ सुरुको दुई राउण्ड सिधै नकआउटका आधारमा खेलाइनेछ भने त्यसपछि राउण्ड रोविन लिगका आधारमा खेलहरु गराइने आयोजकले जनाएको छ । ट्राई सिट ड्र अनुसार पहिलो चरणमा सिफल र डाउनटाउन स्पोर्ट्स सेन्टर, कीर्तिपुर बास्केटबल टिम र शंकरदेव क्याम्पस, थापाथली इन्जिनियरिङ कलेज र मनास्लु वर्ल्ड कलेज तथा अक्सब्रिज इन्टरनेशनल कलेज र आर्मीबीच हुनेछ ।

यस्तै रोयल र गोल्डेनगेट इन्टरनेशनल कलेज, नखिपोट युथ क्लब र बुढानीलकण्ठ बास्केटबल क्लब, ड्रिम टिम र टाइम्स इन्टरनेसनल क्लब तथा बज्र कलेज र जेभिएर इन्टरनेशलन बलेजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणको खेलबीच दोस्रो चरणमा विजेताहरुबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट छानिएका उत्कृष्ट चार टिमहरु राउण्ड रोविन लिगमा प्रवेश गर्नेछन् ।

राउण्ड रोविन लिगका ६ टिमबीच प्रतिस्पर्धा गराउने लक्ष्य भएपनि दुई टिम नआउने भएपछि नकआउट चरणबाटै बाहिरिएकामध्ये प्राविधिक र अनुशासनको पक्ष हेरेर एक उत्कृष्ट टिमलाई राउण्ड रोविन लिगमा छनोट गरी ५ टिमबीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

महिलातर्फ भने सहभागी टिमबीच सिधै राउण्ड रोविन प्रणालीमा खेल खेलाइनेछ । महिलातर्फ राउण्ड रोविन जेठ १९ गतेबाट सुरु हुनेछ भने पुरुषको राउण्ड रोविन जेठ २१ गतेबाट सुरु हुनेछ ।

महिलातर्फ ललितपुर हाई, आयोजक मदन भण्डारी स्पोर्ट एकेडेमी, कीर्तिपुर बास्केटबल टिम, बुढानीलकण्ड बास्केटबल क्लब, धरान बास्केटबल एकेडेमी र रोयल छन् । कीर्तिपुर, बुढानिलकण्ठ र रोयलले महिला र पुरुष दुवै विधामा प्रतिस्पर्धा गर्दैछ ।

महिला र पुरुषतर्फ दुवैमा राउण्ड रोविन लिगका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । उपाधि विजेता महिला र पुरुष दुवै टिमले समान १ लाख ५० हजार नगर पुरस्कार पाउनेछन् भने उपविजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् ।

यस्तै मोस्ट भ्यालुएबल प्लेअर र हरेक खेलको प्लेअर अफ दि म्याचहरुलाई पनि नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता विदेशी खेलाडीहरु पनि राख्न पाइनेछ । सहभागी टिमले खर्च बेहोर्ने गरी एक टिमले जति पनि विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ । बंगलादेशको नेभी टिमसमेत आउने तयारी भएपनि प्रतियोगिताको समय तालिका परिवर्तन हुँदा उनीहरु नआउने भएको हो ।

प्रतियोगितामा पोखरा, बुटवल र धरानको टिमलाई बोलाएपनि धरानबाट महिला टिममात्र सहभागी हुने भएको छ । बाहिरको टिमलाई प्रतियोगिताको लागि एकमुष्ट रकम उपलब्ध गराउने र टिम आफैंले व्यस्थापन गर्नुपर्ने आयोजकले जनाएको छ ।

खेलाडीहरु उत्साहित

२०७८ पुषमा बास्केटबल संघले पुरुषको प्रेन्चाइज लिग घोषणा गरेको थियो । त्यही वर्ष फागुनमा संघका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको स्मृतिमा महिला र पुरुष बास्केटबल प्रतियोगिता गरेको थियो । तर त्यसपछि न फ्रेन्चाइज लिग भयो न त लामा टेण्डी स्मृति प्रतियोगिताले निरन्तरता पायो ।

यसबीचमा गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद मात्र भए । महिला टिमले साबा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । त्यसबाहेक राष्ट्रिय टिमका खेलाडीले अन्य प्रतियोगिता खेलेका छैनन् । जसले गर्दा खेलाडी पलायन हुने अवस्थासम्म आइसकेको छ ।

तर मदन भण्डारी कप बास्केटबल हुने भएपछि भने खेलाडीहरुमा फेरी आशा पलाएको छ । उनीहरु उत्साहित छन् । मदन भण्डारी कप खेल्न पाउने भएपछि अहिले सबै टिमका खेलाडीहरु तयारी गर्न थालेका छन् । ‘हाम्रो काम खेल्ने हो । प्रतियोगिता हुने भएपछि हामी सबै खेलाडीहरु खुशी छौँ । खेलाडीहरु उत्साहित भएका छन् ।’ शनिबार पत्रकार सम्मेलनमा उपस्थित राष्ट्रिय टिमकी कप्तान सदिना श्रेष्ठले भनिन् । उनको टिम ललितपुर हाईले पनि महिलातर्फ प्रतिस्पर्धा गर्दैछ ।

यस्तै यस्तो प्रतियोगिताले नयाँ खेलाडीहरुलाई पनि ढोका खोल्ने सदिनाले बताइन् । ‘यसले खेलाडीहरुलाई बुस्ट हुन्छ । अहिले कस्ता खेलाडीहरु छन् भन्ने नै थाहा छैन । यसबाट नयाँ खेलाडीहरु पनि आउनेछन् र आप्नो खेल देखाउन पाउनेछन् ।’

मदन भण्डारी स्पोर्टस एकेडेमीका बास्केटबल प्रमुख बिकु महर्जनले बास्केटबल प्रतियोगिताहरु न्युन भइरहेको अवस्थामा यस प्रतियोगिताले खेलाडीहरुलाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरे । ‘गत वर्ष यू-२३ स्तरमा हुँदा नै धेरै राम्रो भएको थियो । त्यसपछि हामी बास्केटबलमा लाग्नेहरुका लागि यो राम्रो प्रतियोगिता हो । यस पटक झन् खुल्ला स्तरमा हुँदैछ’, महर्जनले भने, ‘यसले खेलाडीहरुका लागि राम्रो प्यल्याटफर्म दिनेछ र उनीहरुले पनि आफ्नो स्किल देखाउन पाउनेछन् ।’

प्रतियोगिताको लागि २८ लाख अनुमानित बजेट रहेको महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?