+
+

सेयर र जग्गा कारोबारमा पूँजीगत लाभकर नै अन्तिम कर नहुने, ३ वर्षको कर तिर्नेलाई ५० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २२:५०

१५ जेठ, काठमाडौं । सेयर तथा घरजग्गाको कारोबार प्राकृतिक व्यक्तिले व्यावसायिक कारोबार गर्दा पूँजीगत लाभकर नै अन्तिम कर नहुने भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक २०८० मा पूँजीगत लाभकर नै अन्तिम कर नहुने गरी करयोग्य आयमा आयकर तिर्नेलाई छुट दिने घोषणा गरेको छ ।

प्राकृतिक व्यक्तिले व्यावसायिक धितोपत्र र घरजग्गाको कारोबारको आय विवरण र कर दाखिला नगरेको भए आर्थिक वर्ष ०७६/७७ देखि आव ०७८/७९ सम्मको ५० प्रतिशत कर दाखिला गर्नलाई बाँकी ५० प्रतिशत कर छुट दिने घोषणा सरकारले गरेको छ । यस्तै आर्थिक वर्ष ०७६/७७ भन्दा बढीको कर शुल्क तथा ब्याज छुट दिनेसमेत सरकारले घोषणा गरेको छ ।

अब घरजग्गा तथा धितोपत्रको व्यवसायिक कारोबार गर्नेले आय विवरण खुलाएर सम्पूर्ण खर्च कटौती गरी आय विवरण पेश गर्दा करयोग्य आयको कर तिर्नुपर्ने र त्यसमा लाभकर समायोजन हुने आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । ‘व्यावसायिक व्यक्तिले धितोपत्र तथा जग्गाको कारोबार गर्दा नाफा भए लाभकर तिर्नुपर्छ । तर, उसको वर्षभरिको कारोबार भने घाटामा पनि हुनसक्छ,’ उनले भने, ‘कारोबारमा घाटा भएको रहेछ तर करयोग्य आयभन्दा बढी लाभकर तिरेको रहेछ भने त्यस्तो कर रकम फिर्ता दाबी वा अर्को वर्ष मिलान गर्नसक्छ ।’

यसरी आय विवरण दाखिला गर्दा व्यावसायिक कारोबार गर्नेले ऋणको ब्याज वा अन्य खर्च छ भने त्यसलाई खर्च दाबी गरेर करयोग्य आय गणना हुने उनले बताए । एउटै वर्षमा नाफा हुँदा कर तिर्नुपर्ने र अर्को कारोबारमा घाटा हुँदा केही नपाउने अवस्थामा अब वर्षभरिको कुल करयोग्य आय निकालेर त्यसको कर तिर्न व्यवस्था भएको विभागका महानिर्देशक मैनाली बताउँछन् । यसले लगानीकर्तालाई घाटा समग्र कारोबार घाटा भए पनि कर तिर्नुपर्ने अहिलेको विद्यमान व्यवस्थाको अन्त्य गर्ने उनले बताए । सुरुमा पूँजीगत लाभकर लिए पनि प्राकृतिक व्यक्तिले वर्षभरिको आय र खर्चको विवरणसहित करयोग्य आय दाबी गर्दा उसले तिरेको पूँजीगत लाभकरले नपुग्ने अवस्थामा मात्रै थप कर तिर्नुपर्ने उनले बताए ।

‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ’ अर्थमन्त्री महतले संसदमा प्रस्तुत आर्थिक विधेयक २०८० मा भनिएको छ ।

यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुने विधेयकमा उल्लेख छ । सरकारले प्राकृतिक व्यक्तिले सेयर र जग्गाको कारोबारमा विवरण पेश गरी कर तिर्न भने पनि नियमित कारोबार कसलाई भन्ने स्पष्ट देखिँदैन । हाल सेयर ट्रेडर र लगानीकर्ता भनेर लाभकरमा पनि दुई वटा दर छ । ३६५ दिन भन्दा कम अवधि सेयर होल्ड गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत र ३६५ दिन भन्दा बढी सेयर होल्ड गर्ने लगानीकर्तालाई ५ प्रतिशत लाभकरको व्यवस्था छ ।

सेयर लगानीकर्ताले पूँजीगत लाभकरलाई नै अन्तिम कर हुने घोषणा हुनुपर्ने भन्दै सरकार समक्ष लबिइङ गर्दै आएका थिए । तर, सरकारले भने प्राकृतिक व्यक्तिले व्यावसायिक रुपमा गरेको घरजग्गा तथा सेयरको कारोबारबाट प्राप्त करयोग्य आय दाखिला गर्नेलाई विगत ३ आर्थिक वर्षको ५० प्रतिशत कर तिर सोही अवधिको ५० प्रतिशत र त्यस अगाडिको सम्पूर्ण कर छुट दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?