News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिगका लागि मंगोलिया राष्ट्रिय टोलीका अनुभवी सेटर तुर्मान्डाख गान्खुयागलाई तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
- तुर्मान्डाखसँगै अन्नपूर्णको तीनै विदेशी खेलाडी मंगोलियाका भएका छन्, जसमा उरानबायर मंखबायर र इंख एर्डेन जारगालसोट पनि छन् ।
- नेपाल भलिबल लिगको पहिलो संस्करण भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरको कभर्डहलमा शुरू हुँदैछ ।
१५ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टोलीका अनुभवी सेटर तुर्मान्डाख गान्खुयागलाई अनुबन्ध गरेको छ ।
अन्नपूर्ण स्पाइकर किंग्सले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो विदेशी खेलाडीको रुपमा तुर्मान्डाखको नाम घोषणा गरेको हो ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि तुर्मान्डाखलाई टोलीमा भित्र्याउँदै अन्नपूर्णले आफ्नो विदेशी खेलाडीको कोटा पूरा गरेको हो । तुर्मान्डाखको अनुबन्धसँगै अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि तीनै विदेशी खेलाडी मंगोलियाबाट भित्र्याएको छ ।
यसअघि अन्नपूर्णले मंगोलिया राष्ट्रिय टोलीका स्टार आउटसाइड हिटर उरानबायर मंखबायर र अनुभवी अपोजिट हिटर इंख एर्डेन जारगालसोट (एडी) लाई अनुबन्ध गरिसकेको छ ।
२८ वर्षीय तुर्मान्डाख मंगोलिया राष्ट्रिय टोलीका अनुभवी सेटर हुन् । राष्ट्रिय टोलीसँगै मंगोलियाको घरेलु लिग तथा एसियाली क्लबस्तरको भलिबलमा लामो अनुभव बटुलेका उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत मंगोलियाको प्रतिनिधित्व गरिसकेका छन् ।
हालै आफ्नै घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियाले कांस्य पदक जित्दा तुर्मान्डाखले टोलीको सेटिङमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसअघि सन् २०२३ को काभा नेसनल लिगमा समेत उनले कांस्य पदक जितेका थिए ।
घरेलु भलिबलमा समेत उनको प्रदर्शन प्रभावशाली छ । तुर्मान्डाखले मंगोलिया प्रिमियर लिगमा दुईपटक बेस्ट सेटरको अवार्ड जितिसकेका छन् ।
६ फिट अग्ला तुर्मान्डाखले सन् २०२३ मा चीनको हान्झाउमा आयोजित १९औं एसियन गेम्समा मंगोलियाबाट खेलेका थिए । उनले सोही वर्ष एभीसी च्यालेन्ज कपमा समेत प्रतिस्पर्धा गरेका थिए ।
क्लबस्तरमा पनि एसियाली अनुभव हासिल गरेका तुर्मान्डाखले सन् २०२३ मा मंगोलियन क्लब बायनखोन्गोरबाट एभीसी मेन्स क्लब भलिबल च्याम्पियनसिप खेलेका थिए ।
तुर्मान्डाखको आगमनले अन्नपूर्ण स्पाइकर किंग्सको टोलीमा अनुभव, कोर्ट भिजन र सेटिङमा स्थिरता थपिने अपेक्षा गरिएको छ । उरानबायर र इंख एर्डेनजस्ता आक्रामक खेलाडीलाई तुर्मान्डाखको सेटिङले थप प्रभावकारी बनाउने विश्वास क्लबले लिएको छ ।
पछिल्लो समय तीनै खेलाडी मंगोलियाको राष्ट्रिय टिमबाट एकसाथ खेल्दै आएका छन् । जसले गर्दा उनीहरुको अनुभव अन्नपूर्णको लागि काम लाग्नेछ ।
एनभीएलको पहिलो संस्करणका लागि अन्नपूर्णले तयार पारेको विदेशी संयोजनमा अब तीनै खेलाडी मंगोलियाका छन् ।
आउटसाइड हिटर उरानबायर मंखबायर, अपोजिट हिटर इंख एर्डेन जारगालसोट र सेटर तुर्मान्डाख गान्खुयागको साथ अनी नेपाली खेलाडीहरुको मिश्रणले टिम सन्तुलित बनेको अनन्पूर्ण स्पाइकर किंग्सको विश्वास छ ।
तीन फरक भूमिकाका यी खेलाडीको संयोजनले अन्नपूर्णको अट्याक, सेटिङ र फ्रन्ट कोर्टलाई थप सन्तुलित बनाउने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल भलिबल लिगमा प्रतिस्पर्धा गर्न लागेको अन्नपूर्ण स्पाइकर किंग्सले विदेशी खेलाडीका साथै गण्डकीका अनुभवी तथा युवा प्रतिभालाई पनि टोलीमा समेटेको छ ।
गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी टोलीका मार्की खेलाडी हुन् । गण्डकी प्रदेशकै रमेश केसी मुख्य प्रशिक्षक तथा नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं त्रिभुवन आर्मी क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक नरेन्द्र गिरी सहायक प्रशिक्षकका रूपमा रहेका छन् ।
हालै काभा पुरुष भलिबल च्याम्पियनसिपमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका राजेन्द्र धामी पनि अन्नपूर्णको टोलीमा छन् ।
टोलीमा गण्डकीका चर्चित खेलाडी रबी केसी, विश्वास अधिकारी, विवश आले र सुरेन्द्र केसी रहेका छन् । उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका लिबेरो जितबहादुर शार्की र देव राना पनि टोलीका सदस्य हुन् ।
युवा प्रतिभालाई अवसर दिने उद्देश्यअनुसार अन्नपूर्णले पोखरामा आयोजना गरेको ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ । एनभीएलको प्रावधानअनुसार प्रत्येक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी छनोट गर्नुपर्ने व्यवस्था छ ।
अनुभवी नेपाली खेलाडी, युवा प्रतिभा र अन्तर्राष्ट्रिय अनुभव बोकेका तीन मंगोलियन खेलाडीको संयोजनसँगै बलियो कोचिङ स्टाफ तयार गरेको अन्नपूर्ण स्पाइकर किंग्स एनभीएलको पहिलो संस्करणमा प्रभावशाली प्रदर्शन गर्दै उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ ।
नेपाल भलिबल लिग भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरको कभर्डहलमा आयोजना हुँदैछ ।
प्रतिक्रिया 4