+
+

सेवा क्षेत्रका ६ सरकारी संस्थान नाफामा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते २२:२०

१४ जेठ, काठमाडौं । सरकारी लगानीका सेवाक्षेत्रका अधिकांश संस्थानहरु नाफामा देखिएका छन् । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवदेन २०८० अनुसार यस क्षेत्रका ९मध्ये ६ संस्थान नाफामा छन् भने तीन संस्थान मात्रै घाटामा सञ्चालनमा छन् ।

नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र नेपाल रेल्वे कम्पनी नोक्सानीमा रहेका कम्पनीहरु हुन् । प्रतिवेदनअनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ५ करोड ३७ लाख नाफामा छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी ८ करोड ५३ लाख रुपैयाँ नाफामा रहँदा नेपाल नागरिक उड्यन प्राधिकरण १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ नाफामा छ ।

यस्तै नेपाल पूर्वाधार निर्माण कम्पनी ३८ लाख रुपैयाँ नाफामा छ भने साझा यातायात २२ करोड ५३ लाख रुपैयाँ नाफामा छ । यस्तै विशाल बजार कम्पनी १२ करोड ९ लाख रुपैयाँ नाफामा छ ।

सेवा क्षेत्रका ९ संस्थानमा कुल प्रशासनिक खर्च ०७७/७८ मा ५ अर्ब ७४ करोड ६३ लाख रहेकामा ०७८/७९ मा १०.८६ प्रतशितले वृद्धि भएर ६ अर्ब ३७ करोड ४ लाख पुगेको छ । सेवा क्षेत्रको समग्र खुद नोक्सानी ९७.८८ प्रतिशतले कमी भई ५ करोड ३० लाखमा झरेको छ ।

सेवा क्षेत्रको सबैभन्दा धेरै नोक्सानी रहेको नेपाल वायुसेवा निगमको खुद नोक्सानी ०७७/७८ को तुलनामा ५३ प्रतिशतले कमी आउनु र नेपाल नागरिक उड्डयन प्राधिकरणको नाफा ७८.५ प्रतिशतले बृद्धि हुँदा समग्रमा यस क्षेत्रको खुद नोक्सानीमा सुधार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

समग्रमा सेवा क्षेत्र २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ सञ्चालन नाफामा रहँदा खुद नोक्सानी भने ५ करोड ३० लाखमा सीमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?