+
+

युक्रेनको निप्रो नदीको बाँध भत्किँदा हजारौं मानिस विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते ६:०८

२४ जेठ, काठमाडौं । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन् । यसबाट ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ ।

निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ ।

८० हजार मानिसलाई त सुरक्षित स्थानमा सारिएको छ । यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन् ।

बाढी र डुबानबाट प्रभावितहरुलाई खेरसानसँग जोडिएको मिकोलाइब भन्ने स्थानमा अस्थायी शिविर बनाएर राखिएको छ । प्रभावितहरुका लागि खाना, कपडा र औषधिको व्यवस्था गर्ने काम भइरहेको छ ।

रुसलाई दोष

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बाँध भत्किनुमा रुसलाई दोष दिएका छन् । जानीजानी बाँधमा बम आक्रमण गरेर भत्काइदिएको रुसमाथि आरोप छ ।

रुसले आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ र युक्रेनकै गोलीबारीका कारण बाँध भत्किएको भनेको छ ।

बीबीसीका अनुसार युक्रेनको आरोप र रुसको खण्डन दुवै पुष्टि हुन सकेको छैन ।

यो बाँध भएको क्षेत्र रुसले नियन्त्रणमा लिएको थियो । यो दक्षिणी युक्रेनका भूभागको तटीय क्षेत्रमा पानी आपूर्तिको महत्वपूर्ण च्यानल मानिन्छ । यसबाट किसानहरुलाई सिँचाइ तथा खानेपानीको सुविधा पुर्याइएको थियो ।

जोपोरिजास्थित आणविक ऊर्जा संयन्त्रमा पनि पानी पुर्याइएको छ । त्यो पानीले ऊर्जा संयन्त्रलाई चिस्याउन मद्दत गरेको छ । बाँध भत्किएपछि ऊर्जा संयन्त्रमा पानी अपुग हुन्छ कि भन्ने चिन्ता व्यक्त भइरहेको छ ।

 

निप्रो नदीबाट विभिन्न जलविद्युत आयोजनाबाट बिजुली निकालिएको छ । बाँध भत्किएपछि ती जलविद्युत आयोजनामा पनि पानी घटेर बिजुली उत्पादन प्रभावित हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?