+
+

बलिउडमा मोदी बाहुबल, सिनेमामा पनि हिन्दु राष्ट्रवाद प्रवर्द्धनको दबाब

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते २०:२१

१६ जेठ, काठमाडौं । भारतीय जनता पार्टीले सिनेमाबाट पनि हिन्दु राष्ट्रवाद प्रवर्द्धनमा जोड दिइरहेको छ । मुस्लिम समुदायप्रति असहिष्णु सिनेमा द कश्मिर फाइल्सका पोस्टर टाँस्न भाजपाकै कार्यकर्ता खटिएका दृष्टान्तदेखि ‘द केरला स्टोरी’बारे मोदी स्वयंको जबर्जस्त बचाउ त्यसका दृष्टान्त हुन् ।

द केरला स्टोरी केरलामा हिन्दु अतिवादीहरूले निर्माण गरेको भाष्य लभ जिहादमा केन्द्रित थियो । त्यस चलचित्रमा ३२ हजार मुस्लिमलाई प्रेमको जालमा पारेर मुस्लिम बनाइएको देखाइएको छ । चलचित्रको विषयवस्तुप्रति अदालतमा मुद्दासमेत परेको थियो । मुद्दाको फैसला हुँदा तथ्य उजागर भयो केरलामा जम्मा ३ जना महिलाले विवाहपछि धर्म परिवर्तन गरेका थिए र उनीहरूको सशस्त्र संगठन आईएसआईएससँग कुनै साइनो सम्बन्ध थिएन ।

मुस्लिम समुदायप्रति घृणा फैलाउने गरी चलचित्र निर्माण भएपछि भारतीय कंग्रेसले त्यसलाई प्रतिबन्ध लगाउन माग गर्‍यो । तर प्रधानमन्त्री नरेन्द्र मोदीले कंग्रेसको यस माग विरूद्ध राजनीतिक आक्रमण गरे । कर्नाटकको चुनावी सभामा मोदीले भनिदिए- ‘कंग्रेसले आतंकवादलाई पनि चुनावी ढाल बनाएको छ । आतंकवादको असरमा बनेको चलचित्र प्रदर्शन रोकको माग गर्दै कंग्रेस आतंकवादको पक्षमा उभिएको छ।’

अदालतको फैसलापछि फिल्मका निर्देशक सुदिप्तो सेनले समेत अफवाह फैलाउनु त्रुटि भएको स्वीकार गर्दासम्म मोदीले चलचित्रको विषयवस्तु सत्य रहेको भन्दै भाषणवाजी गरिरहे । त्यसअघि आएको चलचित्र कश्मिर फाइल्समा पनि मुस्लिमहरूले हिन्दुलाई ज्यादती गरेको विषय थियो । त्यस चलचित्रको प्रशंसामा मोदीले भनिदिए, ‘ज्यादतीका सत्य-तथ्य समाजमा देखाइनुपर्छ । यस चलचित्र यसमा मानेमा धेरै राम्रो छ ।’

यो चलचित्रको पोस्टर टाँस्न भाजपाका कार्यकर्तानै खटिएका थिए । पार्टीको हिन्दुत्वको सिद्धान्तमा चलचित्र बन्दा प्रचार-प्रसारमा भाजपाका समर्थक जसरी खटिन्छन्, हिन्दुत्वको उसको सिद्धान्तमा थोरै मात्रामा प्रहार भएको आभास भए उसैगरी विरोधमा उत्रिन्छन् ।

आमिर खानको लालसिंह चड्डादेखि, शाहरूख खानको पठान, बम्बइ बेगम हिन्दु अतिवादीहरूको आक्रमणमा परे । यी मात्रै होइनन् हिन्दु अतिवादीहरूले पदमावत्, रामलीला, बाजिराव मस्तानीविरूद्ध प्रदर्शन गरे ।

उनीहरूले यी चलचित्रलाई बहिष्कार गर्नुपर्ने अभियान चलाए । आमिरको चलचित्र बहिष्कार गर्नुपर्ने कारण उनले एक अन्तर्वार्तामा भनेको वाक्यांशमा आधारित थियो । उनले भारत निकै अहिष्णु भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चलचित्र बहिस्कार अभियान चलेको थियो ।

दीपिका पादुकोणले गेरू रंगको वस्त्र लगाएर नाचेपछि त्यसले हिन्दु भावनामा चोट पुर्‍याएको भन्दै भाजपाले बहिष्कार अभियान चलाएको थियो । बम्बई बेगम चलचित्रमा मुस्लिम पुरूषले हिन्दु महिलालाई चुम्बन गरेको दृश्य समावेश थियो । त्यसमा समेत भाजपा आक्रोशित बन्यो । भाजपा समर्थकले नेटफ्लिक्स इन्डियालाई कारबाहीको माग गर्दै चलचित्र बहिस्कारको अभियान चलाए ।

बलिउड हिन्दु अतिवादीहरूको आक्रमणमा पर्न थालेपछि कलाकार चिन्तित छन् । उनीहरूले भाजपाका नेताहरूलाई नै भेटेर चलचित्रमा राजनीति नगर्न अनुरोध गरेका छन् । पछिल्लो समय सुनिल सेठ्ठीले योगी आदित्यनाथलाई भेट गर्दै भनेका छन्,’बलिउडमाथि अहिले आक्रमण भइरहेको छ तपाईंले केही बोलिदिनुभएमा यस्ता आक्रमणका श्रृंखला हुनेछैनन् । तपाईंले पहल गरिदिनुपर्‍यो ।’

बलिउडमा अहिले घृणा प्रोत्साहन गर्ने सामग्री समेट्न दबाब परेकाले यसलाई रोक्नुपर्ने माग सेठ्ठीले आदित्यनाथसँग गरेका थिए । यस्ता गतिविधिले गर्दा बलिउड उद्योग अहिले घाटा उन्मुख भएको चिन्ता उनले योगीसमक्ष प्रकट गरेका थिए । सेठ्ठीको आग्रहमा योगी केही बोलेनन् ।

बलिउडमा सत्ताको आक्रमण सन् २०१४ देखिनै हो । बलिउडका सुपरस्टारमा ३ वटै खान छन् । मुस्लिम कलाकारलाई भाजपा समर्थकले आक्रमण गरिरहेका छन् ।  सुनिल सेठ्ठी जसले योगीलाइ बलिउडमा आक्रमण बन्दको पहल गर्न आग्रह गरे, उनैले शाहरूख खानलाई आतंकवादी भनेका थिए । सन् २०१४ मा मोदी प्रधानमन्त्री भएका थिए । त्यसको १ वर्षपछि खानले भारतमा बढ्दै गएको असिहष्णुताप्रति टिप्पणी गर्दै भनेका थिए, ‘यही स्थिति कायमै रहे हामी अन्धकारको युगमा फर्किनेछौँ ।’

त्यसपछि योगीले खानलाई मुम्बई हमलाको मास्टरमाइन्ड रहेको आरोप मात्रै लगाएनन्, बहुसंख्यक हिन्दुले उनको चलचित्र बहिस्कार गरे खान सडकमा आउने चेतावनी दिए ।

२ अर्ब ४० करोड डलर भन्दा बढीको बलिउड उद्योगले लाखौँलाई रोजगारी समेत दिएको छ । यो उद्योगमा अधिकांश मुस्लिम समुदायकै बाहुल्य छ । हिन्दु अतिवादीको निशानामा पर्न थालेपछि  स्टार मात्रै होइन कामदारहरू पनि चिन्तित छन् । बलिउडलाई यसरी दबावमा राख्दा फिल्म उद्योगलाई नै सरकारप्रति पूर्ण समर्थनका लागि बाध्य पार्न सकिने र हिन्दुत्वको एजेण्डालाई थप विस्तार गर्न सकिने भाजपाको  बुझाइ छ ।

भाजपाको यो बुझाइ र चाहानालाइ चुनौती दिँदै फिल्म निर्मातासमेत रहेका भारतीय पूर्व सांसद प्रितिश नाण्डीले भनेका छन्,’बलिहुड इन्दिरा गान्धीको संकटकालको सयमा बाच्यो । अन्डरवर्ल्डको कब्जाबाट जोगियो । धार्मिक दंगको समयमा सकुशल रह्यो । मोदी सरकारको यो आक्रमणबाट पनि बलिउड बाँच्नेछ। अधिनायकवादीहरू त्रास सिर्जना गरेर कब्जा जमाउन खोज्छन् । सांस्कृतिक एकता र विविधताको प्रतिक बलिउडले त्यसलाई प्रतिकार गर्ने सामर्थ्य पक्कै राख्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?