+
+

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १३:३४

२८ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तराई–मधेश क्षेत्रमा पछाडि पारिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको हो ।

प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिंदै आएको छ ।

विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन । मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रति घरपरिवार १२ हजार देखि १५ हजार रुपैयाँ खर्च हुन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरुमा बसोबास गर्ने विपन्न वर्गका घरपरिपारलाई निःशुल्क मिटर वितरण गरे । प्राधिकरणका अनुसार गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्रमशः ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो ।

कार्यकारी निर्देशक घिसिङले विद्युत नै नपुगेका ठाउँहरुको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकहरुलाई विद्युत पुर्‍याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताए ।

विद्युत पुगेका ठाउँको लोडसेडिङ अन्त्यको चरणपार गरी अहिले २४ सै घण्टा लोडसेडिङ भएका ठाउँमा विद्युत पुर्‍याउने चरणको अन्त्यतिर रहेको र अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको उनले बताए ।

‘विद्युत नै नपुगी सधैं लोडसेडिङमा रहेका घरमा विद्युत पुर्‍याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्रमा विद्युतीकरण गर्ने गरी अन्तिम माइलको यात्रामा छौं, योसँगै विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौं’, घिसिङले भने ।

‘निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत चुहावट घट्ने र अनधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुनेछ,’ उनले भने ।

मधेशलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गरे ।
उनका अनुसार मधेश प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ ।

‘खेत खेतमा विद्युत् पुर्‍याएर सिंचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनु पर्छ, यसका लागि स्थानीय तहहरुसँगको सहकार्यमा सिंचाइको विद्युतीकरण अगाडि बढाएका छौं,’ उनले भने ।

तराई/मधेश क्षेत्रमा सिंचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए । एक सय केभीएसम्मका जुनसुकै ग्राहकका लागि र २ सय केभीएसम्म दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिंचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत आपूर्ति दिने व्यवस्था गरिएको छ ।

मधेश प्रदेशका ८ वटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये ग्राहस्थ ग्राहकको संख्या ९ लाख ३४ हजार छ । यसमध्ये घरमा पाँच एम्पियरको सिंगल फेज मिटर राखी मासिक रुपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत निःशुल्क पाउने ग्राहकको संख्या २ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?