+
+

जापान बसेर नेपाली बेसबल प्रचार गर्दै पूर्वकप्तान ईश्वर थापा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० जेठ १६ गते ७:३०

१६ जेठ, काठमाडौं । नेपालमा पनि बेसबल खेल खेलिन्छ भनेर धेरै कमलाई जानकारी छ ।
तर खेल्नेमात्र होइन नेपालले बेसबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउन थालेको दशकभन्दा बढी भइरहेको छ ।

अमेरिकाको राष्ट्रिय खेलको रुपमा रहेको बेसबल नेपालमा सुरुआत भएको २० वर्षभन्दा धेरै भएको छ ।

बेसबल सन् १९९० दशकको अन्त्यतिर नेपाल भित्रिएको हो । सन् २०१० पछि अन्तर्राष्ट्रिय नेपालले स्तरमा खेल्न थालेको हो । नेपाल टिमको पहिलो कप्तान हुन् ईश्वर थापा ।

उनले झण्डै एक दशक अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाल टिमको नेतृत्व गरे । नेपालमा हुँदै जापानमा गएर खेलेका उनी नेपालकै पहिलो पहिलो बेसबल खेलाडीसमेत हुन् । हाल जापानलाई नै कर्मभूमि बनाएका थापाले बेसबल भने छाडेका छैनन् । उनी अझै खेलाडीका रुपमा सक्रिय छन् । बेसबलको प्रशिक्षकसमेत छन् । बेसबलसम्बन्धी एउटा संस्था चलाइरहेका छन् ।

ईश्वरको बेसबल करियर

पोखरा फूलबारी चोकका ३४ वर्षीय थापाले सन् २००० देखि नै बेसबल खेल्न थालेका हुन् । राष्ट्रिय प्रतियोगिता हुँदै उनी नेपालको राष्ट्रिय टिमसम्म पुगे ।

जापानको टोली नेपाल घुम्न आएका बेला थापाले पनि बेसबलको ब्याट समात्न सिकेकाका हुन् । ‘सुरुमा म फुटबल र भलिबल खेल्थें । तर, जापानीहरु आएर पोखरामै खेलेको देखेपछि म पनि यसै खेलमा लागेको हो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने ।

सन् २०११ मा पाकिस्तानको लाहोरमा पहिलो दक्षिण एसियाली बेसबल कप आयोजना भएको थियो । त्यसबाट नेपालको अन्तर्राष्ट्रिय बेसबल यात्रा सुरु भएको हो । थापाले सोही टिमको नेतृत्व गरेका थिए ।

अर्को वर्ष २०१२ मा नेपाले पञ्जाव इन्टरनेशनल स्पोर्टस फेस्टिभलमा सहभागिता जनाएको थियो । ईश्वरकै कप्तानीमा नेपालले बीएफए वेस्ट एसिया कप बेसबल कपको दुई संस्करण खेल्यो । 

नेपालले २०१५ मा इस्लामावादमा भएको १२औं बीएफए वेस्ट एसिया बेसबल कप खेल्यो । सन् २०१७ मा इस्लामावादमै भएको १३औं बीएफए वेस्ट एसिया बेसबल कपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । नेपालले समूह चरणमा इराकलाई पारजित गर्दै सेमिफाइनल पुगेको थियो । तर सेमिफाइनलमा श्रीलंका र तेस्रो स्थानको लागि भएको खेलमा इरानसँग पराजित भयो ।

राष्ट्रिय टिमबाट खेल्नुअघि नै थापा बेसबल खेल्न कै लागि सन् २००९ मा जापान गएका थिए । जहाँ उनले दुई प्रोफेसनल क्लबबाट खेले । ‘सुरुमा २०१० मा एक वर्ष ओसाका हवक्स डि्रममा अनुबन्ध भएँ । त्यसपछि जिरो सिक्स ९०६० बुल्सबाट दुई सिजन खेलेँ,’ थापाले भने । जापानमा खेलेपछि उनी नेपालको पहिलो प्रोफेसनल बेसबल खेलाडी बनेका हुन् ।

ईश्वरले नेपालको लागि पाँच अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । जसमा चार प्रतियोगिता पाकिस्तान र एक श्रीलंकामा गएर खेलेको उनले बताए । पछिल्लो पटक उनले सन् २०१९ मा बीएफए वेस्ट एसिया बेसबल कप खेलेका थिए । जापानमा रहेका उनी त्यसबेला उतैबाट श्रीलंका गएर खेलेका हुन् ।

अहिले उनी जापानमा बच्चाहरुलाई बेसबल सिकाउने तथा नाइन फोर्स क्लबबाट बेसबल खेल्नेसमेत गर्छन् । ‘बेसबलमा लागेको धेरै समय भयो । आफूमा पाएको अनुभव र ज्ञान बाँड्दैछु । नेपाली बच्चाहरु जापान आएर खेल्दा उनीहरुलाई सहयोग पुग्छ,’ उनले थपे ।

भविष्यमा थापाले नेपालमै आएर बेसबलमा केही गर्ने योजनासमेत बनाएका छन् । ‘पछि नेपालमै आएर काम गर्न मन छ । नेपाललाई एसियन च्याम्पियनसिपमा पुर्‍याउन मन छ,’ श्रीमती र छोरासहित ओसाका बस्दै बएका उनले भने ।

नेपाली बेसबल विकासमा ‘निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालीगुराँस’को भूमिका

बेसबल विकासको लागि जापानमा ‘निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालीगुराँस’ नामक संस्थाले अग्रणी भूमिका निभाइरहेको छ ।

निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालीगुराँसका सदस्यहरु ।

थापा आफैं पनि यही संस्थाको माध्यमबाट जापान पुगेका थिए । सुरुमा उनले व्यवसायिक खेलाडीको रुपमा अनुभव बटुले । त्यसपछि खेल्दै बच्चाहरुलाई बेसबल सिकाउँदै गर्न थाले ।

हाल उनी यो संस्थाको अध्यक्ष हुन् । सन् १९९९ मा स्थापना भएको यो संस्थाले स्थापना कालदेखि नै नेपाललगायत विश्वका विभिन्न देशहरुमा बेसबलको विकास र विस्तारको निम्ति निरन्तर रुपमा महत्वपूर्ण भूमिका खेलिरहेको क्लबका हालका अध्यक्ष थापाले बताए । ‘हामीले नेपालबट पनि यू-१६ टिमलाई जापानमा बोलाएर प्रशिक्षण दिने र खेल खेलाउने गरेका थियौं,’ थापाले जापानबाट अनलाइनखबरसँग भने ।

यस संस्थाले नेपालको बेसबल विकासमा पनि सहयोग गर्दै आएको छ । भन्छन्, ‘नेपालबाट युवा खेलाडीलाई जापानमा बोलाएर प्रशिक्षक दिनेदेखि बेसबलका सामग्रीहरु नेपाल पठाउने काम पनि गरेका छौं ।’

विशेषगरी यस संस्थाले जापनमा रहेका नेपालीहरुलाई बेसबलको प्रशिक्षण दिँदै आएको छ । आगामी दिनमा भने जापानमा रहेका नेपालीहरुलाई पनि समेटेर बेसबल क्लब निर्माण गर्ने योजना रहको थापा बताउँछन् । त्यसैका लागि हाल बेसबल सम्बन्धी जानकारी र अभ्यासमूलक कार्यक्रमहरुको आयोजना गरिरहेको उनले जानकारी दिए । अब हरेक महिना निरन्तर रुपमा कार्यक्रमको आयोजना गरिने र इच्छुक जो कोहीले पनि सहभागिता जनाउन सकिने उनले बताए ।

नेपालको बेसबल विकासमा निरन्तर सहयोग गर्दै आएको ‘निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालीगुराँस’ले जापान र नेपालमा विभिन्न प्रतियोगिता र कार्यक्रमहरुमा सहभागिता जनाएको छ । यस संस्थामा अहिले ५० जना सदस्य छन् । संस्था सञ्चालनका लागि सदस्यहरुबाटै वार्षिक ६ हजार रकम उठाउने गरेको उनले बताए ।

क्रिकेट जस्तै बेसबल

ईश्वर थापा ।

बल र ब्याटको माध्यमले खेलिने बेसबल हेर्दा क्रिकेटजस्तै देखिए पनि नियम पूर्णतः फरक छ । प्रत्येक टिममा ९ जना खेलाडी रहने बेसबल सन् १८३९ ताका अमेरिकाबाट सुरु भएको इतिहास छ ।

सुरुवातमा अनौठो र अफ्ठ्यारो लागे पनि नियम बुझ्न सरल भएकोले हेर्न निकै नै रोचक लाग्ने यो खेल हाल विशेष गरी जापान, अमेरिका, अष्ट्रेलिया, मेक्सिको, चीन, ताइवान, कोरिया लगायतका देशहरुमा बढी लोकप्रिय छ ।

गत मार्चमा सम्पन्न वर्ल्ड बेसबल क्लासिक २०२३ मा अमेरिकालाई पराजित गर्दै जापानले प्रथम स्थान हासिल गरेको थियो । जापानको यो तेस्रो उपाधि हो । यसभन्दा अगाडि सन् २००६ र सन् २००९ मा पनि उपाधि जितेको जापानले सर्वाधिक ३ पकट वर्ल्ड बेसबल क्लासिक जित्ने कीर्तिमानसमेत बनाएको छ ।

नेपालमा बेसबलको विकास

सन् १९८० को दशकमा अमेरिकाबाट र्फकेका युवाहरुको समूहले नेपालमा बेसबलको परिचय गराएका थिए । तर, थोरै मात्र विकास भएको थियो । सन् १९९८ मा जापानको पुल गाइकुन युनिभर्सिटी र सर्कल लालिगुराँसले नेपालको पोखरामा बेसबल प्रमोसन क्याम्पेन सुरु गरेको थियो । उनीहरुले पोखराको स्कुलमा बेसबल सिकाउन थालेका थिए ।

अकामाचु हिरोआकीको नेतृत्वमा रहेका उनीहरुले बेसबल प्रचार समूह बनाएका थिए ।

सन् २००१ मा नेपालमा पहिलो पटक हाई स्कुलमा बेसबल प्रतियोगिता खेलिएको थियो भने सन् २००३ मा काठमाडौं युनिभर्सिटीमा बेसबल खेलिएको थियो । सन् २००५ मा पहिलो बेसबल टिम लालिगुराँस निर्माण भएको थियो ।

सन् २००९ मा नेपाल बेसबल एण्ड सफ्टबल फेडेरेसनको स्थापना भएपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सहभागिता जनाउन थाल्यो ।

नेपालले अहिलेसम्म चार पटक वेष्ट एसिया कप, एक पटक प्रेसिडेन्टल कप र एक पटक साउथ एसियन कपमा भाग लिएको संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए ।

अध्यक्ष न्यौपानेका अनुसार अहिले संघको ४३ जिल्ला संघ छ भने पाँच प्रदेशमा संघ छ । आउने असार २ र ३ गते संघको वार्षिक साधारण सभा हुँदैछ । त्यसअघि जुनियर राष्ट्रिय प्रतियोगिता हुने न्यौपानेले जानकारी दिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?