+
+

भारतीय विदेशमन्त्रीको स्पष्टीकरण : ‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशले बुझिसके

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १७:२७
Photo Credit : Reuters

२५ जेठ, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बंगालादेशमा विवाद नरहेको दाबी गरेका छन् ।

भारतको नवनिर्मित संसदमा राखिएको भित्ते नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भूभागसमेत समेटिएको भन्दै विरोध भइरहेको बेलामा भारतीय विदेशमन्त्री जयशंकरले यस विषयमा नेपाल र बंगलादेशलाई स्पष्ट पारिसकिएको बताएका हुन् ।

‘छिमेकी मुलुकहरूले यो विषय बुझिसकेका भन्ने मलाई लागेको छ । यसमा कुनै ठूलो कुरा छैन’, सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा जयशंकरले भने, ‘मलाई जानकारी भएसम्म उनीहरूले यो विषयलाई बुझिसकेका छन् । पाकिस्तानको विषय भने यसमा फरक छ ।’

उनले यस मामलामा पाकिस्तानले बुझ्ने छ भन्ने आशासमेत नभएको बताए । ‘पाकिस्तानसँग हाम्रो विषय स्पष्ट छ । यो खाली सरकारको मात्रै होइन, पूरै देश र संसदको स्ट्यान्ड हो । यसमा परिवर्तन गर्नेको कोही सम्भावना छैन ।’

बिहीबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री जयशंकरले उक्त अभिव्यक्ति दिएका हुन् ।

भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सालाई लिएर नेपालको संसदमा चर्को विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत दलहरू हालै सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणमा यो विषय नउठाएको भन्दै आलोचना गरिरहेका छन् ।

त्यस्तै बंगलादेशमा पनि यस विषयमा विरोध चर्किएपछि दिल्लीस्थित आफ्नो मिसनलाई भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ ।

बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?