+
+

प्रधानमन्त्रीले भाषण गर्दा झ्याप्प झ्याप्प गयो बिजुली

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १९:३४

३१ जेठ,  दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहका लागि दाङको बेलझुण्डी आएका थिए ।

दीक्षान्त समारोहको कार्यक्रमअघि उनी आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रमको सुरुमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुवास पुनले जिल्लामा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरे । त्यसपछि सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले जिल्लाको विकास निर्माणका अवस्थाबारे बोलिन् ।

मन्त्री शर्मापछि प्रधानमन्त्री प्रचण्डले सम्बोधन सुरु गरे । उनले सशस्त्र युद्धकालमा दाङसँग जोडिएका घटनाहरु स्मरण गरे । उनले सम्बोधन गरेको १५ मिनेटपछि बिजुली जाने–आउने गर्न थाल्यो । ‘प्रधानमन्त्रीले बोल्दा पटक–पटक विद्युत् जान थाल्यो’ कार्यक्रममा उपस्थित एक नेता भन्छन्, ‘विद्युत् आउने–जाने क्रम भइरह्यो । उहाँले एकछिन रोकि‌ंदै बोल्दै गर्नुभयो ।’

ती नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले बोल्दा दुईदेखि पाँच मिनेटको अन्तरालमा विद्युत् झ्याप्प–झ्याप्प गइरह्यो । ‘दुई मिनेट पनि नबोल्दै फेरि लाइन जान्थ्यो, फेरि आउँथ्यो’, उनले भने ।

विद्युत् प्राधिकरण घोराही शाखाका प्रमुख मिथिलेश कुमार गोहीवारले प्रधानमन्त्रीले बोल्दा १०/११ पटकसम्म बिजुली काटिएको बताए । ‘प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएको साँचो हो’ उनले भने, ‘तर त्यही बेला विद्युत् जानु संयोग मात्र हुनगयो ।’

प्रधानमन्त्री बोल्दै गर्दा धेरै पटक बिजुली जाने–आउने क्रम चलिरहेपछि हलभित्र होहल्ला बढ्यो । प्रधानमन्त्रीको कार्यक्रममा पनि फितलो व्यवस्थापन भएको भन्दै कतिपयले कानेखुसी गरे ।

विद्युत् अनियमितताका बीच प्रधानमन्त्री प्रचण्डले करिब १ घण्टा मन्तव्य राखे । मन्तव्यमा उनले समाजवादी मोर्चा बनाउने, नेकपा ब्युँताउने लगायतका विषय राखे ।

किन काटियो बिजुली ?

प्रधानमन्त्री बोल्दै गर्दा पटक पटक बिजुली अवरुद्ध हुनुमा कार्यक्रम आयोजकको व्यवस्थापन मात्र कमजोर होइन । दाङमा यस्ता घटना नयाँ होइन । पछिल्लो समय पटक–पटक बिजुली जाने समस्याले जिल्लावासी हैरान छन् ।

विद्युत् प्राधिकरणका शाखा प्रमुख गोहीवारले त्यस क्षेत्रमा बिहानदेखि हावाहुरी चलेकाले विद्युत् अनियमित भएको बताए । ‘अहिले हावाहुरी चल्ने समय हो’ उनले भने, ‘हावा चल्दा विद्युतको तार एकअर्कासँग त कहिले रुखका हाँगासँग छुन पुग्छ । त्यसो हुँदा विद्युत् फल्ट हुन जान्छ । आज प्रधानमन्त्री बोल्ने क्रममा भएको त्यही हो ।’ उनले हावाहुरी चल्दा बेलाबखत यस्ता समस्या आउने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?