२२ जेठ, काठमाडौं । नेपाल वनस्पति घिउ तेल उत्पादक संघले भन्सार महसुल वृद्धि गर्ने सरकारको नीतिले २६ वटा तेल उद्योग बन्द हुने अवस्थामा पुग्ने दाबी गरेको छ । सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटमार्फत तेल उद्योगले आयत गर्ने तोरी, भटमास, पाम लगायतका तेलका कच्चा पदार्थको भन्सार महसुल एक प्रतिशतबाट १० प्रतिशत पुर्याइएको संघका अध्यक्ष विकास दुगडले बताए ।
भन्सार महसुल बढाउने सरकारको नीतिले २६ वटा उद्योग बन्द हुने अवस्थामा पुग्ने संघका अध्यक्ष दुगडको दाबी छ । उनले भने, ‘भारतबाट चोरी तस्करी भएर खानेतेल भित्रिएको अवस्थामा १ प्रतिशत रहेको भन्सार महसुललाई बजेटले १० प्रतिशत बनाएकाले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न सक्दैन । सरकारले हाम्रो समस्या समाधान गर्छ भन्ने विश्वास छ ।’
भारत सरकारले कच्चा तेलको भन्सार महसुल घटाएका कारण समस्यामा परेको नेपाली उद्योगलाई सरकारले जोगाउनु पर्नेमा थप भन्सार बढाउनु उपयुक्त नभएको उद्योगी अमित मोरले बताए ।
भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिरेर नेपाली उद्योगले व्यापार गर्न नसक्ने भन्दै मोरले तत्काल सरकारले भन्सार महसुल घटाउनु पर्नेमा जोड दिए ।
संघकाअनुसार नेपाली बजारमा वार्षिक ३ लाख टन खानेतेलको माग छ । भन्सार महसुल १ प्रतिशत हुँदा पनि नेपाली उद्योगले अहिलेसम्म २ लाख टनमात्रै तेल बिक्री गर्न सकेको जनाएको छ ।
चालु आर्थिक वर्षको १० महिनामा मात्रै ५० हजार टन तेल अवैध माध्यममा भित्रिएको हुनसक्ने भन्दै संघले यस्तो कार्य नियमनका लागि सरकारसँग माग समेत गरेको छ । अवैध तेलले बजार कब्जा गरिरहेको अवस्थामा भन्सार महसुल बढ्दा नेपाली उद्योग टिक्नै नसकेको संघले बताएको छ ।
प्रतिक्रिया 4