+
+

कोशीमा माओवादीको सत्ता बार्गेनिङ : सरकार नछोडी मुख्यमन्त्रीमा दाबी

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ २२ गते २१:५३
कोशी प्रदेश माओवादी संसदीय दलक बैठकको फाइल तस्वीर ।

२२ जेठ, विराटनगर । कोशी प्रदेशमा आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ ।

नेताहरुका अनुसार, प्रदेश सरकार छोड्नेबारे प्रदेशसभा संसदीय दलमा छलफल भएपनि नयाँ बन्ने सरकारको नेतृत्व आफै गर्न पहल लिने निर्णय भएको हो ।

‘समर्थन फिर्ता लिने/नलिने विषयमा भोलि पार्टीका नेताहरुसँग छलफल गर्ने निर्णय भयो’ प्रदेशसभा सदस्य गणेश उप्रेतीले भने, ‘तर नयाँ सरकारको नेतृत्व माओवादी केन्द्रले लिने गरी पहल गर्छौ, निर्णय त्यही हो ।’

नेकपा एमाले नेतृत्वको सरकार छोड्न दबाव बढेपछि माओवादी केन्द्रले सोमबार प्रदेशसभा संसदीय दलको बैठक बोलाएको थियो । तर सरकार छोड्नेबारे छलफल गर्ने निर्णय गरेर माओवादी बैठक सकियो । ‘आफ्नै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय गर्नु सरकार छाडे बराबर हो’, बैठकमा सहभागी एक नेता भन्छन्, ‘सरकार छोड्ने निर्णय पनि अब ढिलो हुँदैन ।’

माओवादीलाई सरकार छोड्न गत ५ जेठमै नेपाली कांग्रेसले पत्र पठाएको थियो । मौखिक आग्रहले नभएर कांग्रेस लिखित पत्र नै पठाउँदा पनि माओवादीले सरकार छाडेको छैन । तर सरकार छोड्न माओवादीलाई दबाव भने बढेको छ ।

मुख्यगरी गत १७ जेठमा मात्रै जनता समाजवादी पार्टी (जसपा) ले सरकार छोडेपछि माओवादी दबावमा परेको देखिन्छ । प्रदेशको नामकरण सच्याउन सरकार तयार नभएको भन्दै स्वास्थ्य मन्त्री रहेकी जसपाकी नेता निर्मला लिम्बुले राजीनामा दिएकी थिइन् ।

तर एक सिट रहेको जसपाले सरकार छोड्दैमा मुख्यमन्त्री हिक्मत कार्कीको बहुमत गुमेको छैन । ९३ सदस्यीय प्रदेशसभामा अहिले पनि कार्कीसँग एमालेको ४०, माओवादीको १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ६ जनाको समर्थन छ । यो भनेको प्रदेशसभाको प्रष्ट बहुमत हो ।

अहिले विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीको ४ र जसपाका एक सांसद मात्रै छन् । यदि माओवादीले सरकार छोड्ने निर्णय लिए भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् । एमाले र राप्रपाको सिट संख्याले मात्रै प्रदेशसभाको बहुमत नपुग्ने भएकाले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ ।

तर गत २६ पुसमा एमाले नेता कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको माओवादी र राप्रपा दुवैले सोमबार सरकार छोड्ने निर्णय गरेन । बरु दुवै दलले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । संघसहित अरु प्रदेशमा समेत एमालेलाई साथ दिदै आएको राप्रपाको कुरा कोशीमा पनि प्रष्ट छ ।

‘मन्त्री त यतै छँदैछ, उता पनि सरेर त्यही मन्त्री हुने हो भने किन ओल्लो घर, पल्लो घर गर्नु ?,’ राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने, ‘मुख्यमन्त्री बन भनेर कमिटमेन्ट गर्छन् भने ठीक छ । होइन भने हल्लिने चाङमाथि बसेर असुरक्षित हुँदैनौं ।’ उनका अनुसार, प्रदेश सरकारको नेतृत्व पाएमा राप्रपा गठबन्धन बदल्न तयार छ ।

प्रदेशसभाको अंकगणितले साथ दिने देखेपछि राप्रपाले एमालेलाई छोड्न पनि तयार हुने संकेत गरेको छ । प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा मिल्दा पनि आवश्यक प्रष्ट बहुमत नहुने देखेरै राप्रपाले सरकारको दाबी गरेको बुझ्न सकिन्छ । यी दलहरु मिल्ने हो भने प्रदेशसभामा ५२ सिट हुन्छ ।

तर राप्रपा नभएको अवस्थामा कांग्रेस नेतृत्वमा बन्ने नयाँ गठबन्धनसँग ४६ सिट मात्रै हुन्छ । सभामुख माओवादी केन्द्रको भएकाले एक सिट कम छ । त्यही लाभ उठाउन कोशिस गर्ने राप्रपाको नीति देखिन्छ । राप्रपाले यस्तो निर्णय लिएको केही घण्टापछि माओवादी केन्द्रले पनि अगाडि आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने अडान गर्‍यो ।

जबकी अरु प्रदेशमा एमाले बाहेकको सरकार बनिसकेको छ । गत १३ फागुनमा माओवादी केन्द्रले गठबन्धन बदल्दै कांग्रेस नेतृत्वमा गएपछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नै फेरियो । बागमती र कर्णालीमा माओवादी केन्द्रमै सरकार रहेकाले सत्ता गठबन्धनका सहयात्री फेरियो । जसपाले माओवादीसँगै गठबन्धन फेरेकाले मधेश प्रदेशमा जसपाकै सरकार छ ।

तर कोशी प्रदेशमा भने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न १० पुसमा एमालेसहितका दलहरुसँग बनेकै गठबन्धन कायम छ । यो सरकारमा माओवादीबाट दुर्गा चापागाईंं भौतिक पूर्वाधार र जीवन आचार्य वन पर्यटन तथा वातावरण मन्त्री छन् ।

कांग्रेसका एक नेता भने माओवादीले दोहोरो नीति लिनुको पछाडि सत्ताको बार्गेनिङ भएको बताउँछन् । ‘उहाँहरुले राष्ट्रिय राजनीतिक परिस्थिति बुझ्नुभएको छैन भन्ने लाग्दैन । तर त्यही (सरकारमा) बसिरहनुमा अहिलेको भन्दा धेरै चाहियो भन्ने होला’, ती नेता भन्छन् ।

यसअघि कार्की नेतृत्वको सरकारमा सहभागी हुनु अगाडि माओवादीले लिएको अडानले पनि कांग्रेसका नेताको अनुमानलाई बल पुग्छ । २४ पुसमा एमाले नेता कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेपनि आलोपालो मुख्यमन्त्रीको सहमति हुनुपर्ने अडानसहित तत्काल सरकारमा सहभागी भएको थिएन । तर पार्टी केन्द्रले निर्देशन दिएपछि ७ माघमा सरकारमा सहभागी भएको थियो ।

अहिले फेरि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय लिएपनि एमाले सरकारमा अब माओवादी धेरै रहन नसक्नेमा कांग्रेस नेताहरु ढुक्क छन् । ‘सरकार बदलिनुको विकल्प छैन । प्राविधिक कारणले ढिलाइ भएको होला, हामी ढुक्क छौं’, कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राई भन्छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?