+

संकटा र फ्रेण्ड्सको बराबरीले रेलिगेसन ब्याटल रोचक

२०८० जेठ  २४ गते २१:५४ २०८० जेठ २४ गते २१:५४
संकटा र फ्रेण्ड्सको बराबरीले रेलिगेसन ब्याटल रोचक

२४ जेठ,  काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार भएको खेलमा संकटा क्लब र फ्रेण्ड्स क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

संकटासँग फ्रेण्ड्सले बराबरी खेलेपछि लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनेको छ र रेलिगेसन पर्ने दुई टोलीको टुङ्गो अन्तिम चरणमा मात्र लाग्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले पहिले गोल गरेपनि अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपर्‍यो । खेलको ५३औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा जुनियर ओन्गुना एनकेन्गुएले संकटाका लागि बराबरी गोल फर्काए ।

डबल लिगमा १८२ मध्ये २५ चरणका १७५ खेलहरु सकिएका छन् ।

जसमा फ्रेण्ड्स र एफसी खुमलटारको समान २७ अंक छ र अन्तिम दुई स्थानमा छन् । त्यसभन्दा अघि थ्रीस्टार २९ अंकसहित १३औं र एपीएफ एफसी ३० अंकसहित १२औं स्थानमा छन् । अब यही चार टोलीमध्ये दुई टोली अन्तिम चरणको खेलपछि रेलिगेसनमा पर्नेछन् ।

बराबरीले संकटा भने २५ खेलबाट ३१ अंक जोड्दै रेलिगेसनबाट बचेको छ ।

अब अन्तिम चरणमा अन्तिम स्थानको खुमलटारले च्याम्पियन बनिसकेको चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । दुवै क्लबले यसै सिजन लिगमा डेब्यु गरेका हुन् । जसमा चर्च ब्वाइज च्याम्पियन बन्दा खुमलटार रेलिगेसनबाट बच्नै संघर्षरत छ ।

खुमलटारले ए डिभिजनमै टिक्न चर्च ब्वाइजलाई हराउनैपर्नेछ भने अन्य टोलीको नतिजा पनि कुर्नुपर्नेछ ।

यस्तै अन्तिम चरणमा एपीएफ र फ्रेण्ड्स क्लबबीच खेल हुने भएकाले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण हुनेछ । थ्री स्टारले भने ललितपुर प्रतिद्वन्दी जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

खुमलटार र चर्च ब्वाइज तथा एपीएफ र फ्रेण्ड्सको खेल शुक्रबार हुनेछ र थ्री स्टार जावलाखेलको खेल शनिबार हुनेछ ।

शहीद स्मारक ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय