+
+

सगरमाथा चढेका वरिष्ठ सई पुरुषोत्तम नेपालीलाई गृहमन्त्रीको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते ६:२५

२० जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरीका बरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पुरुषोत्तम नेपालीलाई सम्मान गरेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्शालमा शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नेपालीलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नेपालीको आरोहणमा सहयोगी भूमिका निर्वाह गरेका विवस शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाइरेक्टर मिङ्मा डेविड शेर्पालाई पनि सम्मान गरेका थिए ।   साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आभार सहितको मन्तव्य व्यक्त गर्दै आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापविरुद्ध ऐक्यवद्ध छन् भन्ने सन्देश दिन सफल भएको चर्चा गरेका थिए ।

सोलुखुम्बु निवासी नेपाली यही जेठ २ गते बिहान सवा १० बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । उनले नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा सगरमाथाको चुचुरोमा फहराएका थिए । इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा उनले सगरमाथाको आरोहण गरेका हुन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले महाराजगञ्ज प्रहरी कार्यालयमा कार्यरत नेपालीलाई सगरमाथा आरोहणको सफलताको शुभकामनासहित २०७९ चैत ३० गते विदाइ गरेका थिए भने उनी २०८० वैशाख २ गते काठमाडौंबाट सगरमाथातर्फ प्रस्थान गरेका थिए ।

सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिका–२ लुक्ला घर भएका नेपाली नेपाल प्रहरीबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति हुन् । उनी नेपाली सांगीतिक क्षेत्रमा ‘पुरुषोत्तम सानु’ नामले परिचित छन् । विभिन्न गीत लेखेर उनले दर्जनौं अवार्डसमेत प्राप्त गरेका छन् । सगरमाथा चढ्ने पहिलो गीतकार पनि आफू नै भएको नेपालीको भनाइ छ ।

यसअघि वि.सं. २०३१ मा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले पहिलोपटक ६,९२० मिटर उचाइको टुकुचे हिमाल आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६,११९ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?