+
+

सार्वजनिक स्थलमा डस्टबिन भेट्नै गाह्रो  

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० जेठ १४ गते १४:४९

काठमाडौं । अस्मिता कोइराला धुम्बाराहीस्थित स्वयंसेवी सहकारी बचत तथा ऋण संस्था लिमिटेडमा काम गर्छिन् । उनले फिल्डमा खटिएर पैसा उठाउन हिंड्न थालेको आठ महिना भयो । आठ महिनाको अवधिमा उनी पैसा संकलन गर्न धेरै ठाउँमा पुग्नुपर्छ । दिनभरि कामको सिलसिलामा बाहिर निस्कँदा कहिले तिर्खा लाग्छ, कहिले भोक । कहिलेकाहीं कामको व्यस्तताका कारण उनी होटलमा पसेर खाजा खान पनि च्याउँदिनन् । त्यसैले साथमा बिस्कुट तथा पानी बोकेर हिंड्छिन् ।

एक पटक कामकै सिलसिलामा अस्मिता वसन्तपुरतिर पुगिन् । एकदमै भोक लागेकाले एउटा बिस्कुट किनेर खाइन् । त्यो दिन उनले ठूलो ब्याग बोकेकी थिइनन्, त्यसैले बिस्कुटको खोल फाल्नको लागि डस्टबिन खोज्न थालिन् । वरपर कतै डस्टबिन देखिनन् । त्यो बिस्कुटको खोल हातमा बोकेर हिंड्न पनि उनलाई मन लागिरहेको थिएन । डस्टबिन खोज्दै जाने क्रममा उनले एक जना नगर प्रहरीलाई देखिन् र सोधिन्– सर यता कतै डस्टबिन छैन ? नगर प्रहरीले भने, ‘छैन नि त्यहाँ कतै कुनामा लगेर फालिदिनुस् न ।’ नगर प्रहरीको कुरा सुनेर उनलाई अचम्म लाग्यो तर उनले कुनामा त्यो खोल फाल्न सकिनन्, हातमै बोकेर गइन् र कार्यालयमा पुगेर डस्टबिनमा हालिन् ।

‘मलाई डस्टबिन छैन भन्दा पनि प्रहरीले त्यतै कुनामा फाल्दिनु भनेको सुन्दा अचम्म लाग्यो । त्यस्तो जिम्मेवार व्यक्तिले कतै पसल वरपर भेटिन्छ होला त्यतै फाल्नु भनेको भए हुन्थ्यो,’ अस्मिता भन्छिन् ।

त्यस्तै, भक्तपुरकी रजना त्वनाबासुको कथा पनि उस्तै छ । उनी किनमेलको लागि असन गएकी थिइन् । किनमेलकै क्रममा उनले एउटा आलु चिप्स किनेर खाइन् । चिप्सको खोल फाल्नको लागि वरपर डस्टबिन खोज्न थालिन्, तर भेटिएन । उनलाई त्यो आलु चिप्सको खोल बाटोमा जथाभावी फाल्न पनि मन लागेन, त्यसैले त्यसलाई खल्तीमा हालेर हिंडिन् र  बेलुका घरमा पुगेर डस्टबिनमा हालिन् ।

रजना भन्छिन्, ‘सार्वजनिक स्थल वरपर डस्टबिन राखिदिएको भए त सजिलो हुने थियो । दिनभरि खानेकुराको प्याकेट खल्तीमा बोकेर हिंड्नुपर्ने थिएन ।’

सार्वजनिक ठाउँमा डस्टबिनको खाँचो नै देख्दैन महानगर

काठमाडौंको फोहोर व्यवस्थापन आम चासोको विषय हो । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकता पनि दिइरहेको छ तर पर्याप्त छैन । अझै पनि सडक किनारमा यत्रतत्र चाउचाउ, बिस्कुटको खोल भेटिन्छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर सार्वजनिक स्थानमा डस्टबिन राख्नेबारे महानगरले खास योजना नबनाएको स्वीकार्छन् । कति डस्टबिन कहाँ राखिएको छ भन्ने पनि यकिन तथ्यांक नभएको उनी बताउँछन् ।

‘काठमाडौंमा भएका सम्पदा वरपर डस्टबिन राख्नुपर्छ भनेर योजना चाहिं बनिरहेको छ तर राख्न बाँकी छ,’ उनी भन्छन्, ‘सार्वजनिक स्थलमा डस्टबिन छैन भने घरको डस्टबिनमा लगेर फाल्नुपर्‍यो, नागरिक पनि त जिम्मेवार हुनुपर्‍यो नि ।’

सफा वातावरण सबैको चाहना

काठमाडौं उपत्यकामा बाटोमा फोहोरको रूपमा सबैभन्दा धेरै भेटिने विभिन्न खाद्यपदार्थको प्लास्टिकको खोल हो । त्यसको व्यवस्थापनका लागि महानगरले सोच्नैपर्ने वातावरणविद् अनिल खत्री बताउँछन् ।

फोहोर व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग नगरिनु, फोहोर व्यवस्थापनमा समुदाय परिचालन नगर्नु, जथाभावी फोहोर फाल्नेलाई सजायको व्यवस्था नगर्नु र सार्वजनिक ठाउँहरूमा डस्टबिनको व्यवस्था नगर्दा फोहोर सधैं समस्याको रूपमा रहेको खत्री बताउँछन् ।

‘कुनै संघसंस्था तथा समुदायको जिम्मा लगाएर ठाउँठाउँमा डस्टबिन राखिदिने र  डस्टबिनमा फोहोर नफालेर जथाभावी फाल्नेलाई सजायको व्यवस्था गर्ने हो भने काठमाडौं सफा पनि हुन्छ र केही हदसम्म वातावरण प्रदूषण पनि कम हुन्छ,’ उनी भन्छन् ।

सार्वजनिक स्थलमा डस्टबिनको व्यवस्थासँगै सर्वसाधारणमा पनि जथाभावी फोहोर फाल्न हुँदैन, डस्टबिनमा नै फोहोर फालौं भन्ने सोच आउनु जरुरी छ । त्यसको लागि ठाउँठाउँमा जथाभावी फोहोर नफालौं भनेर लेखिएको सूचनापाटी राखियो भने डस्टबिनको प्रयोग राम्ररी  हुन्छ र सहर पनि सफा हुने खत्री बताउँछन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?