+
+

सरकारी कर्मचारी कसरी छरितो, जाँगरिलो र इमानी बन्ने ?

यादव राउत यादव राउत
२०८० जेठ २९ गते १३:४६

‘हाटा’ हाजिर गर्ने, टाप ठोक्ने । सरकारी कामकाजमाथि कटाक्ष गर्ने शब्दावली हो यो । यसलाई भरथेग गर्ने अर्को टुक्का छ, ‘सरकारी काम, कहिले जाला घाम ।’ आम आँखाले सरकारी कर्मचारीलाई कस्तो देख्छ भन्नलाई यति नै काफी छ ।

‘सुस्त, क्रोधी, कामचोर, भ्रष्ट’ जस्ता विकारयुक्त विशेषणहरु पनि सरकारी कर्मचारीमाथि झुण्ड्याइने गरिन्छ । सेवाग्राहीको रुपमा कतिपयले देखे, सुने, भोगेका कुरा पनि होलान् यी । तर सरकारी कर्मचारीसँग पनि आफ्नै समस्या र सीमितता हुन्छन् । आन्तरिक बाध्यता र परिबन्धले थलिएका हुन्छन् । यसैले उनीहरु चाहेर पनि कतिपय काम गर्न सकिरहेका हुँदैनन् । आफ्नै ढंगले काम गर्नका लागि अनुकलता नहुँदा, स्रोत र साधनको अभाव हुँदा, नीति–नियमहरुले अल्झाउँदा त्यो नैरश्यता अरु बढ्न जान्छ ।

ठूलाको चाकडी गर्नुपर्ने, नेतालाई साष्टांग दण्डवत् गर्नुपर्नेजस्ता दूषित थितिहरु पनि यसभित्र विद्यमान छ । काम गर्नेले सास्ती खेप्नुपर्ने र कम नगर्नेले पुरस्कृत हुने कुरुप परिपाटीबाट पनि यो पूर्णतः मुक्त छैन । आफ्नै सहकर्मीको देशविदेश घुमफिर र कार्यालय हेरफेर भइरहेको हुन्छ भने कोही एउटै कार्यलयमा वर्षौं घोटिएर त्यहींबाट अवकाश लिइरहेका पनि हुन सक्छन् ।

यही कारण कर्मयोगी, इमानी र सुबानी कर्मचारीले बेलाबखत विस्मात् मान्नुपर्ने अवस्था आइलाग्छ ।

सरकारी कर्मचारीको मनोदशा

अक्सर उस्तै दिनचर्या । उही ठाउँ, उही कुर्सी, उही मान्छेहरु, उही काम । वर्षौं एकैनासे जीवन गुजारिरहँदा आफैंसँग दिक्क लाग्न सक्छ । यस्तै दिक्दारीले गर्दा उनीहरु बेलाबखत सुस्त, क्रोधी लाग्न सक्छ ।

कति त यस्तो ठाउँ हुन्छ, जहाँ सरकारी कर्मचारीले यन्त्रमानव झैं खटिनुपर्ने हुन्छ । त्यसमाथि गाली समेत खेप्नुपर्ने हुन्छ । जबकि अधिकांश सरकारी कर्मचारी चाहिं घडीको काँटा झैं आफ्नै गति र परिधिमा अविछिन्न काम गरिरहेकै हुन्छन् ।

एकनासको दैनिकी, कामको चाप, सीमित सेवा–सुविधाका साथै काममा मरिमेट्दा पनि कतैबाट उत्प्रेरणा नमिल्दा कर्मचारी हतोत्साही हुन सक्छन् । उनीहरुको उत्साह, जाँगर, ऊर्जा, उमंग सबै शिथिल हुन पुग्छ । र, यसले उनीहरुलाई मानसिक रोगी बनाउने भय रहन्छ ।

कसले बुझ्ने पीडा ?

सरकारी कर्मचारी जुन कामको लागि नियुक्त गरिएको हुन्छ, त्यसमा उनीहरुलाई थप निखार्ने अनुकूलता कम हुन्छ । सम्बन्धित कामको तालिम दिलाउने, सीप विकास गर्नेजस्ता कुरा कमै हुन्छन् । यसले आफ्नो कार्य सम्पादनलाई कठिन बनाउने नै भयो ।

त्यसैगरी उनीहरु कस्तो अवस्थामा छन्, कसरी काम गरिरहेका छन् भन्ने कुरा यहाँ कुनै सोधीखोजी हुँदैन । कतिको स्वास्थ्य स्थिति खराब हुन सक्छ, कतिको पारिवारिक अवस्था दयनीय हुन सक्छ । तर उनीहरु कसरी काम गरिरहेका होलान् भनेर हेरिंदैन ।

थोरै कर्मचारी भएका ठाउँमा बिरामीसमेत भन्न नपाई काममा खटिनुपर्ने बाध्यता हुन्छ । उनीहरुको शारीरिक स्वास्थ्य स्थितिबारे ख्याल राख्ने कुनै संयन्त्र छैन ।

तीन थरी कर्मचारी

प्रवृत्तिका हिसाबले हेर्ने हो भने सरकारी कर्मचारी तीनथरीका देखिन्छन् ।

१. ग्राउन्ड लेभलमा आएका कर्मचारी, जो यसैमा चित्त बुझाउनुपर्छ भन्ने हुन्छन् । आफूले पाएको सेवा सुविधामा उनीहरु चित्त बुझाउँछन् ।

२. अर्कोथरी कर्मचारी, जसलाई जागिरमा भर्ना भएपछि यसरी काम गर्छु भने दृढशक्ति र रुचि हुन्छ । उनीहरु केही गरौं भन्ने चाहन्छन् । तर जब कार्यालयमा हाजिर हुन थाल्छन्, त्यहाँका कतिपय परिपाटी, नियमले बाँधिंदै केही गर्न नसक्ने स्थितिमा पुग्छन् ।

३. तेस्रोथरी, जो आफ्नो क्षमता र खुबीभन्दा माथि पुग्छु भन्ने आकंक्षा राख्छन् । उनीहरु कुनैपनि कामको छिटोछरितो नतिजा खोज्छन् र रातारात प्रगति गर्ने होडमा लाग्छन् । उनीहरु पैसा पनि त्यसरी नै आर्जन गर्ने चेष्टा गर्छन् र अन्ततः अख्तियारले समाएको पनि सुन्ने गरिन्छ ।

काम गर्नेलाई अवसर

आफ्नो काममा रमाउने, दत्तचित्त हुने र कुशलतापूर्वक आफ्नो जिम्मेवारी बोक्ने सरकारी कर्मचारी पनि थुप्रै छन् । उनीहरु पुरातन ढर्रा त्यागेर नयाँ र छरितो तरिकाले काम गरिरहेका हुन्छन् । सेवाग्राहीलाई सहज र सौहाद्र्ध ढंगले व्यवहार गरिरहेका हुन्छन् । तर राम्रो काम गरेको प्रायः कसैले देखिरहेका हुँदैनन् । सायद यो मान्छेको आफ्नो प्रवृत्ति पनि होला । नराम्रो काम गरेको जति होहल्ला हुन्छ, राम्रो कामको चर्चा त्यति हुँदैन ।

खासगरी अहिलेका युवापुस्ता, जो दिलोज्यान दिएर काम गर्न चाहन्छन् उनीहरुलाई सबैको साथ र सहयोग चाहिन्छ । किनभने समग्र सरकारी कर्मचारी संयन्त्र सुधार्ने सूत्रधार उनीहरु नै बन्न सक्छन् ।

कार्यालयमा काम गर्ने वातावरण राम्रो हुँदै गयो भने काम गर्नुको मज्जा नै बेग्लै हुन्छ । काम गर्ने माहोल बनाउने, एकअर्कालाई हौसला दिने, कार्यालय प्रमुखले कर्मचारीको समस्या बुझिदिने गर्दा पनि कर्मचारीलाई ठूलो ऊर्जा मिल्न सक्छ । अझ कार्यालय प्रमुख नै काममा खटिएका छन् भने अन्य कर्मचारीमा पनि ऊर्जा मिल्छ ।

कर्मचारीको मानसिक स्वास्थ्य

कर्मचारी जुन मनोदशाबाट गुज्रिरहेका हुन्छन्, त्यसले नै उनीहरुलाई सुस्त र शिथिल बनाउँदै लगेको हुन्छ । मान्छे भ्रष्ट बन्नुमा पनि यस्तै विकारहरु जिम्मेवार हुन्छन् । त्यसैले सरकारी कर्मचारी पनि मानसिक रुपले स्वस्थ, तन्दुरुस्त हुनु जरुरी छ । जब कोही मानसिक रुपले तन्दुरुस्त हुन्छन्, उनीहरुमा सकारात्मक भाव हुन्छ, काममा ऊर्जा हुन्छ, काम सुस्त हुँदैन, आचरण भ्रष्ट हुँदैन ।

यसका लागि योग, ध्यान, प्राणायामको अभ्यास एकदमै प्रभावकारी विधि हुन सक्छ । आध्यात्मिक चिन्तन र जागरणले पनि मान्छेलाई खराब बाटोमा लाग्नबाट बचाउँछ । योग–ध्यान भनेको शरीरमा सकारात्मक ऊर्जाको सञ्चय गर्ने पद्धति हो । मनोविकारबाट मुक्त भएर शुद्ध हुने माध्यम हो । यसले मान्छेलाई सधैं जाँगरिलो, फूर्तिलो र ऊर्जावान राख्नुका साथै भ्रष्ट हुन पनि दिंदैन । फलतः उनीहरुको कार्यसम्पादन अत्यन्तै चुस्त र पारदर्शी हुन पुग्छ । यस्तो कर्मचारी सबैको लागि अनुकरणीय हुन्छन् ।

सधैं एकनासको दिनचर्या बिताइरहँदा कतिपयलाई दिक्क लागेको हुन सक्छ । सधैं उस्तै अवस्थामा रहिरहनुपर्दा उनीहरु बेचैन भएका हुन सक्छन् । आफूलाई यन्त्र झैं काममा लगाइरहँदा उनीहरुलाई झर्को लागेको हुन सक्छ । तर सरकारी कर्मचारी कस्तो मानसिक स्थितिमा काम गरिरहेका छन् भनेर न त चासो गरिन्छ, न त्यसको कुनै उपचार खोजिन्छ ।

सरकारी कर्मचारीको मानसिक स्वस्थ्यबारे विमर्श गनैपर्ने अवस्था छ । उनीहरुलाई दिक्कलाग्दो दैनिकीबाट छुटाएर कसरी सकारात्मक र उत्साहित बनाउने भन्ने कुरामा यसले ठोस सहयोग गर्न सक्छ । मानसिक स्वास्थ्यका लागि सोही अनुसारको परामर्शका साथै योग, ध्यान र प्राणायाम उपयोगी हुन्छ ।

(राउत इलामस्थित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हुन् ।)

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?