News Summary
Generated by OK AI. Editorially reviewed.- राफिन्हा र लामिन यमालले दुई-दुई गोल गर्दा बार्सिलोनाले रायो भालेकानोलाई ५-२ ले हराएको छ ।
- नयाँ सिजनमा लगातार तेस्रो जितपछि बार्सिलोना ९ अंकसहित स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।
- राफिन्हा ला लिगाका सुरुवाती तीन खेलमा ५ गोल गर्ने लियोनल मेसीपछि बार्सिलोनाका पहिलो खेलाडी बनेका छन् ।
१६ भदौ, काठमाडौं । राफिन्हा र लामिन यमालले दुई-दुई गोल गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले रायो भालेकानोलाई ५-२ ले पराजित गरेको छ । नयाँ सिजन बार्सिलोनाको यो लगातार तेस्रो जित हो ।
लगातार तेस्रो जितपछि बार्सिलोना ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । तीन खेल खेल्दासम्म बार्सिलोना र रियल मड्रिडले मात्र शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेका छन् । तर बार्सिलोनाले रियललाई गोल अन्तरमा पछि पारेको छ ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अग्रता भने रायोले पहिले लिएको थियो । सर्जियो कामेलोले १२औं मिनेटमा रायोका लागि गोल गरेका थिए । तर त्यो अग्रता लामो समय रहेन । राफिन्हाले १९औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए भने यमालले त्यसको दुई मिनेटपछि गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
रायोका फ्लोरियन लेजेगउनले ५१औं मिनेटमा आत्मघाती गोल गर्दा बार्सिलोनाले ३-१ को अग्रता बनायो । तर कामेलोले ५९औं मिनेटमा रायोका लागि व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसपछि राफिन्हा र यमालले बार्सिलोनाका लागि व्यक्तिगत दोस्रो गोल गरे । राफिन्हा ७१औं र यमालले ९०औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको जित पक्का भएको हो ।
ब्राजिलका राफिन्हा बार्सिलोनाका लागि ला लिगाको सुरुवाती तीन खेलमा ५ गोल गर्ने लियोनल मेसी (२०१९) पछि पहिलो खेलाडी खेलाडी बनेका छन् । पछिल्लो पटक मेसीले सन् २०१९ मा यो उपलब्धी हासिल गरेका थिए ।
यस्तै १९ वर्षिय युवा स्टार यमालले बार्सिलोनाका लागि ५०औं गोल पूरा गरेका छन् ।
प्रतिक्रिया 4