१७ जेठ, काठमाडौं । आफिज ओलावालेले शहीद स्मारक ए डिभिजन २०७९-८० मा व्यक्तिगत दोस्रो ह्याट्रिक गरेको खेलमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको १७ औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । ओलावालेले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । ५६ औं मिनेटमा तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका थिए ।
सातदोबाटोका लागि जोर्डन पुन मगरले ८४ औं मिनेटमा एक गोल फर्काए ।
दशौँ जितपछि मच्छिन्द्र २३ खेलबाट ३९ अंक जोड्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । मच्छिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग अंकदूरी २ मा झारेको छ । तेस्रो स्थानमा रहेको जाउलाखेलको ३७ अंक छ ।
दशौँ हारपछि सातदोबाटो २३ खेलबाट २९ अंकसहित सातौं स्थानमा छ ।
बुधबारै च्यासल रंगशालामा भएको थ्री स्टार र संकटाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । बराबरीपछि दुवैले एक एक अंक पाएका छन् । २३ खेलबाट दुवैको समान २७ अंक छ । थ्रीस्टार ११ औं र संकटा १२ औं स्थानमा छ ।
प्रतिक्रिया 4