+
+

रक्तदान गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

डा. विपिन नेपाल डा. विपिन नेपाल
२०८० जेठ ३१ गते १८:००
फाइल तस्वीर

भनिन्छ नि ‘रक्तदान जीवनदान’ । कति व्यक्ति रक्तदान गर्न एकदमै उत्साहित हुन्छन् । उनीहरु रक्तदान कार्यक्रममा पटकपटक सहभागिता जनाइरहेका हुन्छन् । तर कतिपय रक्तदान गर्नबाट डराउँछन् । रगत दियो भने कुनै रोगले च्याप्छ कि, बिरामी भइन्छ कि भनेर डराउँछन् ।

के रक्तदान गर्नाले बिरामी भइहाल्छ ?

रक्तदान गरेर बिरामी होइन, झन् शरीर फूर्तिलो हुन्छ । त्यसो भए रक्तदान गर्न के गर्नुपर्छ त ?

रक्तदान गर्नुअघि केही गर्नुपर्दैन । यदि रक्तदान गर्न इच्छुक हुनुहुन्छ भने नजिकैको ब्लड बैंक, अस्पताल वा रेडक्रसमा गएर दिन सक्नुहुन्छ । यसको लागि सामान्यतया रक्तदान गर्ने व्यक्ति स्वस्थ, निरोगी, उमेरअनुसारको तौल हुनुपर्छ । त्यो भए कस्ता व्यक्तिले गर्ने त रक्तदान ?

यसको लागि मानसिक सन्तुलन ठीक भएका, शारीरिक रुपमा स्वस्थ, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका महिला वा पुरुषले दुवैले दिन सकिन्छ । त्यस्तै कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । तसर्थ, रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ । महिनावारी भएको चार दिनपछि गर्न मिल्छ ।

कस्ता व्यक्तिले रक्तदान नगर्ने ?

१८ वर्षभन्दा कम र ६० वर्षभन्दा माथिका व्यक्तिले रक्तदान गर्नुहुँदैन । त्यसैगरी महिलाहरुले महिनावारी हुँदा र गर्भवती अवस्थामा रक्तदान गर्नु हुँदैन । न्यून तथा उच्च रक्तचाप हुँदा, बारम्बार रिंगटा लाग्ने, चक्कर हुने वा बेहोस हुने समस्या भएमा रक्तदान गर्न नहुने विश्व स्वास्थ्य संगठनले सुझाएको छ ।

मलेरिया, मधुमेह, क्षयरोग, जन्डिस, यौनजन्य रोग, कालाज्वर, डेंगु, हेपाटाइटिस बीजस्ता सरुवा रोगको संक्रमण भएमा पनि रक्तदान गर्नु हुँदैन ।

के के जाँच गर्नुपर्छ ?

रक्तदान गर्नुअघि खासै केही जाँच गर्नुपर्दैन । सामान्य प्रश्न सोध्ने गरिन्छ । जस्तै, केही औषधिको सेवन छ कि छैन ? तत्काल कुनै शल्यक्रिया गरेको छ कि छैन ? रक्तचाप जाँच गर्ने गरिन्छ । बरु दान गरिसकेपछि रगतको जाँच गरिन्छ । यो ब्लड बैंक, रेडक्रस र अस्पतालमा दान गरेको रगतमा हेपाटाइटिस बी, सी, एचआईभी–एड्स वा रगतबाट सर्ने रोगका जीवाणु छ कि छैन भनी जाँच गरिन्छ । किनकि रगतमार्फत रोग नसरोस् भनेर जाँच गरिन्छ ।

रक्तदान गर्नुको फाइदा

एकपटकको रक्तदानबाट लगभग ६५० क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मद्दत गर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् । रक्तदान गर्दा शरीरमा रगत बनाउने बोनम्यारो सक्रिय गराउने र शरीरमा ताजगी महसुस गराउँछ । यसको बेफाइदा केही हुँदैन । रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । मुटुको रोगबाट टाढा राख्न मद्दत गर्छ ।

रगतको प्रकार रगतको वर्गीकरण ए, बी, ओ तथा एबी र पोजिटिभ तथा नेगेटिभ भनेर गरिएको हुन्छ ।

(रक्तसञ्चार विशेषज्ञ डा. नेपाल  ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?