+
+

अब वीरगञ्जमै हुने भयो रोयल इन्फिल्डको एसेम्बली

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १३:३०

काठमाडौं । रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमा नै मोटरसाइकल सम्पूर्ण रूपमा एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ । मध्यम आकारको (२५० सीसी – ७५० सीसी) मोटरसाइकलहरूमा विश्वव्यापी बजारमा नै अग्रणी मानिएको रोयल इन्फिल्डले वीरगञ्जमा एसेम्बली युनिटको स्थापना गरेको छ ।

भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र बाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा सीकेडी एसेम्बली युनिट खडा गरेको छ । नेपालमा बन्ने सीकेडी युनिट पाँचौँ हो । यस युनिटको स्थापनाले सार्क क्षेत्रमा नै आफ्नो व्यापार विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ ।

रोयल इन्फिल्डका सीईओ बी गोविन्दराजनले नेपालमा सीकेडी युनिटको उद्घाटन भएकोमा यसमा संलग्न टोलीलाई बधाई दिँदै कम्पनीको विश्वव्यापी महत्त्वाकाङ्क्षा बारे धारणा राखेका थिए । ‘पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा मध्यम आकारको मोटरसाइकलको विकास र विस्तार गर्ने हाम्रो प्रयास रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा हामीले ठूलो सफलता पनि हासिल गरेका छौँ । रोयल इन्फिल्ड अब बेलायत, कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता बजारहरूमा मध्यम-खण्डका मोटरसाइकल ब्रान्डहरूमध्ये शीर्ष स्थानमा छ,’ उनले भने ।

विश्वव्यापी बजारसँग नजिक हुने हाम्रो रणनीतिले वास्तवमै राम्रो परिणाम दिएको उनले बताए । एसिया प्यासिफिक र दक्षिण अमेरिकामा चार वटा सीकेडी युनिटहरू सफलतापूर्वक स्थापना गरेको भन्दै उनले हालै मात्र यूकेमा कम्पनीले प्रत्यक्ष व्यापार सुरु गरेको बताए । अन्तर्राष्ट्रिय बजार विस्तारको योजना स्वरूप नै नेपालमा व्यापार विस्तारको ठूलो सम्भावना देखेरै नयाँ सीकेडी युनिट खडा गरिएको भन्दै उनले विश्वव्यापी रूपमा सम्मानित उत्कृष्ट मोटरसाइकलहरू नेपालका राइडरहरूका लागि उत्पादन गर्ने बताए ।

नेपालमा मोटरसाइकल बजारको आशलाग्दो पुनर्जागरण हुने सङ्केत रहेको कम्पनीको भनाइ छ । रोयल इन्फिल्डले पनि नेपाली बजार पर्याप्त रूपमा वृद्धि हुने ठलो सम्भावना रहेको कम्पनीले बताएको छ ।

महामारीअघि नेपालमा हरेक वर्ष  ठूलो संख्यामा मोटरसाइकल बिक्री हुन्थे । ती मध्ये करिब ६०-६५ प्रतिशत मोटरसाइकलहरू १५० सीसीभन्दा मुनिका थिए । यो बजार आगामी वर्षहरूमा १०-१५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आगामी दिनमा उत्कृष्ट र मूल्यवान् मोटरसाइकलको माग बढ्नेमा रोयल इन्फिल्ड विश्वस्त छ । रोयल इन्फिल्डका सुविधाजनक, भरपर्दो र उच्च टर्क भएका मेसिनहरू यहाँको सवारी शैली र कठिन भूभागका लागि उपयुक्त हुने विश्वास कम्पनीको छ ।

सीकेडी युनिटको उद्घाटन गर्न र नेपाली बजारका लागि नयाँ मोटरसाइकल लन्च गर्न काठमाडौँ आएका रोयल इन्फिल्डका सीसीओ यादवविन्द्र सिंह गुलेरियाले नेपालको मोटरसाइकल बजारका लागि एउटा महत्त्वपूर्ण क्षण भएको बताए । त्रिवेणी समूहसँगको साझेदारीमा वीरगञ्जमा सीकेडी युनिट सञ्चालन हुनु भनेको यो क्षेत्रमा बढ्दो सम्भावना तथा मोटरसाइकल चढ्ने समुदायप्रति हाम्रो प्रतिविद्धताको प्रमाण भएको उनले बताए ।

रोयल इन्फिल्डले उत्पादन गर्ने गरेको मोटरसाइकल नेपालको स्थानीय भू-बनोटको लागि उपयुक्त हुने कम्पनीले बताएको छ । कम्पनीले टाइमलेस क्लासिक ३५० नयाँ एवम् आकर्षक अवतारमा र एडीभी क्रसओभर स्क्र्याम ४११ लञ्च पनि गरेको छ । नेपालमा बजार विस्तार गर्ने कम्पनीको प्रतिबद्धता अनुसार रिटेल नेटवर्कलाई १८ बाट बढाउँदै आगामी वर्षमा ३५ पुर्‍याउने लक्ष्य रहेको कम्पनीको भनाइ छ । ३५ वटा  रिटेल नेटवर्कहरु विभिन्न ३० सहरमा विस्तार गरिने कम्पनीले बताएको छ ।

प्रति वर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्न सक्ने क्षमतासहित वीरगञ्जमा एक लाख वर्ग फिटमा फैलिएको अत्याधुनिक प्रविधियुक्त एसेम्बली युनिट तयार गरिएको र यसले नेपालमा बढ्दो माग पुरा गर्न सहज हुने विश्वास कम्पनीको छ । यस युनिटमा विशेष गरी नेपाली बजारका लागि सार्वजनिक गरिएका नयाँ क्लासिक ३५० र स्क्र्याम ४११ को उत्पादन हुनेछ ।

कति पर्छ मूल्य ?

कम्पनीका अनुसार नेपालमा क्लासिक ३५० र स्क्र्याम ४११ आजैदेखि टेस्ट राइड, बुकिङ र खुद्रा बिक्रीका लागि उपलब्ध रहेका छन् ।

नेपालमा सार्वजनिक गरिएका क्लासिक ३५० को मूल्य ४ लाख ९९ हजार र स्क्र्याम ४११ को मूल्य ६ लाख ६० हजार रूपैयाँ रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?