+
+

भक्तपुरका घरघरमा ढोका ढकढकाउन पुग्छन् नर्स

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० जेठ १६ गते १४:३७

काठमाडौं । सामान्यतया नर्स भेट्न अस्पताल पुग्नुपर्छ । हुन पनि हो नर्सको काम अस्पतालमै हुन्छ । कतिपय अस्पताल, त्यसमा पनि सरकारी अस्पतालमा त नर्सको काम परेको खण्डमा बोलाउन नै जानुपर्ने अवस्था छ ।

तर भक्तपुर नगरपालिकामा फरक भिन्न छ । नगरक्षेत्रका घरमा नर्सहरु बिहानै ढोका ढकढकाउन पुग्छन् । वडैपिच्छेका घरमा पुगेर स्वास्थ्य अवस्था कस्तो छ ? भनेर बुझ्छन् । जाँचेर स्वास्थ्यका केही समस्या भएमा आवश्यक सुझाव र औषधिसमेत दिन्छन् । नगरपालिकाको यो कार्यले दिनभर घरमै बस्ने अशक्त र वृद्धवृद्धालाई ठूलो राहत मिलेको छ ।

घरमै नर्स आएर जाँच्दा आफ्नो स्वास्थ्यमा सुधार आएको महसुस गरेकी छिन्, भक्तपुर–२ का ७४ वर्षीया दिलमाया तुकंबजार । ‘पहिले औषधि कहिले खाने, इनहिल्लरको प्रयोग कसरी गर्ने केही थाहा थिएन,’ तुकंबञ्जार भन्छिन्, ‘तर घरमा नर्स छोरीहरु आउने गरेपछि कुन औषधि कतिबेला खाने र इन्हेल्लर कसरी गर्ने तरिका जानिसकेको छु ।’

अहिले कसैलाई नसोधी आफैं औषधि खान सक्ने भएको उनी सुनाउँछिन् ।

कस्तो सेवा प्रदान गरिन्छ ?

वडा घरघरमा पुगेर रक्तचाप, सुगर, मधुमेह, गर्भवती जाँच, ड्रेसिङ, बच्चाहरुको स्वास्थ्य परीक्षण, ज्वरो जाँच, थेरापीलगायत सेवा प्रदान गर्दै आएको नर्स रजनी जरेजु बताउँछिन् ।

यस्तै थाइराइड, मधुमेह, उच्च रक्तचाप, दम, क्यान्सर, प्यारालासिसका बिरामीलाई उनीहरुको आवश्यकताअनुसार हप्ता, महिना वा दुई महिनाको एकचोटि फलोअप जाँच गर्दै आएको नर्स जरेलु बताउँछिन् ।

जाँच गर्दा कुनै औषधि दिनु परे सरकारले निःशुल्क उपलब्ध गराउने सिटामोल र स्वास्थ्य बीमा अन्तर्गत पर्ने औषधि प्रदान गर्ने उनी बताउँछिन् । ‘अशक्त ज्येष्ठ नागरिकलाई मधुमेहको बिरामी भए इन्सुलेसन दिने, रगतको नमुना संकलन गर्ने, थेरापी सिकाउने लगायत काम सेवा प्रदान गरेका छौं,’ उनी भन्छिन्, ‘सिकिस्त बिरामी भएमा रिफर गरिदिने पनि गर्छौं ।’

भक्तपुर नगरपालिकाको घरदैलो नर्सिङ अधिकृत रचना सुवाल भक्तपुरका १० वटै वडामा कार्यक्रम सञ्चालन गरिएको र एक वडा एक नर्स उपलब्ध गराइरहेको बताउँछिन् । यो सेवा बिहान ७ बजेदेखि साढे ९ बजेसम्म घरघरमा पुगेर प्रदान गरिन्छ ।

‘त्यसपछि १० बजेदेखि दिउँसो दुई बजेसम्म वडा कार्यालयमा बसेर वडाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्छौं,’ सुवाल भन्छिन् । त्यसबीचमा पनि घरमा कुनै आकस्मिक स्वास्थ्य सेवा आवश्यक परे प्रदान गर्ने उनी बताउँछिन् ।

घरदैलोमा जाँदा समुदायमा कस्तो खालको समस्या बढी देखिएको छ, त्यसअनुसार शिविर पनि गर्दै आएको सुवाल बताउँछिन् । जाडोयाममा दमको समस्या धेरै देखिएपछि दमसम्बन्धी शिविर सञ्चालन गरिएको थियो ।

नेपालमै पहिलोपटक भक्तपुर नगरपालिकाले २०७४ भदौबाट घरघरमा नर्सिङ सेवा सुरु गरेको हो ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?