संसारभर प्रत्येक चार सेकेन्डमा, सुर्ती सेवनका कारण एक व्यक्तिको मृत्यु हुने गर्दछ। सुर्तीजन्य पदार्थको महामारी आज हामीले सामना गरिरहेको ठूला जनस्वास्थ्य जोखिमहरूमध्ये एक हो, जसका कारण बर्सेनि ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। त्यसमध्ये १२ लाख मानिसको मृत्यु अन्य व्यक्तिले गरेको धुम्रपानबाट निस्कने धुवाँका कारण हुने गर्दछ।
नसर्ने रोगहरूको एक प्रमुख कारकको रूपमा रहेको सुर्तीजन्य पदार्थको प्रयोगले हृदय रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, क्यान्सर र मधुमेह निम्त्याउन सक्छ। यसबाहेक, सुर्तीजन्य पदार्थको प्रयोगले निम्त्याउने रोगको उपचारमा लाग्ने ठूलो वित्तीय तथा आर्थिक भारका साथै, यसबाट हुने मृत्यु र अपाङ्गताका कारण मानव पूँजीमा पर्न जाने क्षति पनि उत्तिकै छ।
सुर्तीजन्य पदार्थले ज्यान जोखिममा पार्ने रोगहरू निम्त्याउनुका साथै यसका वित्तीय, आर्थिक र वातावरणीय प्रभावहरू हुँदा समेत सुर्तीजन्य पदार्थको प्रयोग व्याप्त छ। विश्वव्यापी रूपमा, अनुमानित १ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्छन्, तीमध्ये ८० प्रतिशत प्रयोगकर्ता कम र मध्यम आय भएका देशका छन्। र, ती देशहरूमा सुर्तीजन्य पदार्थका कारण लाग्ने रोगहरूको भार सबैभन्दा बढी छ।
नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट बर्सेनि २७ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालले सन् २०१९ मा गरेका सर्वेक्षणले नेपालमा प्रत्येक तीनमध्ये एक जनाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको देखाएको छ जसमा सुर्तीजन्य पदार्थको बढी सेवन गर्नेमा पुरुषहरू रहेको पाइएको छ। सर्वेक्षण अनुसार प्रत्येक दुईमध्ये एक जना पुरुषले सुर्तीजन्य पदार्थको सेवन गर्छन्।
अन्य व्यक्तिले गरेको धुम्रपानबाट निस्कने धुवाँको सम्पर्कमा आउनु पनि एक प्रमुख समस्याको रूपमा रहेको छ किनकि प्रत्येक तीनमध्ये एक जना व्यक्ति यसबाट प्रभावित छन्। सर्वेक्षणले अधिकांश सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरू किशोरावस्थामै यसको लतमा पर्ने गरेको पनि देखाएको छ।
विश्व स्वास्थ्य सम्मेलनमा २० वर्षअघि एक कानुनी रूपमा बाध्यकारी संयन्त्रको रूपमा पारित गरिएको विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोलको पक्ष राष्ट्रको रूपमा नेपाल सरकारले सुर्तीजन्य पदार्थको प्रयोग घटाउने उद्देश्यका साथ विभिन्न नीति ल्याएको छ।
जसमा सुर्तीजन्य पदार्थको प्रयोगमा अनुगमन, प्याकेजिङमा नियमन (नेपालले प्याकेजहरूमा ९० प्रतिशत भाग चेतावनीमूलक सन्देशले ढाक्नुपर्ने अनिवार्य गरेको छ); सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा प्रतिबन्ध र सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्धन र प्रायोजनमा प्रतिबन्ध लगायत उपाय समावेश छन्।
यी सबै पहलहरू राष्ट्रहरूलाई सुर्तीजन्य पदार्थ नियन्त्रणका प्रयासहरू कार्यान्वयन र व्यवस्थापन गर्न मद्दत गर्न विश्व स्वास्थ्य संगठनले जारी गरेको व्यावहारिक र किफायती उपायहरूको सँगालो ‘एमपावर’ प्याकेजिङ अनुरूप छन्।
दुर्भाग्यवश, विगत एक दशकमा नेपालले सुर्तीजन्य पदार्थको प्रयोगमा उल्लेख्य कमी ल्याउन सकेको छैन। जुन चिन्ताको विषय हो र सुर्तीजन्य पदार्थ नियन्त्रणका गतिविधिहरूको कार्यान्वयनका लागि तत्काल कदम चाल्नुपर्ने संकेत पनि हो, विशेषगरी: उत्पादन, प्याकेजिङ र बजारीकरण रणनीतिमार्फत सुर्ती उद्योगका सबै प्रकारका हस्तक्षेपहरू रोक्न, सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन अन्तर्गतका कानुनी र सम्बन्धित प्रावधानहरूलाई कडाइका साथ लागू गर्न, सुर्तीजन्य पदार्थमा अन्तःशुल्क दर बढाउन र स्वास्थ्य सेवा प्रतिकार्यलाई सुदृढ बनाउन सुर्तीजन्य पदार्थको लत अन्त्य गर्न र लत छुटाउन प्रभावकारी कदम चाल्न ढिला गर्नुहुँदैन।
सुर्तीजन्य पदार्थको प्रयोग र यस सम्बन्धी स्वास्थ्य सेवा तथा उपचारको लागत घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको सुर्तीजन्य पदार्थमा कर बढाउनु हो। सुर्तीजन्य पदार्थको मूल्यमा १० प्रतिशत कर वृद्धि हुँदा यसको प्रयोगमा ५ प्रतिशत कमि आउने देखिएको छ। यो उपाय अपनाएमा सरकारले आफ्नो स्वास्थ्य कार्यक्रमहरूका लागि आवश्यक थप राजस्व संकलन गर्न सक्छ।
विश्व स्वास्थ्य संगठनले राष्ट्रहरूलाई सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा न्यूनतम ७५ प्रतिशत कर लगाउन सिफारिस गदर्छ र विश्व स्वास्थ्य संगठनका धेरै सदस्य राष्ट्रहरूले यो लक्ष्य पहिले नै हासिल गरिसकेका छन्। पछिल्ला केही वर्षमा नेपालले सुर्तीजन्य पदार्थमा लगाएको कर ३० प्रतिशतदेखि ३८ प्रतिशतको बीचमा रहेको छ जुन विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रमा सबैभन्दा कम हो।
उदाहरणका लागि चुरोटको खुद्रा मूल्यमा लगाइने कर श्रीलंकामा ७७ प्रतिशत, थाइल्याण्डमा ७८ प्रतिशत र बंगलादेशमा ७३ प्रतिशत रहेको छ। यसपटक नेपाल सरकारले सुर्तीजन्य पदार्थमा मात्र ३ प्रतिशतले कर बढाएको छ जुन पछिल्लो १० वर्षमा सबैभन्दा कम हो।
स्वास्थ्य क्षेत्रसँगै बहुक्षेत्रीय सहकार्य आवश्यक पर्ने मुद्दाका रूपमा, म सबै सम्बन्धित मन्त्रालय र सांसदहरूलाई सुर्तीजन्य पदार्थमा लगाइने करको नीति परिवर्तनलाई प्राथमिकता दिन आह्वान गर्दछु, जसले निःसन्देह नेपालीको स्वास्थ्य र दीर्घायुमा प्रत्यक्ष प्रभाव पार्नेछ।
सुर्तीजन्य पदार्थ सेवन त्याग्ने प्रयत्नमा मानिसहरूलाई मद्दत गर्न स्वास्थ्य सेवा तथा परामर्श सेवाहरूको प्रावधानमा ध्यान केन्द्रित गर्न पनि आवश्यक छ। सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरूमध्ये पर्याप्त सहयोगको अभावमा यसको सेवन त्याग्न चाहने ४ प्रतिशत मात्र सफल हुन्छन्। व्यावसायिक स्वास्थ्य परामर्श तथा प्रभावकारी सेवाहरू मार्फत सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूमा यो लत छुटाउने सम्भावना दोब्बर भन्दा बढी हुन्छ। सुर्तीजन्य पदार्थको लत छुटाउने कार्यक्रमलाई जनस्वास्थ्यमा गरिने लगानीको रूपमा हेरिनुपर्दछ।
नेपालमा सन् २०२५ सम्ममा सुर्तीजन्य पदार्थको प्रयोगमा ३० प्रतिशत सापेक्षिक कमीको राष्ट्रिय लक्ष्य र अन्ततः दिगो विकास लक्ष्यहरू प्राप्त गर्न विभिन्न क्षेत्रहरूमा कार्यान्वयन गर्ने समय आएको छ। यसको कार्यान्वयनमा निष्क्रियता वा ढिलासुस्तीले नसर्ने रोगको बढ्दो भार र अकाल मृत्युका कारण उत्पादकत्वमा ह्रास आई देशमा विनाशकारी आर्थिक प्रभाव मात्र निम्त्याउन सक्छ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा, विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको नियन्त्रणको लागि निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउने र सरकार तथा साझेदारहरूसँग हातेमाले गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँछ।
वर्तमान र भावी पुस्तालाई सुर्तीजन्य पदार्थको सेवन र सुर्तीजन्य धुवाँको जोखिमबाट हुने हानिकारक प्रभावहरूबाट जोगाउन हामीले सहकार्य गर्न आवश्यक छ।
सुर्तीजन्य पदार्थ सेवन नगरौँ, जीवन बचाऔँ।
(लेखक विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख हुन्।)
प्रतिक्रिया 4