 
																			काठमाडौं । नेपाली फिल्मसम्बद्ध आठ संघसंस्थाले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले हालै ल्याएको आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यप्रति उनीहरुको आपत्ति छ ।
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, आदिवासी जनजाति चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार, नृत्य संघका अध्यक्ष जनक कार्की, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
राष्ट्रिय चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अहिलेको अवस्थामा धरासायी हुने गरी बजेटमा उपेक्षा गर्नु सरकार उद्योगप्रति उत्तरदायी र जिम्मेवार नरहेको विज्ञप्तिमा उल्लेख छ । फिल्मको प्रवद्र्धन र श्रमजीवी चलचित्रकर्मीलाई रोजगारीको प्रत्याभूति हुने वर्तमान समयमा सरकार पन्छिन चाहेको समेत यसमा उल्लेख छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै ल्याएको आगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक र निजी साझेदारीमा दोलखा र काभ्रेमा फिल्म स्टुडियो निर्माण गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय छायांकन थलोको रुपमा प्रवद्र्धन गर्ने उल्लेख छ । यी बुँदाहरु पहिलेकै बजेटमा समेत समावेश छन् । पहिलेकै बजेटमा आएपनि कार्यान्वयन हुन नसकेको भन्दै फिल्मकर्मीले आपत्ति जनाएका छन् ।
बिहीबार चलचित्र पत्रकार संघले आयोजना गरेको छलफल कार्यक्रममा समेत चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले फिल्मलाई उपेक्षा गरेको बताएका थिए । राष्ट्रिय चलचित्र नीति नआएसम्म नेपाली फिल्मको विकास नहुने केसीको धारणा थियो । उनले भनेका थिए, ‘बजेट सुन्दै जाँदा स्टुडियोको अवधारणा सुनेर खुसी लागेको थियो । किनकि स्टुडियो नेपाली फिल्मका लागि अपरिहार्य नै बनेको छ । तर अर्बभन्दा बढी लाग्ने स्टुडियोका लागि सरकारले हरेक वर्ष दुई-चार करोड मात्र छुट्याउने गरेको छ । यसरी दोलखाको स्टुडियो कसरी बन्छ ?’
आफ्नो पालामा मात्र नभएर छोरा अनमोल केसीको पालामा समेत दोलखाको फिल्म स्टुडियो नबन्ने दावी उनले गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4