+
+

कोशी प्रदेश सरकार छाड्दै माओवादी, औपचारिक निर्णय आज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते ७:००
कोशी प्रदेश सभामा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ।

२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो । संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।

सोमबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार माओवादीले मंगलबारको बैठकबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्ने छ ।

कोशी प्रदेश सभाका माओवादीका एक नेताले भने, ‘माथिबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्देशन आएको छ, आज त्यसलाई हामीले औपचारिकता दिँदैछौं ।’ ती नेताले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको पहल पनि अघि बढाउने बताए ।

नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।

माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् ।

माओवादीभित्र सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याएपछि सरकार छाड्ने कि अगाडि नै भन्ने विषयमा बहस हुँदै आएको थियो । तर त्यस अगाडि नै माओवादीले सरकार छाड्न लागेको हो ।

नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन र केन्द्रको सत्ता गठबन्धन अनुसार अघि बढ्न माओवादीलाई दबाव दिँदै आएका छन् । यसअघि कांग्रेसले सरकारबाट बाहिरिन र केन्द्रको गठबन्धन अनुसार अघि बढ्न आग्रह गर्दै माओवादीलाई ५ जेठमा पत्र नै पठाएको थियो ।

प्रदेश सभामा एकमात्र सिट रहेको जसपा भने सरकारबाट बाहिरिसकेको छ । जसपा बाहिरिएपछि माओवादीलाई पनि सरकार छाड्न दबाब बढेको छ ।

९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४०, माओवादीका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जनाको समर्थन कायम छ । यो भनेको प्रदेशसभाको प्रष्ट बहुमत हो ।

अहिले विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद मात्रै छन् । माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् । एमाले र राप्रपाको सिट संख्याले मात्रै प्रदेशसभाको बहुमत नपुग्ने भएकाले उनले विश्वासको मत लिनुपर्ने अवस्था आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?