+
+

बाँदरको मानवशास्त्र

जब कसैले आफ्नो कुल, रीतिरिवाज, धर्म छोड्छ, त्यसको हालत मान्छेको जस्तै हुन्छ । बाँदरले जब आफ्नोपन, धर्म, संस्कार छोड्छ, बिग्रन्छ, तब मान्छे बन्दछ । त्यसैले प्राकृतिक स्वभाव कहिल्यै पनि नछोड्नु ।

कृष्णप्रसाद सुवेदी कृष्णप्रसाद सुवेदी
२०८० जेठ २२ गते ८:२५

एक हुल केटाकेटी गफिंदै गौशालाबाट पशुपतिनाथ मन्दिर जाँदैथिए । एउटाले बाटोको पेटीमा एक हुल बाँदरलाई देखाउँदै ‘ऊ ! हेर-हेर ! बाँदर-बाँदर’ भन्दै करायो । ढुङ्गाले हान्यो । अर्काले ‘हाम्रो पुर्खा एउटै तर यिनीहरू अझै बाँदरै भएर रहिरहे, हामी मान्छे भयौं’ प्रफुल्ल हुँदै भन्यो ।

अर्का एक हुल दर्शनार्थी बसको झ्यालबाट हाँगामा बसेका बाँदरलाई औंलाले देखाउँदै ‘ऊ बाँदर-बाँदर’ भन्दै चिच्याए । कसैले फोटो खिचे । भिडियो बनाए । अर्की एक वृद्धा महिला सकी-नसकी लठ्ठी टेक्दै पशुपतिनाथको दर्शन गर्न हिंड्दै थिइन् ।

मान्छेको हर्कत देखेर बाँदर पनि छक्क पर्दै हेर्दै थिए । कोही बाँदरले मान्छेलाई देखेर ताजुब माने ! ‘ऊ ! हेर-हेर मान्छेको स्वभाव ! प्रकृतिले दिएको खुट्टाले हिंड्न छोडेर मोटरमा बसेका’ भन्दै एक हुल बाँदर खित्का छोडेर हाँसे । उफ्री-उफ्री नाचे ।

बाटाको पेटीमा बसेका सानी बाँदर्नीले यी सारा दृश्य नियालिरहेकी थिइन् । ‘तिनीहरूले हामीलाई किन गिज्याएको ? किन हाम्रो फोटो खिचेको ?’ भन्दै आफ्नी हजुरआमालाई नातिनीले सोधिन् ।

बाँदर्नी हजुरआमाले भनिन्, ‘हेर नातिनी ! यिनीहरू आफूलाई मानिस हौं भन्छन् । अरूले मानून् या नमानून् यिनीहरूले आफूले आफूलाई यस धर्तीका सबैभन्दा चेतनशील, बुद्धिमान, विवेकशील, सामाजिक प्राणी हौं भन्दै दाबी गर्छन् । हामीमा बुद्धि विवेक छ । सृजनशीलता छ । हामी सर्वोत्कृष्ट प्राणी हौं, त्यसैले यस धर्तीमा राज गरेका छौं भन्छन् । यस ब्रहृमाण्डमा बाँकी सारा जीव तथा प्राणीलाई यी मान्छेले तुच्छ सम्झन्छन् ।’

‘हाम्रो पुर्खा एउटै तर मान्छे कसरी विद्वान् चेतनशील भयो ? के साँच्चै हो त ?’ नातिनी बाँदर्नीले सोधिन् ।

‘सतहमा हेर्दा त्यस्तो लाग्न सक्छ । तर त्यस्तो होइन । कुनै बाँदरले कहिल्यै मान्छेलाई जिस्क्याएको, ढुंगाले हानेको तिमीले देखेकी छौ ? बाँदरले आफ्नो प्रतिरक्षाको लागि मात्रै मान्छेलाई चिथोरेको छ । डर देखाएको छ । तर्साएको छ । तर विना कारण कहिल्यै मान्छेलाई बाँदरले दुःख दिएको छैन । र दिंदैन पनि । यो बाँदरको धर्म हो । बाँदर कहिल्यै पनि मान्छे जस्तो क्षुद्रता देखाउँदैन । यही नै बाँदरको सुन्दरता हो । बाँदर हुनुमा गर्व गरौं’ बाँदर्नी हजुरआमाले भनिन् ।

‘मान्छे लोभ, कुण्ठा, अभावको जिन्दगी बाँच्दछ । त्यसैले मान्छे रोगी छ । बिरामी र दुःखी छ । हामी बाँदरलाई मान्छेको जस्तो आडम्बर, देखासिकी चाहिंदैन । हाम्रो जीवन सरल छ । शान्त छ । बाँदर जीवन सुन्दर छ । त्यसैले हामी मान्छेभन्दा राम्रा र स्वस्थ देखिन्छौं,’ बाँदर्नी हजुरआमाले भनिन् ।

उनले अगाडि थपिन्, ‘तिमीले भने जस्तै मान्छे र हामी बाँदरको पुर्खा एउटै हो । आजभन्दा करिब २५ लाख वर्षअघि हाम्रो कुलमा एक धुन्धुकारी निक्ल्यो । परापूर्वदेखि सततः चलिआएको चार खुट्टा टेकेर हिंड्ने परम्परालाई त्याग्दै दुई खुट्टा टेकेर उभिन थाल्यो । विस्तारै हिंड्न थाल्यो । कालान्तरमा त्यसका सन्तान दरसन्तानलाई त्यसैगरी हिंड्न सिकायो । अह्रायो । नमान्नेलाई भकुर्दै हिंड्न बाध्य बनायो । हो, त्यही धुन्धुकारीका हाँगाबिंगा फैलिंदै गए । बढ्दै बढ्दै एउटा ठूलो जमात भयो । त्यही जमातलाई कालान्तरमा तिनीहरूले हामी मान्छे हौं भने ।’

नातिनीले थप कौतूहल पोख्दै भनिन्, ‘यसरी दुई खुट्टा टेकेर हिंड्नु, नसक्दा तथा चाँडो पुग्न मोटरमा चढेर हिंड्नु त ठिक होइन र ?’

एकक्षण सोच्दै बाँदर्नी हजुरआमाले भनिन्, ‘जनावरको जगतमा जब कुनै बच्चा जन्मन्छ, उसले माउ जस्तै धर्तीमै उभिन खोज्छ । चार-खुट्टा टेकेर नै उभिन्छ । चार खुट्टा टेकेर नै हुर्कन्छ, बढ्छ । र जीवनभर चार खुट्टा टेकेर नै हिंड्छ, दौडन्छ । जब वृद्ध तथा अशक्त हुन्छ, चार खुट्टा टेक्न सक्दैन तब उसले प्राण त्याग्दछ ।

अब मान्छेको कुरा गरौं । बालक जन्मेको ५-७ महिनामा घिस्रन खोज्छ । विस्तारै-विस्तारै चारपाउ टेकेर नै हिंड्न लाग्छ । जब चार खुट्टा टेकेर हिंड्न लाग्दछ उसका आमा-बाबुलाई सहृय हुँदैन । आफू जस्तै बनाउन दुई खुट्टा टेकेर हिंड्न सिकाउँछन् । कथंकदाचित त्यो बच्चाले चार खुट्टाले मात्र टेकेर हिंड्यो भने त्यसका आमा-बाबुमा छट्पटाहट हुन्छ । बेचैनी सुरु हुन्छ । कसरी हुन्छ, त्यो बालकलाई दुई खुट्टाले टेकेर हिंडाउन सबै परिवार लाग्छन् । आफन्त लाग्छन् । छरछिमेकी लाग्छन् । अर्ती दिन्छन् । त्यति गर्दा पनि भएन भने अस्पताल कुदाउँछन् । धामी-झाँक्रीकोमा लान्छन् ।

यति गर्दा पनि भएन भने मन्दिरमा पुर्‍याउँछन् । पूजा गर्छन् । देवीदेवता गुहार्छन् । भाकल गर्छन् । यसरी सारा मान्छे लागेर त्यो बच्चालाई दुई खुट्टाले हिंड्न बाध्य पारेर छोड्छन् । त्यसलाई बिगारेर नै छाड्छन् । विचरा त्यो बालक अन्ततोगत्वा दुई खुट्टाले हिंड्न बाध्य हुन्छ ।

प्राकृतिक पद्धति गुणलाई यसो गर, उसो गर, यसो नगर, उसो नगर, हुँदैन-हुँदैन भन्दा, भन्दा थेत्तरो बनाएर बच्चालाई आफू जस्तै बनाइकन छोड्छन्, मान्छेले । उमेर, जवानी छँदा त दुई खुट्टाले हिंड्ला, तर बुढेसकालमा हिंड्न सक्दैनन् अनि सकी-नसकी तीन खुट्टा (लट्ठी टेकेर), वा चार खुट्टाले हिंड्छन् ।’

‘अघि एक वृद्धा विचरा कसरी लट्ठी टेकेर हिंड्दै थिइन्, तिमीले देख्यौ नि नातिनी’ बाँदर्नी हजुरआमाले भनिन्, ‘हाम्रो बाँदरको संसारमा मान्छेले जस्तो बाहिरी आडम्बर देखाउने तर असलियत दुःखैदुःख पीडाका नारकीय जीवन बाँच्नुपर्दैन ।’

‘मान्छे हेर्दा चिटिक्क सफा सुग्घर, हाँसीखुशी देखिन्छन् त ?’ बाँदर्नी नातिनीले जिज्ञासा राखिन् ।

‘त्यस्तो होइन । कुरो गहिरो छ । यसलाई म सविस्तारमा बताउँछु है’ भन्दै बाँदर्नी हजुरआमाले आफ्नो जीउ तनक्क तानिन् र भन्न थालिन्, ‘बरु, लौ मसँग हिंड । म तिमीलाई मान्छेको असली जिन्दगी देखाउँछु ।’

नातिनी र हजुरआमा बाँदर्नी पशुपतिबाट महाराजगञ्जतर्फ लागे ।

जंगलमा रमाउने बाँदर मान्छेले सिर्जेको साम्राज्यको बाटोमा हिंड्ने जोखिम उठाए । कहिले बाटोमा त कहिले बिजुलीका पोल, टेलिफोनका तारमा झुण्डिंदै बल्लतल्ल महाराजगञ्जस्थित शिक्षण अस्पतालको पानी ट्याङ्कीको टुप्पोमा पुगे ।

‘यो हामी बसेको वरिपरि ठूलो पर्खाल र त्यसभित्र घरैघर छन् नि ! यसलाई शिक्षण अस्पताल भनिन्छ’ बाँदर्नी हजुरआमाले बोल्दै गर्दा नातिनीले ‘ऊ त्यहाँ मान्छेको भीड के हो ?’ भन्दै सोधिन् ।

‘ती बिरामी मान्छे अस्पतालमा उपचार गर्न आएका’ हजुरआमाले भनिन् । ‘हामी बाँदर यसरी मानिस जस्तै बिरामी हुन्छौं त ?’ नातिनीले सोधिन् ।

‘हामी बाँदर सहजको जिन्दगी बाँच्दछौं । आनन्दको जीवन बाँच्दछौं । मान्छे लोभ, कुण्ठा, अभावको जिन्दगी बाँच्दछ । त्यसैले मान्छे रोगी छ । बिरामी र दुःखी छ । हामी बाँदरलाई मान्छेको जस्तो आडम्बर, देखासिकी चाहिंदैन । हाम्रो जीवन सरल छ । शान्त छ । बाँदर जीवन सुन्दर छ । त्यसैले हामी मान्छेभन्दा राम्रा र स्वस्थ देखिन्छौं’ बाँदर्नी हजुरआमाले भनिन् ।

उनले इशारा गर्दै भनिन्, ‘ऊ त्यहाँ महिलाहरू मात्रै ठूलो हलमा सुतेका देख्यौ ? ती बच्चा जन्माउन आएका हुन् । ऊ त्यो अर्को घरमा केटाकेटी मात्र छन् नि, त्यहाँ जन्मेका बच्चा बिरामी पर्दा उपचार गर्ने ठाउँ हो ।’

‘ऊ त्यो अर्को लामो गोठ जस्तोमा साना-ठूला महिला-पुरुष सबै हात-खुट्टामा सेतोपट्टी बाँधेका, खुट्टा पसारेका त कसैले हात घाँटीमा गलपासो जस्तो झुण्ड्याएर बसेका छन् नि ! त्यो के हो ?’ नातिनीले सोधिन् ।

‘ती मान्छे हात-खुट्टा भाँचेर आएका हुन्’, हजुरआमाले भनिन् ।

गाँठी कुरा के हो भने यस धर्तीका प्राणीले जिन्दगी दुई प्रकारले बाँच्न सक्दछन्ः मान्छे कृत्रिम जिन्दगी बाँच्न उद्यत छ । त्यसैले उसको जिन्दगीमा अभाव, अशान्त, बेचैन, निराशा व्याप्त छ

‘हामी बाँदर रूखमा जन्मन्छौं । रूखमै हुर्कन्छौं । तर, खै कुनै बाँदरको बच्चाले लडेर हातखुट्टा भाँच्यो भनेर अहिलेसम्म सुनेको छैन । तर भुईंमा बस्ने, मोटर चढेर जाने मान्छेको हातखुट्टा कसरी भाँचिन्छ’, छक्क पर्दै नातिनीले भनिन् ।

‘त्यही त छँदाखाँदाको प्राकृतिक जिन्दगी छोडेर कृत्रिम जिन्दगी जिउन खोज्दा मान्छे अभावै अभाव, असन्तोष, दुःख र पीडाको जिन्दगी बाँच्दैछ । विचरा मान्छेको दुखिया जिन्दगी’, लामो सुस्केरा लिंदै बाँदर्नी हजुरआमाले भनिन् ।

‘ऊ ती ! स-साना नानीहरूको पिठ्यूँमा गह्रौं झोला बोकाएर रुवाउँदै तिनका आमाबुवाले कहाँ लगेका होलान्’ नातिनी बाँदर्नीले छक्क पर्दै सोधिन् ।

‘ए त्यो !’ बाँदर्नी हजुरआमाले मुसुक्क हाँस्दै भनिन्, ‘तथाकथित सभ्य भनाउँदो मान्छेका बच्चाबच्चीलाई पढाउन भनेर स्कूलमा लगेका हुन् । तर ती बच्ची नाइँ स्कूल नजाने, घरमा मामुसँग बस्ने, खेल्ने भन्ने रुँदैछिन्’, हजुरआमाले भनिन् ।

‘यिनीहरू कहिलेसम्म स्कुल जान्छन् ?’ नातिनीलाई रोक्दै हजुरआमाले भनिन्, ‘भो यी विचराहरूको कुरा नगर । यिनीहरूको जीवनको एक तिहाइ जिन्दगी विद्वान् बनाउने बहानामा स्कुल, कलेज हुँदै विश्वविद्यालय नामको जेलमा बित्छ ।

अचम्म त के छ भने २५ वर्ष लगाएर पढ्नु केका लागि भन्दा गतिलो प्रमाणपत्र लिन रे ! जागिर पाउन रे ! अनि राम्रो जागिर किन भन्दा सुखको जिन्दगी बाँच्नको लागि रे ! कति हाँस्नु ! खै, हामी बाँदरको जगतमा कसैले कुनै बाँदरलाई त रूख चढ्न, उफ्रिन खप्पिस् छस् भनेर कसैले प्रमाणपत्र दिएको छ त ? जसलाई आफूलाई आफ्नो क्षमतामा विश्वास हुँदैन उसैलाई अर्काले दिने झुटो ढाडसको नाम प्रमाणपत्र हो ।

प्रमाणपत्र नभए पनि हामी सबै बाँदर आनन्दको जीवन बाँचेका छौं । सबै हाँसीखुसी छौं । कुनै बाँदर भोकै मरेका छैनन् । कुनै बाँदरले निराशा तथा कुण्ठाले मान्छेको जस्तो आत्महत्या पनि गर्दैनन् । न कुनै बाँदर बिरामी भएर अस्पताल नै लैजानुपरेको छ ।’

‘ऊ त्यो सानो घरमा मान्छे फलफूल, फूल-अक्षता, कागज राख्दै ढुंगामा किन टाउको राखेका’, नातिनी बाँदर्नीले सोधिन् ।

‘आफ्नो स्वार्थको लागि मान्छे जति पनि गिर्न सक्छ । उसले हे भगवान ! मेरा आफन्तलाई बचाइदेऊ भन्दै ढुंगालाई ढोग्दैछ । अनुनय विनय गर्दैछ । फलफूल चढाउँदैछ । त्यस्तो विद्वान् भन्ने मान्छेलाई जन्मपछि मृत्यु अवश्यम्भावी छ । मृत्युलाई टार्न सकिंदैन भन्ने सामान्य ज्ञान पनि छैन । बाँदर एकपल्ट मर्दछ भने मान्छे बारबार मृत्युको भयले मर्दै बाँचेको हुन्छ ।’
‘त्यो भगवानलाई चढाएको उनले लिन्छन् त ?’ नातिनीले सोधिन् ।

हजुरआमा बाँदर्नी मुस्कुराउँदै भनिन्, ‘साँच्चै भगवानले लिने भए मान्छे जस्तो स्वार्थी प्राणीले कहिल्यै भगवानलाई चढाउने थिएन । त्यो चढाएको फलफूल अन्ततः मान्छेले नै भोग गर्ने भएकाले चढाएको हो । अनि त्यो कागजको खोस्टो भनेको उनीहरूको पैसा हो । त्यो पैसाले आफूलाई चाहिने सामान, चिजबिज किन्नलाई बनाएका हुन् ।’

‘अनि, त्यो ढुंगाको मूर्तिले पनि पैसा लिएर बजारमा सामान किन्छ त ?’ नातिनीले अचम्म मान्दै सोधिन् ।

‘मान्छेको जात अनौठो छ । उसको खाना र हामी जनावरको खाने कुरा उस्तै हो । उसले पनि खाने भनेका मूलतः अन्न र सागपात, फलफूल साथै माछा-मासु नै हो । तर अन्नपात, फलफूल सधैंभरिलाई भण्डारण गर्न सकिंदैन । एकठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न पनि गाह्रो हुने भएकाले पैसाको चलन चलाए । यो पैसा खाएर बाँचिंदैन । यो त कल्पना हो । अहिले पैसाको ठाउँमा डिजिटल पेमेन्ट चलाउन थाले । मान्छे झुटको, कल्पनाको सहारामा बाँच्न विवश छ ।

मान्छेले यो सबै डर, त्रास, असुरक्षा, भयबाट मुक्त हुन गरेको हो । मान्छेले मन्दिरमा भगवानलाई फलफूल चढाएको केका लागि भन्दा अर्को जुनीमा त्योभन्दा धेरै पाइन्छ भनेर पनि हो रे ! अर्को जुनीमा सुख पाइन्छ भनेर हो रे ! हामी बाँदरको संसारमा त्यस्तो कुरामा कसैले विश्वास गर्दैन । एक बालक बाँदरलाई उसको हातमा भएको स्याउ भोलेबाबालाई चढायौं भने तिमीले अर्को जुनीमा एकबोरा पाउँछौ भनेर सारा संसार लागेर सम्झाउँदा पनि उसले विश्वास गर्दैन । बाँदर यथार्थमा बाँच्दछ । कल्पनामा विश्वास गर्दैन ।’

‘अघि बाटामा आउँदा एउटा झोक्राएको कुकुरलाई कारमा चढाएर कहाँ लगेका हुन् त ?’ नातिनीले भनिन् ।

‘ए त्यो कुकुर बिरामी भएर जनावरको उपचार गराउने अस्पताल लगेका हुन्’, हजुरआमाले भनिन् ।

‘विचरा कुकुर ! जब मान्छेसँग बस्न थाल्यो, मान्छेको संगत गर्न थाल्यो उसलाई पनि मान्छेको रोग सर्‍यो । मान्छेलाई जस्तै उसलाई पनि सुगर, थाइराइड, उच्च रक्तचाप लगायत डिप्रेसन, एन्जाइटी जस्ता समस्याले ग्रस्त बनाउन थाल्यो । मान्छेको जस्तो दुखिया जिन्दगी बाँच्न बाध्य भयो । जब कसैले आफ्नो कुल, रीतिरिवाज, धर्म छोड्छ, त्यसको हालत मान्छेको जस्तै हुन्छ । बाँदरले जब आफ्नोपन, धर्म, संस्कार छोड्छ, बिग्रन्छ, तब मान्छे बन्दछ । त्यसैले प्राकृतिक स्वभाव कहिल्यै पनि नछोड्नु । कहिले पनि झुक्किएर मान्छेको संगत नगरेस् है’, हजुरआमाले भनिन् ।

गाँठी कुरा के हो भने यस धर्तीका प्राणीले जिन्दगी दुई प्रकारले बाँच्न सक्दछन्ः मान्छे कृत्रिम जिन्दगी बाँच्न उद्यत छ । त्यसैले उसको जिन्दगीमा अभाव, अशान्त, बेचैन, निराशा व्याप्त छ ।

हामी बाँदर लगायत सबै जनावर, प्राणी प्राकृतिक जिन्दगी बाँच्दछौं । प्राकृतिक जिन्दगी शान्त, सरल र आनन्दमय हुन्छ । हाम्रो आनन्दको जीवन बाँच्ने तरिकाले हामी सारा प्राणीको मात्र हैन पूरै धर्तीको भलो छ । यदि यस पृथ्वीलाई कुनै प्राणीबाट खतरा छ भने त्यो केवल एउटै प्राणी मान्छेबाट छ । यो धर्ती तथा सारा सृष्टिलाई जीवन्त बनाउने हो भने हामी सबै मिलेर मान्छेलाई सुधार्न लाग्नुपर्दछ । यसैमा हामी सबै प्राणी तथा जीव-जन्तु लगायत यस धर्तीको पनि भलो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?