+
+

कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ

शुभेच्छा घिमिरे शुभेच्छा घिमिरे
२०८० जेठ २४ गते १३:५१

आजभोलि कपाल झर्ने, पातलिने, टुक्रिनेजस्ता समस्या धेरैलाई देखिन्छ । त्यसको मुख्य कारण वंशाणुगत समस्या, बुढ्यौली, हार्मोनको असन्तुलन हुन् ।

कपालमा प्रयोग गर्ने स्याम्पू, कन्डिसनर, हेयर कलर, ब्लीचजस्ता केमिकलयुक्त सामग्री र हेयर स्टाइलिङका लागि प्रयोग गरिने सामग्री स्ट्रेटनर, कर्लर, ब्लोड्रायर आदिले पनि यो समस्या निम्त्याउने गर्छ । कोरोना संक्रमण र डेंगुका कारण पनि मानिसहरुमा कपालसम्बन्धी समस्या बढेको छ । कपालसम्बन्धी समस्या बढेसँगै यसका थुप्रै खाले समाधान पनि उपलब्ध छन् ।

सुख्खा र फुर्र परेको कपालका लागि ‘केराटिन ट्रिटमेन्ट’ प्रयोग हुने गरेको छ भने झरेको कपाल फेरि उमार्ने भन्दै विभिन्न खाले तेल र स्याम्पू पनि बजारमा भेटिन्छन् । त्यो कत्ति प्रभावकारी होला या नहोला भन्ने छुट्टै बहसको विषय हो ।

तर समाधानका लागि भन्दै ती सामग्री पनि बजारमा चलनचल्तीमा छन् । जस्तो, औषधि भए पनि चिकित्सकको सल्लाह लिएर मात्र त्यस्ता औषधि प्रयोग गर्नु उपयुक्त हुन्छ । चिकित्सकको सल्लाहबिना जथाभावी प्रयोग गर्दा झन् समस्या बढ्न पनि सक्छ ।

तर समस्या भइसकेपछि यसबाट कसरी मुक्ति पाउने ? यसका लागि अहिले बजारमा ‘हेयर एक्सटेन्सन’ आएको छ । हेयर एक्सटेन्सन कपाल पातलो हुनेका लागि मात्रै होइन, कपालमा नयाँ नयाँ प्रयोग गर्न चाहनेका लागि पनि रोजाइ बन्दै गएको छ ।

हेयर एक्सटेन्सन धेरै रंग, लम्बाइ र मोटाइमा पाइन्छ । कपाल छोटो छ तर लामो कपाल बनाएर विवाह वा कुनै पार्टीमा जान मन लाग्यो भने हेयर एक्सटेन्सन उपयुक्त बन्न सक्छ । हेयर एक्सटेन्सन प्रयोग गरेर कपाललाई लामो बनाउन सकिन्छ । आफ्नो कपालमा रंग लगाउँदा वा विभिन्न प्रयोग गर्दा कपाल बिग्रिने पनि जोखिम हुन सक्छ ।

कपालमा रंग लगाउँदा बिस्तारै विभिन्न खाले समस्या हामीले भोग्ने गरेकै छौं । त्यसैले कपालमा बिना कुनै ड्यामेज स्टाइल परिवर्तन गर्न हेयर एक्सटेन्सन उपयुक्त बन्न सक्छ । यसका लागि न धेरै दुःख गर्नुपर्छ न त धेरै समय नै दिनुपर्छ ।

कसरी गर्ने प्रयोग ?

हेयर एक्सटेन्सन दुई किसिमका हुन्छन् । एउटा टेम्पोररी र अर्को सेमी पर्मानेन्ट । टेम्पोररी एक्सटेन्सन सजिलोसँग आफ्नो इच्छाअनुसार लगाउन, खोल्न सकिन्छ भने सेमी पर्मानेन्ट एक्सटेन्सन कुनै पार्लर वा विज्ञसमक्ष गएर दुई-तीन महिना अवधिका लागि आफ्नो कपालमा फिक्स गर्न सकिन्छ ।

आफैंले दैनिक खोल्ने, लगाउने गर्न क्लिप बेस्ड एक्सटिन्सन प्रयोग गर्न सकिन्छ भने सेमी पर्मानेन्ट हिसाबले दुई तीन महिनाको अन्तरमा खोल्न लगाउन सकिने गरी टेप एक्सटेन्सन, ग्लु एक्सटेन्सन र माइक्रो रिङ एक्सटेन्सन प्रयोग गर्न सकिन्छ ।

दैनिक आफ्नो कपालमा एक्टेन्सन नरुचाउने र आवश्यक नपर्ने अवस्थामा ‘टेम्पोररी एक्टेन्सन’ प्रयोग गर्न सकिन्छ । आफूलाई चाहिएको बेला मात्र लगाउने र नचाहिंदा फुकालेर राख्न सकिने हुँदा जतिबेलै आफूलाई भारी महसुस हुँदैन ।

सुत्दा, नुहाउँदा र अन्य समयमा आफ्नो कपालमा एक्टेन्सनको भार हुँदैन र कपालले राहत पाउँछ । यसले कपालको जरामा पर्ने असर पनि धेरै कम गर्छ र सधैं लगाइराख्नु नपर्ने भएकाले यो बढी टिकाउ पनि हुन्छ ।

नियमित लगाउन र खोल्न झन्झट हुन्छ भन्ने लाग्छ र तपाईंको ‘स्काल्प’ संवेदनशील छैन भने ‘सेमी पर्मानेन्ट एक्टेन्सन’ प्रयोग गर्न सकिन्छ ।

समस्याअनुसारको एक्सटेन्सन

पूरै कपाल झरेकालाई फुल हेड विग

प्रायःजसो क्यान्सरका बिरामीहरुले किमोथेरापी गराउँदा पूर्ण रुपमा कपाल झर्ने गर्छ । यस्तोमा फुल हेड विग उपयुक्त हुन्छ । त्यसैगरी आफनो भएको कपाललाई पनि पूरै ढाक्न चाहनेलाई पनि यो ठीक हुन्छ ।

तालु वा खैरो कपाल छोप्न हेयर टपर

हेयर टपर कपालको माथि बस्ने भएकाले यसले आंशिक रुपमा मात्रै कपाललाई छोप्छ । हेयर टपरलाई ‘हाफ विग’ पनि भनिन्छ । कपाल छ तर माथि निश्चित भागमा पातलो भएको वा कपाल फुलेको अवस्थामा हेयर टपर प्रयोग गर्नु उपयुक्त हुन्छ । यो एकदम हलुका हुने भएकाले दैनिक रुपमा प्रयोग गर्न एकदम सहज पनि छ ।

लामो र बाक्लो बनाउन भोलुमाइजर

आफ्नो कपाल पातलो लाग्छ र बाक्लो बनाउन मन छ भने हेयर भोलुमाइजर प्रयोग गर्न सकिन्छ । कपालको लम्बाइ अनुसार संख्या मात्र थप्न मिल्ने गरी यसको डिजाइन गरिएको हुन्छ ।

कपालको संख्यासँगै आकार पनि बढाउन चाहने हो भने हेयर एक्सटेन्सन प्रयोग गर्न सकिन्छ । यो कपालको लेयरमा बस्छ, जसकारण एक्सटेन्सनको चारैतिर बाँडिन्छ र यो लगाउँदा भारी महसुस हुँदैन ।

नक्कली र सक्कलीले झुक्याउन सक्छ

पछिल्लो समय नेपालमा हेयर एक्टेन्सनको माग बढेसँगै प्रतिस्पर्धा पनि बढ्न थालेको छ । पूर्ण प्राकृतिक हेयर एक्टेन्सनको नाममा प्लास्टिक वा नाइलन फाइबरले बनेको सिन्थेटिक एक्सटेन्सन बेचेर धेरैलाई ठगी गरेको समेत भेटिने गरेको छ ।

नेचुरल हेयरकै एक्सटेन्सन भए पनि कम गुणस्तरको कपालले बनेको हेयर एक्टेन्सन पनि बेचिन्छ । जुन सुरुमा त एकदम राम्रो हुन्छ, तर केही समयपछि बिग्रिएर जान्छ । यसरी बजारमा हेयर एक्टेन्सनको नाममा भइरहेको ठगीबाट बच्न आफैंले ट्रायल गरेर भरपर्दो स्टोरबाट मात्र एक्सटेन्सन खरिद गर्नुपर्छ ।

राम्रो एक्टेन्सन कम्तीमा दुईदेखि तीन वर्ष हुन्छ र आवश्यकता अनुसार कहिलेकाहीं मात्र प्रयोग गर्दा कम्तीमा पाँच वर्षदेखि १० वर्ष वा अझै धेरै हुने गर्छ ।

तर ध्यान दिनुपर्ने कुरा नेचुरल ‘हेयर एक्सटेन्सन’ मानिसकै कपालले बनेको हुनाले यसलाई आफ्नै कपाल जसरी स्याहार गर्नुपर्ने हुन्छ । जसले यसलाई थप लामो समयसँग टिकाउन मद्दत गर्छ ।

कति पर्छ मूल्य ?

नेचुरल हेयर एक्सटेन्सनको गुणस्तर राम्रो हुने भएकाले यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ । मान्छेको प्राकृतिक कपालबाट बनाइने भएकाले यसको मूल्य अलि बढी पर्छ । यसको मूल्य दुई हजारबाट सुरु भएर एक लाख रुपैयाँसम्म पर्न सक्छ ।

(घिमिरे नेपालमा हेयर एक्टेन्सन भित्र्याउने पहिलो कम्पनी हेयर स्टप नेपाल प्रालिकी सहसंस्थापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?