+
+
अन्तर्वार्ता :

‘नेपाल-भारत सम्बन्ध उतारचढावबाट स्थिरतातिर गयो’

सम्बन्ध उतारचढावबाट गुज्रिइरहेको थियो। अलि स्थिर सम्बन्धतिर गएको रूपमा बुझ्नुपर्छ। धेरै भइहाल्यो, चकाचौंध भइहाल्यो भन्ने पनि हामीले सोच्नुहुँदैन, तर जुन जटिलता, अविश्वास र आशंकामा भारत-नेपाल सम्बन्ध गुज्रिइरहेको थियो, अब एउटा विश्वासको दिशातिर अगाडि बढेको संकेत हामी पाउँछौं।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १९:०७

१८ जेठ,  नयाँदिल्ली। हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान अन वान’ वार्ता, प्रतिनिधिमण्डल स्तरीय छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको मुख्य कार्यक्रम सकिएको छ। अब भोलि इन्दौरको भ्रमण गरेर स्वदेश फर्किनेछन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल भ्रमण मूलभूत रूपमा सफल भएको बताउँछन् ।

प्रस्तुत छ, हैदरावाद हाउसमा भेटवार्तापछि भ्रमण दलमा रहेका राजनीतिक सल्लाहकार गजुरेलसँग अनलाइनखबरकर्मी बसन्त बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

दुई जना प्रधानमन्त्रीको वान अन वानमा के कुराकानी भयो ?

के-के कुराकानी भयो भन्ने जानकारी छैन । भेटलगत्तै कमन मिटिङमा आइहाल्नुभयो। दुईपक्षीय बैठक र पत्रकार सम्मेलनमा उहाँ जसरी प्रस्तुत हुनुभयो, त्यसले उहाँहरूबीच भएको वार्ताले सहज वातावरण बनाएको संकेत गर्छ।

हैदरावाद हाउसको संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्याबारे बोल्नुभयो। भारतीय प्रधानमन्त्रीले सीमा समस्यालाई रिकग्नाइज गरेका हुन्

सीमा समस्याको बहस, छलफल अनन्तकालदेखि चलिआएको छ। अझै पनि चलिरहेको छ। केही समय जटिल पनि चल्यो। अब सहज सम्बन्ध बनाएर विश्वासको वातावरण बनाएर हल गर्नुपर्छ। सिमानाको विषय अलि जटिल नै छ, सरल छैन।

भारतीय संसदमा राखेको अखण्ड भारतको नक्साबारे हिजो सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि कुराकानी भयो भनिएको छ। आज प्रधानमन्त्रीस्तरमा पनि कुराकानी भयो ?

यस्तो यस्तो बहस भइरहेको छ भन्ने सन्दर्भमा अजित डोभलसँग कुराकानी गर्नुभएको हो, उहाँले। त्यो विषयबारे हामीले तथ्यहरू बुझ्नुपर्छ । हामी पनि अपडेट छैनौं । बुझिसकेपछि त्यो के कारण किन त्यस्तो भयो, त्यसको मनसाय के हो ? उद्देश्य के हो भन्ने हुन्छ । उहाँहरूले इतिहासलाई स्मरण गरेको कुरा हो भन्नुभएको छ ।

तर लुम्बिनी, कपिलवस्तु भारतमा थिएन भन्ने तथ्य इतिहासले भनिरहेको छ, होइन ?

त्यो त बुद्धको जन्मथलो लुम्बिनी हो भनेर नेपालमा गएर नरेन्द्र मोदीले नै बोलिसकेको सन्दर्भमा त्यसमा आशंका गर्नुपर्ने आवश्यकता छैन। औपचारिक रूपमै बोलिसकेको र भ्रमण पनि गरिसकेको सन्दर्भ आउँदा त्यसमा आशंका गर्नुपर्ने कुरो केही छैन।

अलि अगाडिदेखि तिलौराकोट र लुम्बिनी जस्ता ठाउँहरू भारतले पनि आफ्नो ठाउँमा बनाएको भन्ने कुरो थियो। मलाई लाग्छ, मोदीको लुम्बिनी भ्रमणले त्यो कुरा चिरिसकेको छ। त्यसमा शंका गर्नुपर्दैन।

नेपालीहरूले धेरै चासोका साथ हेरेको ईपीजीको प्रतिवेदन चाहिं हाम्रो एजेण्डामै थिएन ?

ईपीजीको वातावरण बनेन भन्नुस् न।

अग्निपथमा नेपाली भर्ना लिने-नलिने जस्ता कुरा पनि थिए…

औपचारिक रूपमा ‘वान अन वान’मा कति उठ्यो थाहा भएन । बाहिर त त्यति छलफलमा आएन ।

हाम्रो चाहिं चासो थियो कि थिएन यसपालि ?

त्यसबारे अहिले नै जोड दिएर उठाउनुपर्ने स्थिति अझै बनिसकेको छैन कि भन्ने हामीलाई लाग्यो। विषय त छलफलमा उठ्ने भइहाल्यो, तर औपचारिक रूपमा उठेन।

हिजोसम्म त फुकोट कर्णाली आयोजना पनि पर्दैन कि भन्ने थियो । त्यो चाहिं टुंगिएछ !

भारतले एउटा सम्झौतामा हस्ताक्षर गर्ने वचनबद्धता गरेको छ। त्यो हिसाबले कर्णालीको फुकोट नयाँ शिराबाट अगाडि बढाउने उसको सोचाइ छ। मलाई लाग्छ, भारतले बिजुली आयात गर्ने सन्दर्भमा यो महत्वपूर्ण छ।

उसो भए ऊर्जाको क्षेत्रमा भएको सहमति नै विशेष महत्वको हो यसपटक ?

महत्वपूर्ण हो। एयर रुट पनि भइदिएको भए भ्रमण एउटा उचाइमै जान्थ्यो। एयर रुटमा भारतले हामीले थप गृहकार्य गर्न बाँकी छ, हामी सकारात्मक छौं भनेको छ।

भारत आउनुअघि प्रधानमन्त्रीले पनि यसबारे गम्भीरतापूर्वक कुरा उठाउने भन्नुभएको थियो । यसमा केही क्रमभंग नै हुने आशा थियो ?

संयुक्त बैठकमा पनि प्रधानमन्त्रीले यो विषय उठाउनुभयो। तर अझै त्यस विषयमा भारतीय प्रधानमन्त्रीले बोल्नुभएको छैन।

अब यो मुद्दा कसरी अगाडि बढ्छ ?

त्यसमा बीचको एउटा बाटो तत्कालका लागि नेपाललाई ठूला हवाईजहाजहरू ल्याण्ड गर्दा अलि धेरै सर्किट घुम्नुपर्दा भारतको पनि सीमाक्षेत्र पर्ने रहे । त्यसैले कमसेकम तत्काल त्यति दिइहाल्यो भने पनि हामीलाई अहिले कामचलाउ हुन्छ भन्ने कुरो हामीले राखेका थियौं। तर त्यस विषयमा उहाँहरू (भारतीय पक्ष) बोलेका छैनन्।

पञ्चेश्वरमा यो पटक आइसब्रेक हुन्छ भन्नेमा प्रधानमन्त्री निकै आशावादी देखिनुभएको थियो। केही त भयो, तर अझै टुंगिएन नि !

शारदा ब्यारेजको पानीलाई कसरी प्रयोग गर्ने भन्ने टुंगोमा पुग्न सकेनौं। त्यसैले आइसब्रेक भएन।

यो भ्रमणमा राजनीतिक विषय कम र व्यापार, उद्योग र ऊर्जाको कुरा अलि बढी उठ्न थालेको देखियो नि !

मुख्य त्यही हो । नेपाल र भारतको आर्थिक विकासमा नै एउटा समझदारी आवश्यक छ । नेपालको विकासका लागि पनि भारतको सकारात्मक सहयोग जरूरी छ। र, फेरि भारतबाट पनि नेपालले धेरै फाइदा लिन सक्छ। नेपाललाई मात्र होइन, फाइदा भारतलाई पनि हुन्छ भन्ने कुरामा एकअर्काको आवश्यकता बोध भएको जस्तो अनुभूति हुन्छ ।

प्रधानमन्त्रीले आज मोदीलाई नेपाल भ्रमणका लागि निम्ता गर्नुभएको छ। भ्रमण कहिलेतिर होला भन्ने छ त !

त्यो विषयमा भारतीय प्रधानमन्त्रीले केही बोल्नुभएको छैन। हाम्रो प्रधानमन्त्रीले निम्ता गर्नुभयो। उचित समयमा उहाँ (भारतीय प्रधानमन्त्री)ले जवाफ दिनुहोला।

प्रधानमन्त्री प्रचण्ड चाहिं भारत भ्रमणबाट फर्किएलगत्तै चीन जाने हो ?

त्यो ठ्याक्कै ‘फिक्स’ भइसकेको छैन ।

हिजोको स्वागतदेखि आजको वार्तासम्म हेर्दा यो भ्रमण कत्तिको फलदायी भयो ?

सम्बन्ध उतारचढावबाट गुज्रिइरहेको थियो। अलि स्थिर सम्बन्धतिर गएको रूपमा बुझ्नुपर्छ। धेरै भइहाल्यो, चकाचौंध भइहाल्यो भन्ने पनि हामीले सोच्नुहुँदैन, तर जुन जटिलता, अविश्वास र आशंकामा भारत-नेपाल सम्बन्ध गुज्रिइरहेको थियो, अब एउटा विश्वासको दिशातिर अगाडि बढेको संकेत हामी पाउँछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?