+
+
उमाको पीडा :

मनोजले भनेको परिवर्तन आयो, तर मनोज आएन

सैनिकले मनोज लगेपछि उग्रनारायणको परिवारको खुशी पनि खोसियो, लगभग परिवार विघटन भयो । ‘मनोज त्यसबेला ३६ वर्ष पुगेको थियो । सैनिकले लगेपछि फर्केर आएन’ ७५ वर्षीया आमा उमा भन्छिन्, ‘लास नदेखेसम्म मरेको भनेर कसरी मान्ने ?’ अझै पनि आमा उमालाई मनोज घर आइहाल्छ कि जस्तो लागिरहन्छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० जेठ १५ गते १४:४८

जनकपुरधाम, १५ जेठ । २० वर्षअघि, जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकका उग्रनारायण दत्तको परिवारमा खुसी नै थियो । उग्रनारायण, जनकपुरकै जानकी माविमा पढाउँथे । शिक्षकको जागिरले दुई छोरा र एक छोरी लगभग हुर्काइसकेका थिए ।

शिक्षक परिवारमा हुर्किएकाले जेठो छोरा मनोजमा राजनीतिक चेतना अरू भन्दा धेरै देखियो । परिवारका सदस्यहरूसँग मनोज बेलाबेला अब अन्याय विरुद्ध लड्ने हो भन्थे । भित्रभित्रै भने मनोज सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादीमा सामेल भइसकेका रहेछन् । उनी पार्टीको काम भन्दै बाहिर–बाहिरै हिंड्न थाले ।

२५ असोज २०६० को बिहान, छोरी चेतनालाई भेट्न भन्दै मनोज घर आएका थिए । ‘म धेरै बाँच्न सक्दिनँ होला, मारिन्छु । एकपटक छोरीको मुख हेर्न आएको हुँ भन्नुभयो’ मनोजकी पत्नी अञ्जुले त्यसबेलाका घटना सम्झिन्, ‘त्यही बेलै सेनाले घर घेरिहाल्यो ।’

अञ्जुका अनुसार, पहिला सिभिल पोशाकमा सेना आएको थियो । ती सैनिकलाई मनोजले म अरू नै भएको जवाफ दिए । तर मनोजको गोजीबाट केही कागजात फेला पर्‍यो । ‘गोजीमा कमरेड लेखिएको केही कागजात भेटियो ।

तुरन्तै धेरै सेना आइपुग्यो’ अञ्जु भन्छिन्, ‘म र आमालाई कुटपिट गरी कोठामा थुन्यो । सिलौटामाथि राखेको लोहोरा (ढुंगा) ले उहाँ (मनोज) लाई हान्यो ।’ गम्भीर घाइते मनोजलाई सेनाले घिसारेर लगिरहेको छिमेकका अरूले देखेका थिए ।

त्यसदिन सैनिकले मनोज लगेपछि उग्रनारायणको परिवारको खुशी पनि खोसियो, लगभग परिवार विघटन भयो । ‘मनोज त्यसबेला ३६ वर्ष पुगेको थियो । सैनिकले लगेपछि फर्केर आएन’ ७५ वर्षीया आमा उमा भन्छिन्, ‘लास नदेखेसम्म मरेको भनेर कसरी मान्ने ?’ अझै पनि आमा उमालाई मनोज घर आइहाल्छ कि जस्तो लागिरहन्छ ।

मनोजको खोजखबर गर्न उग्रनारायण धेरैतिर भौंतारिएका थिए । तर तीन वर्षपछि भिडन्तमा परेर मनोज मारिए भन्ने समाचार एक पत्रिकामा आयो । यो खबरले थप स्तब्ध भएका उग्रनारायणको २०६३ सालमा निधन भयो ।

यता बिहार मधुवनीमा बिहे गरेर गएकी मनोजकी बहिनी संगीतालाई पतिले छोडे । ‘माओवादीको बहिनी भनेर ज्वाइँले संगीतालाई छोड्यो’, उमा भन्छिन् । पति उग्रनारायणको मृत्यु, छोरा मनोज बेपत्ता र ज्वाइँले संगीतालाई छोडेपछि उमाको भरोसा कान्छा छोरा मुकेशसँग थियो ।

तर २०६७ को छठ पर्वका दिन, मुकेशको जनकपुरमै हत्या भयो । परिवारमा अर्को बज्रपात पर्‍यो । परिवार पुरुषविहीन बन्यो । यी सबै दुर्घटनाको कारण विद्रोहमा जाने मनोजको निर्णय थियो ।

‘प्रचण्डको तस्वीर उसले पूजा गर्थ्यो। परिवर्तन ल्याउने भन्थ्यो । तर हामीले के पायौं ?’ उमा भन्छिन्, ‘अहिले उनीहरू सुखसयलमा छन्, हामीलाई कसैले सोध्दैन ।’

भत्किएको परिवार

राम्रै परिवारका मनोज स्थानीय नेताहरूको प्रभावमा परेर माओवादीमा लागेका थिए । माओवादीले व्यवस्था परिवर्तन र विभेद अन्त्यको कुरा गर्थ्यो। ‘म शहीद भए पनि देशमा परिवर्तन आउँछ, मेरो नाम चल्छ भन्थ्यो (मनोजले) । किताबमै मेरो नाम आउँछ नि पनि भन्थ्यो’, उमा सम्झिन्छिन् । नभन्दै, देशमा मनोजले भने जस्तै परिवर्तन भयो।

तर मनोजको परिवार भने बितेको २० वर्षदेखि पीडा, अभाव र कष्टले चल्दै आएको छ । अहिले यो परिवार उमाको वृद्धभत्ता र बुहारी अञ्जुको जागिरले चलिरहेको छ । अञ्जु ससुरा उग्रनारायणले पढाउने जानकी माविकी कार्यालय सहयोगी छन् ।

करारमा कार्यालय सहयोगी बनेकी अञ्जुले पहिले मासिक ३ हजार पाउँथिन् । अहिले १५ हजार पुगेको छ । तर यति पैसाले परिवार चल्न सजिलो छैन । सेवा अवधि नपुगेको भनेर उग्रनारायणको पेन्सन आउँदैन ।

अहिले मनोजकी छोरी चेतना २२ वर्षकी भइन् । बलियो आर्थिक स्रोत नभएकाले चेतनाको पढाइप्रति हजुरआमा उमा र आमा अञ्जु चिन्तित छन् । तीन वर्षअघि जनकपुरको मोडेल कलेजबाट १२ कक्षा उत्तीर्ण गरेकी चेतना विराटनगरमा बीबीए पढ्दैछिन् ।

तर चेतनाले पढाइमा पूरा समय दिन सकिरहेकी छैनन् । ६ महिनादेखि उनी जनकपुरस्थित घरमै छिन् । खर्च जुटाउन एउटा एनजिओमा चेतनाले काम पनि गरिन् । तर अहिले त्यो काम पनि छोडेकी छन् ।

राजनीतिक परिवर्तनबाट नेतृत्वमा पुगेकाहरूले शहीदको योगदान बिर्सिएको चेतना बताउँछिन् । ‘व्यवस्था परिवर्तनमा योगदान दिएकाहरूको सम्मान हुनुपर्छ । परिवार, बालबच्चाको रेखदेख गर्नुपर्छ’ चेतना भन्छिन्, ‘पिछडिएका, असहाय र विपन्नलाई हेर्नुपर्छ । अनि मात्र गणतन्त्रणको अनुभूति हुन्छ ।’ उनको व्यक्तिगत अपेक्षा भने पढाइमा सरकारले छात्रवृत्ति दिए हुन्थ्यो भन्ने छ ।

तर मनोजहरू बेपत्ता हुनुपर्ने आन्दोलनको नेतृत्व गर्ने नेताहरूले उपेक्षा गरेको यो परिवारको दुःखेसो छ । मातृकाप्रसाद यादव मनोजको घरमै पुगेर चेतनालाई छात्रवृत्ति मिलाइदिने बताएका थिए । तर यादवले आफ्नो बचन पूरा गरेनन् ।

सरकारले यो परिवारलाई दिएको भनेको शहीदको नाममा १० लाख मात्र हो । त्यसबाहेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीदको सूचीमा मनोजको नाम राखेको यो परिवारले सुनेको छ ।

‘अहिले म आफैं बिरामी छु । जेनतेन यहाँसम्म परिवार सम्हालें’ अञ्जु भन्छिन्, ‘मेरो आउने थोरै तलब र सासूआमाको वृद्धभत्ताले परिवार चलाइरहेकी छु । छोरीलाई कसरी पढाउने, बिहे गराइदिने !’ तर अञ्जु अझै पनि मनोज कुनै दिन घर फर्कन्छन् भन्ने आशमा छिन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?