+
+

आरोहणको जेठो हिमाल : नेपाल आफैंले नचिनेको वैभव

अमृत सुवेदी अमृत सुवेदी
२०८० जेठ २१ गते ११:३१

२१ जेठ, पोखरा । सन् १९४९ मा तत्कालीन प्रधानमन्त्री मोहनशमशेर राणाले अनुमति दिएपछि (१९५०-१९६०)मा नेपालका अधिकांश अग्ला चुली चुम्दै विदेशीहरुले विजय प्राप्त गरे ।

सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हर्जोगको नेतृत्वमा अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरेपछि नै ८ हजार मिटर अग्ला हिमालको आरोहण आरम्भ भएको हो । त्यसको ठिक ३ वर्षपछि बल्ल बेलायती सर एडमण्ड हिलरी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चुचुरोमा पाइला टेके ।

हर्जोग नेतृत्वले अन्नपूर्ण हिमाल आरोहण गरेपछि विश्वभरि नै हल्लीखल्ली मच्चायो र एडमण्ड हिलारीले सगरमाथा चुमेपछि नेपालमा विदेशीहरुको ओइरो नै लाग्यो । सगरमाथातिर पर्यटकको ओइरो लाग्न थालेपछि भूगोलविद् डा. हर्क गुरुङको किताब ‘विषय विविधमा’ समावेश १९६५ मा उनले लेखेको लेखले भन्छ, ‘विदेशी पर्वतारोहीहरु नेपाल आउँछन्, हाम्रै शेर्पाका काँध चढेर नाउँ कमाउँछन्, जान्छन् । हामी वाल्ल परेर रमिता हेरिरहन्छौं ।’ सगरमाथा क्षेत्रमा पर्यटकको ओइरो लाग्दा पनि नेपालीहरुले हिमालबाट आर्थिक फाइदा, ज्ञान लिन र यसको महत्व बढाउन नसकेकोतिर उनले संकेत गरेका थिए ।

अन्नपूर्णभन्दा पछि आरोहण आरम्भ भएको सर्वोच्च शिखर सगरमाथा चुचुरो चुम्न अहिले पर्यटकको उत्तिकै ओइरो लागिरहेको छ र आर्थिक गतिविधिका हिसाबले पनि त्यहाँको जनजीवनसँग जोडिएको छ । तर ८ हजार मिटर अग्लो हिमाल आरोहण आरम्भ भएको अन्नपूर्ण हिमालले भने डा. हर्कले भनेकै नियति भोगिरहेको छ ।

‘खुबै गर्‍यौं भने हामी हिमालको गीत गाउँछौं, कविता लेख्छौं र हिमाली सौन्दर्यको धाक दिन्छौं । हिमालको विशालताको गुण गाएर हामी आफैं मक्ख पर्छौं,’ उनले लेखेका छन्, ‘वास्तवमा हामीलाई आफ्नै हिमालको भौगोलिक स्थितिको केही ज्ञान छ ?’

८ हजार मिटर माथिको १४ हिमालमध्ये आरोहण थालिएको विश्व इतिहास कायम भएको अन्नपूर्ण प्रथमको वैभव राज्यले विस्तार गर्नै सकेको छैन ।

८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै चुली चुम्ने सपना पूरा गर्न कतारी राजकुमारी शेखा अश्मा अल थानीले गत १५ अप्रिलमा अन्नपूर्ण प्रथम आरोहण गरिन् । यसअघि ६ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण गरेपछि उनी अन्नपूर्ण प्रथमको आरोहणका लागि आएकी थिइन् ।

८ हजार मिटर उचाइका सबै हिमाल चढ्ने सपनालाई साकार पार्न लागिपरेकी नेपालकी पूर्णिमा श्रेष्ठसहित ६ महिलाले २०७८ वैशाख ३ मा अन्नपूर्ण चुचुरो चुमे र यो सफलता पाउने पहिलो नेपाली महिला बने । सन् १९७८ मा एक अमेरिकी र एक चेकोस्लाभाकियाकी महिलाले आरोहण गरेको ४३ वर्षपछि नेपाली महिलाले अन्नपूर्णको आरोहण गरेका थिए ।

सोही दिन ६७ जनाले अन्नपूर्ण आरोहण गरे र यो नै अन्नपूर्ण प्रथम आरोहण गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो समूह हो । त्योभन्दाअघि १ मे २०१६ मा एकैदिन ३२ जना अन्नपूर्णको चुचुरोमा पुगेका थिए ।

मौरिस हर्जोग

आरोहणको ७३ वर्ष पूरा भइसक्दा पनि अन्नपूर्ण आरोहण गर्नेहरुको सूची त्यति लामो छैन । नेपाल पर्वरोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माका अनुसार सन् २०२१ अन्तिमसम्मको तथ्यांकअनुसार अन्नपूर्ण हिमाल आरोहण गर्ने जम्मा ३०९ जना थिए । यो वर्ष ५ वटा समूहका ४५ जनाले आरोहण अनुमति लिएका छन् । अन्नपूर्ण आरोहण सुरु भएको ७३ वर्षमा चुचुरोमा ४०० जना पनि पुगेका छैनन् । जबकि आरोहणमा अन्नपूर्णभन्दा ३ वर्ष कान्छो सगरमाथा आरोहण गर्नेको संख्या ८ हजार नाघिसकेको पर्वतारोहण संघ नेपालका अध्यक्ष निमा निरु शेर्पा बताउँछन् ।

८ हजार मिटरमाथिका हिमाल आरोहणको सपना बोकेर हिँडेकाबाहेक कमै आरोहीले अन्नपूर्ण सम्झिने गरेको माथिका उदाहरणहरुले पनि देखाएका छन् । जसरी सर्वोच्च सगरमाथा हिमाल चढ्न भनेर विश्वभरिबाट आरोहीहरु आउँछन्, यसैगरी विश्वमै पहिलो पटक इतिहास बनाएको हिमाल भनेर अन्नपूर्ण आउनेहरु भने कमै भेटिन्छन् ।

सगरमाथा विश्वकै सर्वोच्च शिखरका रुपमा जसरी प्रचारित छ, त्यसरी नै अन्नपूर्णलाई विश्वमै पहिलो पटक आरोहण गरेको ८ हजार मिटर माथिको हिमाल हो भनेर प्रचार गर्न नसकिएको हिमालबारे सरोकार अभियान्ता तीर्थ श्रेष्ठको भनाइ छ । मौरिस हर्जोगले आरोहण गरेको दिन पारेर शनिबार पोखरा र घान्द्रुकमा कार्यक्रम आयोजना भए पनि यसतर्फ न राज्यको ध्यान पुग्यो, न यसको महत्वको विषयमा चर्चा नै चल्यो ।

हर्जोगले सन् १९५० जुन३मा अन्नपूर्ण प्रथम हिमाल आरोहणमात्रै गरेनन्, नेपाललाई विश्वसामु नै चिनाइदिए । हिमाल आरोहणबाट फर्केलगत्तै हर्जोगले ‘अन्नपूर्ण’ किताब लेखे, जुन ५० भन्दा बढी भाषामा छापिए र विश्वकै धेरै बिक्री हुने किताबको सूचीमा पर्‍यो । १ करोड ६० लाख प्रतिभन्दा ज्यादा बिकेको यो किताबकै कारण धेरै फ्रेन्च तथा अन्य विदेशी पर्यटकलाई नेपालप्रति नोस्टाल्जिक बनाइदिएको माउन्टेरिङ अध्येता अनिश दाहालको भनाइ छ ।

अन्नपूर्णमाथि अरु किताब पनि लेखिएका छन् तर हर्जोगको किताबले संसारको ध्यान अन्नपूर्ण हिमालतिर खिचेको पर्यटन क्षेत्रका पाका र हिमालका ज्ञाता झलक थापा बताउँछन् । ‘दोस्रो विश्वयुद्धले आक्रान्त फ्रान्सलाई हर्जोगले सफल पारेको अन्नपूर्ण आरोहणले खुसीको तरंग ल्यायो । ३ दिन बिदा दिएरै खुसी बाँड्यो,’ अहिले बिमारले विस्मृतिमा गइसकेका ८२ वर्षीय पर्यटन व्यवसायी थापाले सम्झिए, ‘फ्रान्सले त बिदा दिएर खुसी मनायो, अहिले पनि त्यो दिनलाई गर्वले सम्झिन्छ तर हामीले आफ्नै हिमाललाई चिनेनौं, विश्वमाझ बाँडेनौं ।’

अन्नपूर्णलाई ‘किलर माउण्टेन’ भन्ने गरिएको छ तर हिमाल आफैंमा मान्छे मार्ने नहुने र तयारीका साथ उच्च साहसिक आरोहणको लागि विश्वभरिबाटै मान्छेलाई आकर्षित गर्न सकिने आरोही पूर्णिमा श्रेष्ठ बताउँछिन्

हर्जोगकै कारण अन्नपूर्ण फेरो विश्वकै उत्कृष्ट पदमार्गमा पर्‍यो । पोखरा आउने ६० प्रतिशत पर्यटक अन्नपूर्ण लगायतको पदमार्गमा जानकै लागि आउने जानकारहरुको दाबी छ । कोभिड अघिसम्म अन्नपूर्णको दक्षिणी कास्की तिरको बेसक्याम्पमा एक/डेढ लाख पर्यटन पुग्ने गरेको अन्नपूर्ण संरक्षण आयोजना बताउँछ । तर, विश्वमै अन्नपूर्णलाई चिनाएको उत्तरी बेसक्याम्प भने सुनसानजस्तै बन्ने गरेको छ ।

८ हजार मिटर उचाइको आरोहण हुने विश्वकै जेठो अन्नपूर्ण हिमाललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन नेपाल चुकेको तीर्थ श्रेष्ठको भनाइ छ । स्थानीय व्यक्तिको जनजीवनसँग अन्नापूर्ण आरोहण नजोडिएका कारण पनि व्यावसायिक रुपमा अगाडि बढ्न नसकेको तीर्थको तर्क छ ।

‘सगरमाथा क्षेत्रमा मानिसको वस्ती नै हिमरेखाभन्दा माथिसम्म छ । यता लेकमा बस्ने प्राय गुरुङ, मगर लगायत जाति पहाडका उचाइमा बसेका छन् । उता व्यवसाय र सहयोगीका रुपमा पनि हिमाल आरोहणसँग मानिसहरु जोडिए,’ तीर्थ भन्छन्, ‘हाम्रातिर एक त हिमरेखामा बसोबास छैन, अर्को प्राथमिकताको पेशा वैदेशिक रोजगारी हो । भारतीय तथा बि्रटिसमा भर्ती हुने परम्परा हो ।’ गण्डकी प्रदेशका ८ हजार मिटरमाथिका अन्नपूर्ण प्रथम, धवलागिरि र मनासलु छन् तर हिमाली गतिविधि नै न्यून रहेको श्रेष्ठको भनाइ छ ।

अहिले संघीयताले ३ तहका सरकार छन् । प्रदेश र स्थानीय तहले पनि ठूलो आर्थिक आम्दानीको स्रोत हिमाललाई बनाउनसक्ने अवस्था हुँदा पनि त्यतितिर हेक्का नराखेको श्रेष्ठले बताए । ‘प्रदेश सरकार गठन भइसकेपछि पनि यी हिमाल बेवास्तामा परे । यी हिमाल प्रदेशको ठूलो आर्थिक गतिविधिको केन्द्र बन्न सक्छ तर चेस्टा नै गर्न सकेको छैन,’ श्रेष्ठले भने, ‘अन्नपूर्णसँगै जोडिएको पदयात्रा विश्वकै उत्कृष्टमा पर्दछ । तर, आरोहणका गतिविधिको वातावरण बनाउन सक्दैन ।’

हर्जोगले अन्नपूर्णलाई आफ्नो किताबमा आरोहणका निम्ति निकै अप्ठेरो भनेका छन् । तर, उनी आफ्नै नेतृत्वमा विना नक्सा, विना अक्सिजन आरोहण गर्न सफल भएकाले अप्ठेरो भए पनि साहसिक आरोहणको लागि पर्यटक बोलाउने गरी प्रयार गर्नुपर्ने अध्येता दाहालको भनाइ छ ।

अन्नपूर्णलाई ‘किलर माउण्टेन’ भन्ने गरिएको छ तर हिमाल आफैंमा मान्छे मार्ने नहुने र तयारीका साथ उच्च साहसिक आरोहणको लागि विश्वभरिबाटै मान्छेलाई आकर्षित गर्न सकिने आरोही पूर्णिमा श्रेष्ठ बताउँछिन् । प्रदेश र स्थानीय तह मिलेरै पनि अन्नपूर्णको रुट, होटल तथा लजको व्यवस्थापन गर्न सके उत्तरी बेसक्याम्पसम्म छोटो र रोमाञ्चक पदयात्राका लागि आइरो लाग्न सक्ने उनको बुझाइ छ । ‘रुट राम्रो नभएकै कारण मानिसहरु हेलिकप्टरमा बेसक्याम्प पुगिरहेका छन्,’ उनी भन्छिन् ।

अन्नपूर्ण हिमालप्रति जिज्ञासा र चासो बढाउने गरी प्रचार गर्ने तथा हिमालसँग यहाँका मान्छेका जनजीवनलाई जोड्दै जाने हो भने जेठो हिमालको वैभव फराकिलो हुने श्रेष्ठको भनाइ छ । तेन्जिङ नोर्गे विश्वसामु चिनिँदा मौरिस हर्जोगसँगै जेठो हिमाल आरोहण गरेका आङ् थार्के शेर्पा चाहिँ छायामा परेको अनिश दाहाल बताउँछन् ।

‘आरोहणको पायोनियर हिमाललाई हामीले खुम्च्याइरहेका छौं । विश्व बजारमा अन्नपूर्णसँग गतिविधि नै पुर्‍याउन सकेनौं,’ दाहाल भन्छन्, ‘आङ् थार्केलाई पहिलो शेर्पा गाइडको रुपमा चिनाउन सकिन्छ । वास्तवमा अन्नपूर्ण प्रथम हिमाल आरोहणा अध्ययनको म्युजियम नै बन्न सक्छ ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?