+
+

जुगल हिम शृङ्खलामा पर्ने ५ नयाँ हिमाल आरोहणका लागि खुला

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ २९ गते १९:२७
तस्वीर : देव सुवेदीको फेसबुकबाट

२९ जेठ, काठमाडौं । सरकारले ५ वटा नयाँ हिमचुचुरोलाई पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला भएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् ।

सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल १, ६ हजार ५१८ मिटर अग्लो जुगल २, ६ हजार १८४ मिटर अग्लो जुगल ३, ५ हजार ९३६ मिटर अग्लो जुगल ४ र ५ हजार ९२२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गर्ने निर्णय गरेको जनाएको छ ।

सरकारले खुला गरिएका हिमालको विवरण राजपत्रमा प्रकाशित गरेसँगै यी हिमालमा अब व्यावसायिक आरोहणको बाटो खुलेको छ ।

जुगल हिम शृङ्खलामा पर्ने ग्याल्जेन हिमाल (६ हजार १५१ मिटर) यसअघि २०१९ मै आरोहण भइसकेको चुचुरो हो । यी हिमालहरु काठमाडौंबाट नजिकका चुचुरो मानिन्छन् । तुलनात्मक रुपमा होचा यी हिमालहरु अग्लो हिमाल चढ्नु अगाडिको आरोहण अभ्यासका लागि उपयुक्त मानिन्छन् ।

जुगल गाउँपालिका काठमाडौं उपत्यकाबाट ९० किलोमिटर उत्तरपूर्वमा पर्छ । जुगल हिम शृङ्खलामा ६ हजार मिटर भन्दा अग्ला ८ वटा चुचुरो रहेको बताइएको छ । पछिल्लो समय स्थानीय सरकारले समेत जुगललाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न प्रयास गरिरहेको छ ।

४१९ पुगे आरोहण खुला भएका हिम चुचुरा

नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको संख्या अब ४१९ पुगेको छ । सर्वोच्च शिखर सगरमाथासहित ४१४ वटा हिमाल यसअघि नै आरोहणको प्रयोजनका लागि खुला गरिएको छ । जसमध्ये २७ वटा हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गरिरहेको छ ।

नेपालमा विश्वको सर्वोच्च टाकुरासहित १३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्यांक छ । ८ हजार मिटर भन्दा माथिका १४ हिमालमध्ये ८ वटा नेपालमा छन् । सरकारले सम्भाव्यताका दृष्टिकोणबाट हिमालहरुको आरोहण खुला गर्दै जाने बताएको छ ।

एक सिजनमा साढे दुई दर्जन हिमालमा मात्र आरोहण

सरकारले ४१९ हिमालहरु आरोहणमा खुला गरे पनि आरोहण भने सीमित हिमालमा मात्र केन्द्रित छ । सगरमाथासहितका हिमालमा अधिक भीडभाड छ भने प्रवर्द्धन कम भएका हिमालमा आरोहीहरु आकर्षित हुनसकेका छैनन् ।

तथ्यांक विभागका अनुसार सन् २०२३ को वसन्त ऋतुमा कुल २८ वटा हिमालका लागि १३६ वटा आरोहण दलले आरोहण अनुमति लिएका थिए । जसमा १ हजा १७६ आरोहीले अनुमति लिएका हुन् । सबैभन्दा धेरै सगरमाथामा ४७ आरोहण दलका ४७८ जनाले अनुमति लिएका थिए ।

आरोहणबाट सरकारले यस सिजनमा ७६ करोड ५७ लाख ५८ हजार ३ रुपैयाँ रोयल्टी संकलन गरेको छ । सगरमाथापछि ल्होत्से हिमालमा १७ दलका १५६ जनाले अनुमति लिएका थिए ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?