
१८ जेठ, काठमाडौं । डबल राउन्ड रोविन प्रणालीमा सञ्चालित शहीद स्मारक ए डिभिजन लिग २०७९/८० अन्त्यतिर पुगेको छ। तीन चरणका खेल बाँकी रहँदा उपाधि होड र रेलिगेसन समीकरण रोमाञ्चक बनिरहेको छ।
जारी लिगको सबैभन्दा रमाइलो पक्ष भनेको सहभागी सबै १४ क्लबहरू उस्तै स्तरका छन्। यसले प्रतिस्पर्धात्मक फुटबललाई बढावा दिएको छ। अघिल्लो सिजन राम्रो प्रदर्शन गरेकाहरू खस्किएका छन्। नवप्रवेशी टिमले लिगको उपाधिमा आँखा लगाइरहेका छन्। कुनै खेलमा नतिजाको भविष्यवाणी गर्न सक्ने अवस्था छैन। एक खेल जित र एक हारले पनि अंकतालिकामा ठूलै उथलपुथल बनाइरहेको छ। लिग तालिका हेर्ने हो भने १४ क्लबहरू १७ अंकको फरकमा छन्।
यस्तो अवस्थामा उपाधि जित्ने टिमको टुङ्गो पनि अन्तिम चरणको खेलबाटै लाग्ने सम्भावना धेरै देखिन्छ। यद्यपि तीन चरणको खेल बाँकी हुँदा भने अहिले तीन वटा क्लब नै उपाधि होडमा छन्। लिगको शीर्ष तीनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड, दुईपल्टको साविक विजेता मछिन्द्र फुटबल क्लब र यस सिजन लयमा देखिएको जावलाखेल युथ क्लब छन्। अन्तिम तीन चरण रोमाञ्चक बन्नेछ।
मछिन्द्रलाई यसपटक नयाँ टिम चर्च ब्वाइज र जावलाखेलले चुनौती दिइरहेका छन्। २२औं चरणमा कमजोर प्रदर्शन गरेका चर्च ब्वाइज, मछिन्द्र र जावलाखेल तीनै क्लबले २३औं चरणमा प्रभावशाली जित निकाले।
चर्च ब्वाइजले एपीएफ एफसीमाथि ४-१ को जित निकाल्दा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई २-० ले हरायो। यस्तै मछिन्द्रले आफिज ओलावालेको सिजनको दोस्रो ह्याट्रिकमा सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्यो ।
जितपछि तीनै क्लबका प्रशिक्षकले आफूहरूको ध्यान उपाधिमै केन्द्रित रहेको बताएका छन्। शीर्ष स्थानको चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जन उपाधि होडमा अघि रहे पनि ढुक्क हुने अवस्था नरहेको बताउँछन्।
मछिन्द्रका प्रशिक्षक किशोर केसीले उपाधि रक्षा गर्न सक्षम भएको दाबी गरिरहँदा जावलाखेलका प्रशिक्षक सुनिल श्रेष्ठ पनि क्लबलाई पहिलो लिग उपाधिमा नजर लगाइरहेका छन्। श्रेष्ठ जावलाखेलकै पूर्वखेलाडी समेत हुन्।
तीन क्लबमा जसले जिते पनि कीर्तिमान
अघिल्लो वर्ष ए डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले डेब्यू सिजनमै शीर्ष श्रेणीमा धमाका मच्चाइरहेको छ। उपाधि दाबेदार भनिएका क्लबहरूलाई पछि पार्दै चर्च ब्वाइज हाल शीर्ष स्थानमा छ।
२३ खेल खेल्दा ११ जित ८ बराबरी र ४ हारको नतिजा निकालेको चर्च ब्वाइज ४१ अंकसहित शीर्ष स्थानमा छ। यस सिजन सर्वाधिक खेल जित्नेमा पनि चर्च ब्वाइज अघि छ। यस सिजन चर्च ब्वाइजले आर्मीसँग दुवै खेल हारेको छ। जावलाखेल र संकटासँग एक-एक खेल गुमाएको छ। उसले अहिलेसम्म हारेको खेल त्यत्ति हो।
चर्च ब्वाइजलाई पछ्याउँदै छन् दुई क्लब-मछिन्द्र एफसी र जावलाखेल युथ। पछिल्लो दुई सिजनको लिग जितेको मछिन्द्रले यस सिजन राम्रो सुरुवात गर्न नसकेपछि पुनरागमन गर्दै अहिले उपाधि होडमै फर्किएको छ।
मछिन्द्र १० जित ९ बराबरी ४ हारको नतिजासहित ३९ अंक जोडेर दोस्रो स्थानमा छ। यस्तै इतिहासकै लयमा देखिएको जावलाखेलले पनि १० खेल जितेको छ। ७ बराबरी र ६ हारको नतिजासहित जावलाखेल ३७ अंक जोडेर तेस्रो स्थानमा छ।
यी तीन क्लबबाहेक नेपाल पुलिस क्लब २३ खेलबाट ३४ अंक जोडेर चौथो स्थानमा छ। बिहीबार उसले एनआरटीलाई १-० ले हरायो। तर, उपाधि होडमा रहन पुलिसको झिनो आशा मात्र छ। पुलिसलाई आफ्नो बाँकी चार खेल जितेर मात्र पुग्दैन चर्च ब्वाइजले सबै खेल हार्नुपर्नेछ भने अन्य दुई क्लबको नतिजा पनि पुलिसकै अनुकूल आउनुपर्नेछ।
चर्च ब्वाइज, मछिन्द्र र जावलाखेल जसले उपाधि जिते पनि ए डिभिजन लिगमा आ-आफ्नो इतिहास बनाउनेछन्। मछिन्द्रले लिग जितेमा लगातार तीन पटक ए डिभिजन लिग जित्ने आरसीटी र मनाङ मस्र्याङ्दीको कीर्तिमान बराबरी हुनेछ।
चर्च ब्वाइजले जितेमा लगातार बी र ए डिभिजन जित्ने मनाङकै कीर्तिमान बराबरी गर्नेछ। जावलाखेलले उपाधि जितेमा भने क्लब इतिहासमा पहिलो पटक ए डिभिजन लिगको उपाधि उचाल्नेछ।
तीन क्लबलाई लिग जित्ने समीकरण यस्तो छ
चर्च ब्वाइज युनाइटेड
यसअघि सी डिभिजन र बी डिभिजन उपाधि जिताउँदाका खेलाडीलाई टिममा राख्दै राष्ट्रिय टिमका अनन्त तामाङ, अन्जन विष्ट जस्ता खेलाडीहरू अनुबन्ध गरेको चर्च ब्वाइजले विदेशी खेलाडीको अनुबन्धनमा पनि ध्यान दिएको थियो। त्यसैले यो टिम सन्तुलित छ।
जसको प्रभाव उसको प्रदर्शनमा पनि देखिएको छ। सुरुवाती तीन खेल जितेको चर्च ब्वाइजले दोस्रोदेखि चौथो चरणसम्म शीर्ष स्थानमा रह्यो। त्यसपछि चर्च ब्वाइजले लगातार ६ खेल बराबरी खेल्यो।
प्रशिक्षक प्रदीप हुमागाईंले छाडेपछि राष्ट्रिय टिम हेरिसकेका बालगोपाल महर्जनलाई चर्च ब्वाइजले प्रशिक्षक बनायो। चर्च ब्वाइजको प्रदर्शन बीचमा केही लड्खडाएको थियो। १२औं चरणमा पाँचौं स्थानसम्म झरेको चर्च ब्वाइज १५औं चरण (१७औं चरणबाहेक) शीर्ष स्थानमा कायम छ।
अब लिग उपाधि जित्ने नजित्ने चर्च ब्वाइजको आफ्नै हातमा छ। किनकि चर्च ब्वाइज दोस्रो स्थानको मछिन्द्र भन्दा २ अंकले अघि छ र आफ्नो बाँकी तीन खेल जितेमा चर्च ब्वाइज सीधै च्याम्पियन बन्नेछ। यदि चर्च ब्वाइजले दुई खेल मात्र जितेमा पनि उपाधिका लागि पर्याप्त हुनसक्छ तर त्यसका लागि अन्य दुई टिमको नतिजामा पनि भर पर्नुपर्छ।
२४औं चरणमा आउने शनिबार चर्च ब्वाइजले तेस्रो स्थानको जावलाखेलसँग खेल्नेछ। पहिलो चरणमा पराजित भएको चर्च ब्वाइजका लागि जावलाखेलसँगको सो खेल उपाधि जित्न लगभग निर्णायक हुनेछ। चर्च ब्वाइज विजयी भएको अवस्थामा जावलाखेल उपाधि होडबाट बाहिरिनेछ। यो खेल जितेमा चर्च ब्वाइजलाई उपाधि जित्न बाँकी दुई खेलबाट चार अंक पर्याप्त हुनेछ। चर्च ब्वाइजले जावलाखेलसँगै थ्रीस्टार र खुमलटारसँग खेल्न बाँकी छ।
मछिन्द्र एफसी
लिग सुरु हुनुअघिदेखि सञ्चालनमा रहँदासम्म कप्तान सुजल श्रेष्ठसहित विशाल राई, रजिन धिमाल, अभिषेक रिजाल लगायत खेलाडी क्लब छाडेर विदेश लागेसँगै मछिन्द्र सुरुवातमै कमजोर देखियो।
अघिल्लो सिजनको उत्कृष्ट खेलाडी सुनिल बल (लिगमा एक खेल खेलेर विदेशिएका) सहित मनिष डाँगी संकटा लागे। दुईपल्ट लिग जिताएका प्रशिक्षक प्रवेश कटुवाल पनि सिजनको बीचतिर राष्ट्रिय टिमको जिम्मेवारीमा पुगे । त्यसपछि मछिन्द्रले किशोर केसीलाई प्रशिक्षक बनाएको थियो।
मछिन्द्रले ल्याएका भुटानी स्टार चेन्चो ग्याल्सेनले पनि लामो समय खेल्नै नपाई चोटग्रस्त बने र घर फर्किए। लिगको बीचमा स्ट्राइकर विमल घर्तीमगर पनि चोटग्रस्त बने। खेलाडीहरू विदेश पलायन, चोट, प्रशिक्षक परिवर्तन जस्ता कारणले मछिन्द्रले लिगमा धेरै उतारचढावकै सामना गर्यो।तैपनि मछिन्द्र उपाधि होडमै छ।
सुरुवाती दुई खेलमा जावलाखेल र आर्मीसँग पराजित भएपछि मछिन्द्र तीन चरण रेलिगेसन जोनमै रह्यो । त्यसपछि मछिन्द्र एपीएफ र चर्च ब्वाइजसँग मात्र पराजित भएको छ । पछिल्लो तीन चरणदेखि मछिन्द्र दोस्रो स्थानमा छ ।
तीन खेल बाँकी हुँदा चर्च ब्वाइजसँग दुई अंकले पछि रहेको मछिन्द्रका लागि उपाधि जित्न आफ्नो बाँकी खेल जित्नुपर्नेछ भने चर्च ब्वाइजको नतिजामा पनि भर पर्नुपर्नेछ ।
मछिन्द्रका लागि एउटा घाटा के हो भने उनीहरू हेड टू हेडमा चर्च ब्वाइज र जावलाखेल दुवै टोलीसँग पछि छ। दुवै क्लबसँग मछिन्द्रले दुई-दुई खेल खेलिसकेको छ । जसमा मछिन्द्र चर्च ब्वाइज र जावलाखेलसँग एक-एक खेलमा पराजित भएको थियो भने एक-एक खेल गोलरहित बराबरी खेलेको थियो।
मछिन्द्रले लिगमा अब नेपाल पुलिस, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दीसँग खेल्न बाँकी छ।
जावलाखेल युथ क्लब
झण्डै ६ दशकको इतिहासमा जावलाखेलले अहिलेसम्म लिग उपाधि जित्न सकेको छैन। पहिलो पटक लिग जित्ने हो भने उसका लागि बाँकी तीनै खेलमा जितको विकल्प छैन।
आउने शनिबार शीर्ष चर्च ब्वाइजसँग हुने खेल जावलाखेलका लागि गर या मर जस्तै हुनेछ। उक्त खेलमा पराजित भएमा जावलाखेलको उपाधि होड समाप्त हुनेछ। किनकि दुई खेल बाँकी हुँदा जावलाखेल चर्च ब्वाइजसँग ७ अंकले पछि पर्नेछ।
यदि जावलाखेलले चर्च ब्वाइजलाई पारजित गरेमा भने लिगको उपाधि होड अझ रोमाञ्चक हुनेछ। किनभने जावलाखेलले चर्च ब्वाइजसँगको दूरी १ अंकमा झार्नेछ। जावलाखेलका लागि अर्को फाइदा भनेको चर्च ब्वाइज र मछिन्द्र दुवैसँग यो टिम हेड टू हेडमा अघि छ।
चर्च ब्वाइजसँग बराबरीमा रोकिएमा जावलाखेलको उपाधि सम्भावना कायमै रहन्छ तर, उपाधि जित्न कठिन हुनेछ। लिगको उपाधि यात्रामा निर्णायक जस्तै मानिएको चर्च ब्वाइज र जावलाखेलको खेल अहिले बहुप्रतीक्षित बनेको छ।
जावलाखेलले शनिबार चर्च ब्वाइजसँग खेलेपछि पनि सातदोबाटो युथ र थ्रीस्टारसँग खेल्नुपर्नेछ।
तीन क्लबबीचको हेड टु हेड नतिजा
चर्च ब्वाइज/जावलाखेल
चर्च ब्वाइज ०-१ जावलाखेल
जावलाखेल भर्सेस चर्च ब्वाइजः जेठ २० शनिबार
चर्च ब्वाइज/मछिन्द्र
मछिन्द्र १-२ चर्च ब्वाइज
चर्च ब्वाइज ०-० मछिन्द्र
मछिन्द्र/जावलाखेल
मछिन्द्र १-३ जावलाखेल
जावलाखेल ०-० मछिन्द्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4